नोना कोइरालाको देहान्त हुँदा गिरिजाप्रसाद कोइरालाले भनेका थिए 'कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने?'
यसबाट डा.शेखर कोइरालाकी आमा नोना कोइरालाको परिवार र पार्टीमा कति महत्व थियो भन्ने झल्किन्थ्यो। राजनीतिको एउटा विरासतलाई थामिरहेको नेपाली काँग्रेसभित्र अहिले उनै डा. कोइराला त्यसको एउटा पानालाई जोगाइराख्न राजनीतिक संघर्षमा छन्।
सत्ता साझेदार दल नेपाली काँग्रेस सरकारमा सहभागी भएसँगै फेरि एकपटक आन्तरिक भागवण्डाको समस्यामा उल्झिन थालेको छ। संघीय सरकार र प्रदेश सरकारमा गठबन्धनबाट पाएको भागमा पार्टीभित्रको संस्थापन पक्ष र इतर पक्ष हिस्सेदारीको कचिङ्गलले काँग्रेस गिजोलिएको छ। यो किचलो कसैले छेकेर छेकिँदैन। बरु छेक्ने प्रयास गर्दा त्यसले अर्को विस्फाेटक रुप लिने निश्चित छ।
कतिपय काँग्रेसका उपल्लो तहका पदाधिकारीहरू अनौपचारिक छलफल र भेटमा अहिलेको सत्ताको भागवण्डाले गिजोलिएको विषय संगठनमा आफ्नो अस्तित्व र उपस्थितिको उपज भएको समेत भनिरहेका छन्। अनि कतिपय उस्तै स्तरका पदाधिकारीहरू भविष्यमा हुने भनिएको १५औँ महाधिवेशनसँग जोडेरसमेत विश्लेषण गरिरहेका छन्। तर काँग्रेसमा अहिले नै त्यसरी अड्कलबाजी गर्नु भनेको अलि हतारो पनि हुनसक्छ, धार पनि जबर्जस्त छ।
कोइराला परिवारको वर्चश्वको प्रभाव नेपाली काँग्रेसमा बलियो छ। काँग्रेसमा कोइराला पारिवारिक पृष्ठभूमि निकै महत्वपूर्ण रहन्छ। पार्टीभित्रको यो पारिवारिक विरासतको आफ्नै इतिहास र भूमिका छ। जसलाई मेटाउन नेपाली काँग्रेसले अझै कैयौँ जुनी बाँच्नुपर्छ। यतिबेला पार्टी-सत्ताबाट कोइराला परिवार अलि पर नै छ। डा. शेखर कोइरालाले कोशी प्रदेशमा गरेको सत्ता अभ्यास अब्बल नै मान्नुपर्छ। भलै गठबन्धन फेरबदलको असर त त्यहाँ पनि पर्यो। तर त्यसलाई एक प्रकारले पार्टीभित्रैको शक्ति अभ्यासको एउटा विद्रोहका रुपमा पनि लिनुपर्छ।
अब फेरि कोइराला परिवार पार्टी सत्तामा फर्किने प्रयासमा छ। यद्यपि नेपाली काँग्रेसभित्र नेतृत्वको यो नयाँ र पहिलो प्रयास भने होइन। त्यसलाई पार्टीभित्र पारिवारिक विरासत जोगाउने प्रयास वा नेतृत्वको स्वयंसक्षमताका रुपमा लिन सकिन्छ।
यद्यपि अबको कोइराला परिवार नोना-विपी कोइराारला वा विपी-जि.पी.-सुशील लिगेसीमा फर्किने हो यसै भन्न सकिने अवस्था बनिसकेको छैन। तथापि सभापति निर्वाचित नहुँदासम्म केही हदको त्यो अवस्थाबाट स्व.सुशील कोइरालाले पनि गुज्रिनु परेको थियो।
विराटनगरको कोइराला परिवारको लिगेसी विपी-जि.पी. हुँदै सुशील कोइरालासम्मको एउटा सूत्रमा चलिआएको थियो। त्यो परिवेश विस्तारै बदलिँदो रफ्तारमा छ।
विराटनगरस्थित कोइराला निवास, चाबहिलको कोइराला निवास र महाराजगन्जको कोइराला निवासको फरक लगाव छ काँग्रेसभित्र। तर यतिबेला विराटनगरको कोइराला निवास नोना-विपी हुँदै बालुवाटार-टोखामा डा.शेखरमा सरेको छ। जो सानेपामा बर्चश्व फैलाउँदै छ। अनि त्यही विराटनगरको लिगेसी चाबहिल हुँदै महाराजगन्ज-टोखा र मण्डिखाटारमा पनि विभक्त छ। त्यही अवस्थाका कारण पनि गएको महाधिवेशनमा ३ कोइराला तीनतिर धकेलिएका थिए।
