२००७ सालपछि नै पश्चिम तराईमा किसान र जमिनदारका बिचमा एउटा झगडा भइरहेको थियो। त्यो मूलतः जमिन र शोषणको विषय थियो। किसानमा आएको राजनीतिक जागरणले त्यहाँ जमिनदारविरुद्ध जनमत तयार हुँदै थियो।
वि.सं. २००८ साल वैशाखमा बर्दियाका कमैया (जमिनदारहरूका घरमा थोरै ज्यालामा सम्पूर्ण काम गर्ने श्रमिक)हरूले विद्रोह गरे। त्यहाँको अवस्था साम्य पार्न क्याबिनेटले खाद्यमन्त्री दाङका भरतमणि शर्मालाई जिम्मा दियो तर भरतमणि शर्माले स्थिति साम्य पार्न सकेनन्।
२००८ साल वैशाख १५ गते बर्दियाको राजापुरमा विद्रोह भड्कियो र प्रहरीको आक्रमणबाट ६ जना कमैयाको मृत्यु भयो भने १८ जना घाइते भए। त्यस घटनामा भारतीय प्रहरीसमेत आई नेपाली जमिनदारहरूलाई धरपकड गरेको इतिहास छ। यस घटनाले तत्कालीन गृहमन्त्री बि.पी.कोइरालालाई निकै आहत बनायो। त्यही समयमै बिपीले २ वटा निर्णय लिए- भरतमणिलाई मन्त्रीबाट हटाउने र दाङलाई बाँके बर्दियाबाट अलग गर्ने।
बिपी दाङमा आफ्नो विशेष मान्छे पठाउन चाहन्थे, किनभने बर्दियामा भएको गोलीकाण्डको प्रतिकारात्मक विद्रोह दाङमा हुनसक्छ भन्ने बिपी कोइरालालाई लागेको थियो। त्यसैगरी बिपीलाई अर्को के पनि डर पनि थियो भने उनले आफ्नो क्याबिनेटबाट दाङका भरतमणिलाई निष्कासन गर्ने तयारी गरेका थिए।
उनलाई दाङका कांग्रेसहरुलाई भरतमणिले भड्काएर आफूविरुद्ध लैजान्छन् कि भन्ने डर पनि थियो। त्यसैले तीन महिनासम्म दाङलाई अलग जिल्ला बनाउने भरतमणिको प्रस्ताव नमानेका बिपीले बर्दिया काण्ड लगत्तै २००८ साल वैशाख २६ गते क्याबिनेटबाट दाङलाई छुट्टै जिल्ला घोषणाको निर्णय गराएर आफ्नो विश्वासपात्र अनिरुद्रप्रसाद सिंहलाई दाङमा बडा हाकिम गराएर पठाए। बिपीले सम्भावित दुइटा विद्रोह रोक्न निर्देशन दिएर आफूलाई दाङ पठाएको अनिरुद्रप्रसाद सिंहले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
२००८ साल कार्तिकमा बिपी गृहमन्त्रीबाट बाहिरिए। मातृकाको नयाँ सरकार बन्यो। पार्टीभित्र असन्तुष्टि चुलिँदै जाँदा २००९ जेठ १३मा जनकपुरमा पाँचौं महाधिवेशन सम्पन्न भयो। यो अधिवेशनबाट बिपी सभापति त चुनिए तर भद्रकाली मिश्र समूह र बालचन्द्र शर्मा, भरतमणि समूह गरी २ वटा समूहले पार्टी अधिवेशन बहिष्कार गरी अलग पार्टी बनाए।
दूरदर्शी बिपी बालचन्द्र शर्मा भरतमणिको विद्रोहबाट पार्टीलाई कम क्षति होस् भन्ने चाहन्थे। त्यसैले छ महिना भित्रै भरतमणिलाई काँग्रेसमा फिर्ता गराउन सफल भए।
बिपी दाङको किसान समस्याबाट थोर बहुत त परिचित नै थिए। उनले २००८ सालमा २ वटा अध्ययन टोली पठाएर दाङको भूमि समस्याबारे जानकारी लिएका थिए। दाङको समस्या अचम्मको थियो त्यसैले उनले दाङको समस्यालाई अझ नजिक बुझ्न चाहन्थे। बिपीले २००९ साल चैतमा दाङमा १ महिने शिविर सञ्चालन गरेका थिए। त्यसको समापनमा बिपी स्वयम दाङ नै आए।