गिरिजाप्रसाद कोइरालाकी छोरी भए पनि सुजाता पार्टी संगठनमा उति बलियो भने कहिल्यै भइनन् वा आफू हुन चाहिनन्। अथवा यो पनि हुनसक्छ किन उनलाई त्यो रुपमा अरुले रुचाएनन्। त्यसकै नतिजा थियो पछिल्लो पार्टी संगठनको चुनावमा उनकाे हार पनि।
नोना कोइरालाको भूमिकालाई लिएर विपी कोइरालाले आफ्ना लिखित दस्तावेजमा थुप्रै पटक वर्णन गरिसकेका छन्- डा.शेखर आमाको त्यो लगानीलाई परिवारवादका रुपमा भने अघि नबढाइने बताउँछन्। यो पनि सत्य हो कि राजनीतिमा कोही कसैको पारिवारिक लिगेसी वा परिवारवादको अंश भए पनि उसको आफ्नै विशिष्ट गुण र आफ्नै क्षमता पनि हुन्छ।
लिगेसीकै रुपमा हेर्ने हो भने विराटनगर मजदुर आन्दोलनका घाइतेलाई स्व. नोना कोइरालाले गरेको सेवाको फल डा.शेखर कोइरालाले चाख्ने मौका भने अझै जुरिसकेको छैन। वि.सं.२०१५ सालमा विपी कोइरालाले चुनाव लडाउन खोज्दा सांसद र मन्त्री पदभन्दा पार्टी संगठनमा रहने निर्णय लिएकी नोना उतिबेलै दूरदृष्टि राख्ने महिला थिइन् भन्ने दर्शाउँछ। उनले कोइराला परिवारमा राजनीतिक संस्कार बसाल्न ठूलै योगदान दिइन्।
त्यही संस्कारलाई अपनाउँदै गर्दै डा. शेखर राजनीतिको पछिल्लो श्रृङ्खलासम्म आइपुगेका हुन्। डा. शेखरको अघिल्लो राजनीतिक श्रृङ्खलामा कोइराला परिवारको मात्रै नभएर काँग्रेसको दीयो बन्ने अवसर छ। त्यसका लागि चुनौती पन्छ्याउन सक्छन् कि सक्दैनन भन्ने चासो काँग्रेसजनमा छ। र, पार्टी बनाउने सन्दर्भमा यसलाई चासोमात्रै नभएर चिन्ताका रुपमा पनि लिन सकिन्छ।
कोइराला परिवारलाई पार्टी सत्ता फर्काउन असहज त देखिँदैन तर चुनौतीमा चट्टान स्वरुप सभापति देउवाको संस्थापन खेमा उभिएको छ। सभापति शेरबहादुर देउवाको विरासत संस्थापनबाट जोगाउने तहको विश्वासिलो अनुहार खुलस्त छैन। खुल्न चाहेका छैनन्, खुलाउन चाहेका छैनन्।
डा. शेखर कोइराला अघिल्लो पटकको प्राप्त मतलाई जोगाएर अझ अघि बढ्ने प्रयासमा छन्। तर त्यतिले मात्रै पुग्ने छैन। मूलरुपमा गगन थापा समूहलाई कसरी साझेदारी गरेर सँगै लैजाने भन्ने प्रश्न पेचिलो बन्दैछ। ठिक अर्कोतर्फ संस्थापन पक्षले कसकाे नेतृत्वमा महाधिवेशनमा जाने निर्णय लिन्छ, त्यसमाथि पनि भर पर्नेछ। उसो त सम्भावना डा. शेखरलाई साथ दिएर सबै समूह मिलाउने अवस्था पनि नआउला भन्न सकिन्न। अहिले नै यो विषय पत्रकारितालाई हतारको साहित्य भनेझैँ लाग्न सक्छ।
अथवा डा.शंसाक कोइरालाका नाममा नयाँ समीकरणसमेत बन्ने गुञ्जायस छ। तर पनि लगातार कोइराला परिवारसँग टसल गरेर संस्थापन बनेका देउवालाई साथ दिएकाहरू नै सहजै रुपमा फेरि कोइरालालाई नेतृत्वमा नस्विकार्न पनि सक्छन्। यो सम्भावना उस्तै मजबुत देखिन्छ। त्यसका खातिर काँग्रेसको नेतृत्वमा आकाङ्क्षी पात्रहरु पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतकाको भूमिका फेरि पनि हेर्नुपर्ने हुन्छ। यिनिहरूका अलावा अन्य पात्रहरूले पनि देउवा लिगेसीको नेतृत्व दावी गर्ने सम्भावना रहनसक्ला। जस्तो कि एनपि साउद, डा.प्रकाश शरण महत, आरजु राणा देउवा, रमेश लेखकसहितको फरक-फरक समूह पनि अघि बढ्नसक्छ।