विक्रम संवत् २००९ साल चैत ५ गतेदेखि दाङको भरतपुरमा प्रशिक्षण शिविर सुरु भयो। एक महिनासम्म चलेको प्रशिक्षण कार्यक्रम समापन गर्न बिपी २०१० वैसाख २ गते दाङको लागि हिँडे। उनी ३ वैशाखको रात जरवामै बसे। दोस्रो दिन ४ वैशाखमा देउखुरी परशुनारायणन चौधरीकाे घरमा बसे र दिउँसो उनले त्यहाँ किसानहरूको एउटा सभालाई सम्बोधन गरे। सबैजसो थारू समुदायबाटै थिए। उनीहरू ज्यादै सोझा गाउँले थिए र भूमिपतिहरूले धेरै नै शोषण गरेका थिए। त्यहाँ एकजना थारू पुरुषले बिपीलाई उनले आफ्नो ऋण तिर्नका लागि छोरी, बहिनी र साली बेच्नु परेको कुरा सुनाएको बिपीले आफ्नो जेल डायरीमा उल्लेख गरेका छन्।
बिपी बैशाख ५ गते दाङ प्रशिक्षण शिविरमा सहभागी भए। उनलाई चारजना थारू भरियाले बोकेर तामदानमा ल्याइएको थियो। पछाडि भागमा पिलो उठेर घोडामा समेत चड्न नसकेका बिपीलाई पिलो भन्दा तामदान बोकिरहेका थारु किसानले सुनाएका व्यथाले पिरोलिरहेको थियो। बिपीलाई स्वागत गर्न कुइरेपानीमा किशुनजी, गणेशमानजी, तेजबहादुरलगायत रातो सर्ट लगाएका करिब सय स्वंयसेवक तथा हजारौँको सङ्ख्या गाउँलेहरू पुगेका थिए। विभिन्न ठाउँमा प्रवेशद्वार खडा गरिएका थिए। बाटो–बाटोमा अर्धनग्न थारूहरूले सर्वत वितरण गरिरहेका थिए। यी दृष्य र किसानका मार्मिक पीडाले बिपीले भित्र-भित्रै परिकल्पना गरिरहेको नयाँ नेपालको खाकालाई स्पष्ट आकार दिने काम गर्यो।
वैशाख ७ गते घोराहीमा निकै लामो जुलुस र सभा भयो। बिपीले त्यस विशाल जनसभालाई सम्बोधन गरे। तीन दिनसम्म दाङका किसानको समस्यालाई नजिकबाट नियालेर बिपीले घोराहीको त्यही आमसभामा एउटा घोषणा गरे- ‘नेपाली कांग्रेसको अब अगाडिको कदम भनेको जमिनको स्वामित्वको आधारमा जमिनदारहरूको शोषणको अन्त्य हुनेछ…।’
र, उनले जिल्लाका नेताहरुतर्फ फर्केर निर्देशन दिए, अब तपाईंहरूका लागि तात्कालीन कदम भनेको पहिलो– बेगारी प्रथा समाप्त गर्ने र दोस्रो जिरायत जमिन (भूमिपतिका लागि अरूले नै कमाइदिनुपर्ने प्रथा) अन्त्य गर्ने हो।’
वैशाख ८ मा दाङ शिविर सकियो। त्यस कार्यक्रममा पनि बिपीले नै सहभागीलाई सम्बोधन गरे। शिविरको समापनका अवसरमा बिपीले प्रजातान्त्रिक समाजवाद र आर्थिक क्रान्तिबारे लामो व्याख्या गरे। बिपीको दाङको त्यो भाषण तेजबहादुर प्रसाईंले हुवहु टिपेका थिए। जो पछि नेपाल पुकारमा छापिएको थियो। बिपीले दाङको भाषणमा बोलेका अधिकांस कुराहरू नै नेपाली काँग्रेसले २०१२ सालको छैठौं महाधिवेशनमा पारित गरेको प्रजातान्त्रिक समाजवादको नीतिभित्र भेटिन्छन।