आफैँभित्रको खेमाको नेतृत्वका पात्रको सर्वस्विकार्यता देउवा पक्षीयहरू स्वयंका लागि पनि फलामको च्यूरासहर हुने पक्का छ। उता उपसभापति धनाराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, सहमहामन्त्री बद्री पाण्डे, प्रदिप पौडेललगायतका पार्टीभित्रका चर्चित अनुहारहरूसमेत पदाधिकारीका आकाङ्क्षी रहने नै छन्। उनीहरू पनि आफ्नो राजनीतिक यात्रा सुरक्षित गर्ने प्रयासमा समीकरण फेरबदलका खलनायक नहोलान् भन्न सकिन्न।
जसरी १३औँ महाधिवेशनमा कोइराला क्याम्पमा टुटफुट आएको थियो, त्यही तहमा संस्थापन पक्ष (देउवा) खेमामा पनि पहिरो नजाला भन्न सकिन्न। अधिकांश तल्लो तहदेखि मथिल्लो तहका नेता तथा कार्यकर्ताहरू आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीतिमा रहन्छन्। त्यसका खातिर गुट परिवर्तन र नयाँ समूह निर्माणको अभ्यास हुन्छ।
कृष्णप्रसाद सिटौला, प्रकाशनमन सिंह, गगन थापा र विमलेन्द्र नीधिका पछिल्ला निर्णय त्यस्तै प्रयास थिए। जो यसअघि पनि पार्टी संगठनमा अस्तित्व र नेतृत्वका लागि भएका नयाँ समीकरणका प्रयास थिए। काँग्रेसको भविष्यमा हुने महाधिवेशनमा किशोरसिंह राठौर, महेन्द्र यादव, बद्री पाण्डे, डिना उपाध्याय, मोहनसिंह बस्नेत, शंकर भण्डारी तहका उम्दा पात्रहरू पदाधिकारीमा सुरक्षित अवतरण खोज्नेछन्।
हुन त यो एउटा जीवन्त लोकतन्त्रको आन्तरिक अभ्यास पनि हो। लोकप्रियताका कारण र युवा माझ गगन थापा फेरि पनि रोजाईमा रहिनैरहनेछन्। तर के उनलाई पार्टी सभापति चुनिन सहज रहला त? यो प्रश्न महाधिवेशनको अन्तिम समयसम्म रहिरहने देखिन्छ।
जति काँग्रेसमा 'कोइराला र देउवा'मा कटुता छ भन्ने भाष्य बनेको छ, त्यो तहमा होइन भन्नेहरू पनि काँग्रेसमा छन्। सभापति भएका देउवाको राजनीतिक यात्रामा कोइराला परिवारको स्नेह थियो। त्यो वनारस जाँदा, बस्दा देखिकै हो। विद्यार्थी राजनीतिदेखि सरकारमा देउवा पुग्नुमा कोइराला परिवारको साथ नै थियो। तर पार्टीको कमिटी तथा आफ्ना समर्थकलाई सुरक्षित अघि बढाउनका लागि समीकरणमा देउवाले कहीँ न कहीँ आफ्नो विद्रोहीपन देखाएकै हुन्।
खासगरी स्व. कृष्णप्रसाद भट्टराई र स्व. गणेशमान सिंहको देउवामाथि अलि बढी विश्वास थियो। त्यसकारण पनि देउवाले पार्टीमा स्थापित हुन तत्कालीन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग अधिकार र हकका लागि संघर्ष सुरु गरेका थिए। यद्यपि देउवाले कोइराला परिवारविरुद्ध अपमानजनक व्यवहार र शब्द प्रयोग गरेनन् र गर्दैनन् पनि। जति अरु नेताहरूले बेलाबखत पार्टीभित्र कोइराला परिवारको परिवारवादको आलोचना गर्ने गर्छन्। खासगरी महाधिवेशन केन्द्रित छलफलमा यो विषय उठिरहन्छ। अनि फेरि ४-५ वर्ष त्यत्तिकै सेलाउँछ।
के थाहा सभापति देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीको साँचो त्यही कोइराला परिवारका मध्ये एक कसैलाई सुम्पिएर सुखद बिदाई पो चाहिरहन्छन् कि! यो हाइपोथेसिस मात्रै होइन, धेरै त्यस्ता आधारहरू छन् गुण तिर्नलाई देउवा इमान्दार रहन्छन्।
काँग्रेसलाई निफन्दा
वि.सं. १९९५ को नेपाल नागरिक अधिकार समिति र १९९७ को प्रजा परिषद्को गतिविधिलाई राणा शासनबाट चरम दमन भएकै सेरोफेरोमा स्वतन्त्रता र न्यायको खोजिमा संर्घष गरिरहँदा नेपाली काँग्रेसको जग बसेको थियो।
वि.सं.२००३ कात्तिक १५ गते भारतको वनारसमा अखिल भारतीय नेपाली राष्टिय काँग्रेस गठन भएको थियो। संस्थापक विश्वेश्वरप्रसाद कोइरालााको संयोजकत्वमा कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र इश्वर बराल सदस्य रहेको उक्त संगठनको सामूहिक अध्यक्षता सुब्बा देवीप्रसाद सापकोटाले गरेका थिए। नेपालको व्यवस्था परिवर्तनमा त्यही सुरुवात नै राजनीतिक संगठनका रुपमा उदाएको थियो। जसको निरन्तरता आजको नेपाली काँग्रेस हो।
नेपाली काँग्रेसको इतिहासलाई फर्केर हेर्ने हो भने भारतको कलकत्तास्थित भवानीपुरमा भएको २००३ सालको महाधिवेशनले नेपालको राजनीतिक गतिविधिलाई भारतबाट प्रभावित गर्न थालेको प्रष्ट पार्छ।
तत्कालीन प्रजा परिषद्का नेता गणेशमान सिंह (जो कृष्णबहादुर प्रधानका नामले भारमा चिनिन्थे)को सक्रियतामा बनेको नेपाली राष्ट्रिय काँग्रेसको प्रभाव मजबुत थियो। त्यसैबेला देशभित्र विराटनगरमा मजदुर आन्दोलनको सुरुवात पनि भएको थियो।
२००४ सालसम्म आइपुग्दा मजदुर आन्दोलन र सतयाग्रहको प्रभाव बढ्दो थियो। वनारसमा नै दोश्रो महाधिवेशन भएसँगै काँग्रेस संगठनात्मक रुपमा अघि बढ्न थाल्यो। तत्कालीन राणा शासकहरूले त्यो अधिवेशन रोक्नका लागि गरेका अनेकन प्रयासहरू असफल भएका थिए।
त्यसलगत्तै २००५ सालमा भारतको दरभंगामा काँग्रेस पार्टीको तेस्रो महाधिवेशन सम्पन्न भयो। तर विपी कोइराला पक्राउ परेपछि त्यो महाधिवेशनका लक्ष्य पूरा गर्न काँग्रेसलाई अप्ठ्यारो अवस्था थियो। त्यही सेरोफेरोमा मातृकाप्रसाद कोइरालालाई कार्यवाहक सभापति पनि बनाइयो। त्यहीँबाट कोइराला परिवार संगठनमा नेतृत्वमा अब्बल हुँदै आएको पनि हो।
गम्भीर रस्सा-कस्सीसँगै २००६ चैत्र २७ गते कलकत्ताको चर्चित टाइगर हल महाधिवेशनबाट नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको एकीकरणबाट बनेको दल विधिवत नेपाली काँग्रेसका नामले चिनिन थाल्यो।
त्यसको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरे। २००७ को पूर्व तयारीमा बनेको त्यही संगठनले नेपालको राजनीतिक सत्तासमेत लामो समय सञ्चालन गरेको छ। नेपाली काँग्रेसको २००९ सालको जनकपुर महाधिवेशन, २०१२ सालको वीरगञ्ज महाधिवेशन र २०१४ सालको विराटनगर महाधिवेशनहरूले विपी र मातृकाकै वरिपरिको नेतृत्वमा फन्को मारेको थियो।