त्यसदिन बिपीले भरतपुर स्कुलको पनि शिलान्यास पनि गरेका थिए। तर, भरतपुर स्कुलको शिलालेखमा भने उनले वैशाख ५ गते स्कुल भवन शिलन्यास गरेको उल्लेख छ।
घोराहीको कार्यक्रम सकेर वैशाख ९ गते बिपी १२ माइलको बाटो हिँडेर टरिगाउँ गए। बाटैभरि प्रवेशद्वार, ध्वजा–पताका र मालाहरूसहित नेपाली काँग्रेससँग सम्बद्ध किसानहरू स्वागतमा बसेका थिए। हापुर खोलादेखि एउटा विशाल जनसमूह बिपीसँगै हिँडिरह्यो।
२०१० वैशाख १० गते टरिगाउँ (पश्चिम दाङ)मा विशाल जनसभा अयोजना गरिएको थियो। त्यो आमसभा बिथोल्ने विपक्षीबाट चेतावनी आयो तर भर्खरै शिविर सम्पन्न भएकोले कांग्रेसका कार्यकर्ताहरूमा उत्साह थियो। त्यसबेलाको अवस्था स्मरण गर्दै तिलक बहादुर डाँगीले लेखेका छन्:
कार्यकर्तामा अपार उत्साह थियो। बिपीको सुरक्षा गर्न आफूहरू समक्ष रहेको कार्यकर्ताहरूमा आँट थियो। किसानहरू त्यत्तिकै उत्साहित थिए। ‘ससुर नैकर जे आई उही सिध्याडेवी…’ (जो आउँछ उसलाई सिध्याइदिन्छौँ) उनका सुरक्षामा खटिएका थारु युवाहरूले भनेका थिए।
टरिगाउँमा दश हजारभन्दा बढीको उपस्थिति थियो। त्यहाँ बिपीविरुद्ध प्रदर्शन पनि भएको थियो। मञ्चमा कार्यक्रम सुरु हुनासाथ एउटा जत्था हात–हातमा लाठी लिई आइरहेको देखेपछि सुरक्षार्थ तैनाथ स्वंयसेवकहरू त्यो भीडमा जाइलागे र तितरवितर पारे। र, आमसभा यथावत चल्यो।
त्यो प्रदर्शनलाई बिपीले यसरी सम्झेका छन्:
मातृका समूहले मेराविरुद्ध एक अर्थहीन प्रदर्शन गर्यो। हाम्रो भीड रूष्ट भयो। प्रत्याक्रमणको प्रयास गर्यो। केहीलाई कुटपिट पनि गर्यो। केही भने भागे। सभापछि करिब चार माइलको बाटो म आफ्नो बासस्थानमा फर्किएँ। मैले खबर पाएँ– किसान समूह गाउँ–गाउँ घुमिरहेका छन्। र, एक ठाउँमा उनीहरूले तानाशाही सामन्तले अवैधरूपमा जम्मा गरेको खाद्यान्न खोसेर कुतवालाहरूलाई बाँडे। हामीले यसमा संयम नअपनाएको भए जिल्लाभरि आगो बल्ने थियो र किसान आन्दोलन सुरु हुने थियो। अरू जिल्लाहरू तयार हुनुभन्दा अगाडि नै म भने यसका लागि तयार थिएँ। हालको भ्रमण मेरा लागि ठुलो साक्षी बन्न पुग्यो। सत्य के थियो भने जनता कृषि क्षेत्रमा न्याय चाहन्थे।
११ वैशाखमा देउखुरीको धर्मशालामा विश्राम गरेर बिपी अर्को दिन पटना गए। बिपी आउँदा पनि दाङ देउखुरीका किसानहरूले उत्साहपूर्ण स्वागत गरे र जाँदा पनि उत्तिकै उत्साहपूर्ण बिदाइ गरे।
बिपी दाङ आउँदा कुन सोचाइ लिएर आएका थिए त्यो स्पष्ट नदेखिए पनि फर्किँदा भने दङाली जनताले उत्साहका साथ प्रकट गरेको परिवर्तनको आकांक्षाबाट बिपीभित्र अब काँग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा लैजाने दृढताले जन्म लिसकेको थियो।