विपी कोइराला कहिले नेतृत्वमा त कहिले निर्वासन र जेलमा हुँदा पार्टीको कमाण्ड अरुले पनि सम्हालेका थिए। प्रजातन्त्र प्राप्तिपछि २०१५ सालमा भएको नेपालकै पहिलो आम निर्वाचनमा प्रचण्ड जीतसहित काँग्रेसको सत्तारोहणको श्रृङ्खला सुरु भयो। काँग्रेसका जननायक विपी कोइराला नेपाली राजनीतिक इतिहासकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। जब वि.सं. २०१७ सालको राजाको प्रत्यक्ष शासनले विपी कोइरालासहित देशभरबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पक्राउ पर्न थाले अनि नेपालको अवस्था निकै कठीन बन्न पुग्यो। राणाबाट जनताले खोसेको प्रजातन्त्र जनताबाट फेरि राजाले खोसे।
त्यसपछि फेरि नेपाली काँग्रेसको पार्टी जीवन ३० वर्षे पञ्चायतसँगको संघर्षमा होमिनुपर्यो। २०३३ सालमा मेलमिलाप भन्दै कोइराला स्वदेश फर्किएपछि काँग्रेसको ज्यान पलायो। यद्यपि जनमत संग्रहमा काँग्रेसले गरेको विश्वास सफल भएन। पञ्चायतले अझ जरा गाड्यो। राजाको प्रत्यक्ष शासन ३० वर्षीय पञ्चायती व्यवस्था रह्यो। त्यसबीचमा काँग्रेसको संगठन क्रान्तिकारी ढङ्गले अघि बढ्यो। राजनीतिक गतिविधिको लामो अन्तरालपछि ०४६ सालको व्यवस्था परिवर्तन गराउन काँग्रेसको भूमिका महत्वपूर्ण थियो। काँग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको त्रिकोणीय-दुईपक्षीय घर्षणबाट संगठन चलायमान भइरहेको थियो।
झण्डै ३१ वर्षपछि २०४८ सालमा भएको झापाको कलवलगुडि ८औँ महाधिवेशनले काँग्रेसको संगठनलाई निकै मजबुत बनायो र नेतृत्वसमेत परिवर्तन भयो। ०४८ सालकै पार्टीको संगठनले काँग्रेसलाई ०७०को संविधानसभा सम्म पहिलो दल बन्न बचाइ राख्यो।
यसबीचमा भएको माओवादीको सशस्त्र युद्ध र एमाले,राप्रपा र मधेश केन्द्रित लगाएतका दलहरूको उदय र सक्रियताले काँग्रेसको संगठनात्मक अवस्था निकै कमजाेर हुँदै गयो। यद्यपि ०७० को निर्वाचलने काँग्रेसलाई नै पहिलो दल बनायो। फलस्वरुप संविधानसभाको दोस्रो कार्यकालबाट नेपालको गणतान्त्रिक संविधान जारीसम्म भयो। पछिल्लो २०७९ सालको चुनावमा काँग्रेस फेरि पहिलो दल हुने अवस्थामा आइपुग्यो।
वि.सं.२०५३ को नवौँ महाधिवेशनपछि काँग्रेस आन्तरिक कलह, विवाद र सत्ताको खेलमा सीमित हुँदै गर्दा देशमा प्रजातन्त्र नै कमजोर हुन थाल्यो। राज्यका संयन्त्र अनि प्रणालीहरू लथालिंग हुन थाले। २०५८ सालमा दरबार हत्याकाण्ड र फेरि नयाँ राजा सक्रिय भए। आफ्नै दलको सरकार ढल्यो र ढालियो। काँग्रेस पार्टी विभाजित भयो। पार्टी विभाजन भएपछि संगठन लगभग ध्वस्तकै अवस्थामा पुगेको थियो।
९औँ महाधिवेशनदेखि १२औँसम्म पुग्दा काँग्रेस गुट र उपगुटमा विभक्त भएर संगठन जर्जर अवस्थामा पुग्यो। माओवादीको सशस्त्र विद्रोहमा काँग्रेसीहरू सीमित घेरामा खुम्चिए। परिणाम संविधानसभाको निर्वाचन ०६४ मा दोस्रो दलमा सीमित हुन पुग्यो।
१३औँ महाधिवेशनबाट काँग्रेस संगठन अलि तङ्ग्रियो। अहिले त्यही नेतृत्व चौधौँ महाधिवेशनमा पनि निरन्तर भएको हो।
नेपाली काँग्रेसको इतिहासलाई केलाउने हो भने आसन्न १५औँ महाधिवेशन काँग्रेसका लागि देश र परिस्थिति सुहाउँदो सबैलाई समेटनेगरी संगठन विस्तार मूल एजेण्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ। चुनौतीका रुपमा स्वतन्त्र र नयाँ रानीतिक अनुहारहरू 'बर्लिन वाल'झैँ रहने छन्।
१५औँ महाधिवेशनको पूर्वसन्ध्यामा काँग्रेसको नेतृत्व फेरि कोइराला परिवारमा फर्किनसक्ने सम्भावना र परिदृश्यहरू देखिन थालेका छन्। ती बलिया र तर्कसंगत पनि छन्। त्यसैले कोइराला परिवारका सदस्यमध्येका एक डा. शेखर कोइराला आफूलाई नेतृत्वमा स्थापित गर्ने प्रयासमा छन्। उता महामन्त्री भएर शान्त बसेका डा. सशांक कोइराला पनि सभापतिको आकाङ्क्षी छन्। सुजाता कोइराला अब शेखरलाई सघाएर अघि बढ्नुपर्छ भन्ने चेतपूर्ण बाटोमा लागेकी छन्।
यति नै बेला मातृकाप्रसाद कोइराला र विपी कोइरालाको अन्तरसंघर्ष पनि सम्झनैपर्छ।
यहीँनेर पार्टी सभापति शेरबहादुर देउवा जबर्जस्त बलियो सभापति छन्। उनको यो लगभग अन्तिम कार्यकाल र नेतृत्व पुस्तान्तरणका विषयमा विभिन्न कोणबाट मूल्याकंन भइरहेका छन्।
पार्टीमा गर्नुपर्ने नियुक्ति समयमै गर्न नसकेको आरोप र कतिपय भातृ संगठनलाई अधिवेशन नगराएर तदर्थ समितिबाट सञ्चालन गरेको आरोप पनि सभापति देउवामाथि जबर्जस्त थपिएको छ। चुनाव टिकट बाँडफाँट र समानुपातिक उमेदवार छनौट र मन्त्री बनाउँदा पक्षपात भएकोदेखि उनको पछिल्लो कार्यशैलीका विषयमा समेत आलोचना बढेको छ।
आसन्न १५औँ महाधिवेशनको सेरोफोरोमा नेपाली काँग्रेसका सभापति देउवाका उत्तराधिकारीको अनुहार स्पष्ट देखिएको छैन। देउवा पार्टीमा विद्रोही खेमाको एकल नेतृतव गरेर ४० प्रतिशत भाग लिँदै यतिबेला पार्टी नेतृत्वमा करिब ८० प्रतिशत होल्ड गरेका बलिया सभापति पनि हुन्।
उता इतर पक्ष शेखर कोइराला-गगन थापा पक्ष भागवण्डामा आफ्नो भूमिकासहितको भाग खोज्दैछन्। यो समूह विधानले तोकेकै समयमा पार्टी महाधिवेशन नहुने आशंका व्यक्त गरिरहेका पनि छन्। सभापति देउवा विधानले दिएको अधिकारको अधिकतम प्रयोग गर्नेछन् भन्ने आशंका यो समूहको छ।
काँग्रेस सभापति रहँदा स्व. गिरिजाप्रसाद कोइरालाले 'एक्स्ट्रिम पावर एक्सरसाइज' गर्ने गरेका थिए। त्यही पदचाप अहिलेका सभापति शेरबहादुर देउवाले पनि पछ्याए। पहिलोपटक कोइरालाले बहुमतको सरकार चलाउन सकेनन्, संसद भङ्ग गरेर राजालाई खेल्ने मौका दिए। पछि देउवाले पनि त्यही रफ्तारमा संसद भङ्ग गरेर राजालाई सक्रिय हुने अवसर जुराइदिए।
यी दुवैभन्दा पृथक स्व.कृष्णप्रसाद भट्टराई र स्व.सुशील कोइरालाले सत्तामा कम शक्तिको अभ्यास गरेर दुवैले देशलाई संविधान दिलाए। सभापतिमा छँदा होस् वा प्रधानमन्त्री रहँदा 'भट्टराई र सुशील' दुवैले संगठन मजबुत र सत्ताको दूरुपयोगमा आफूलाई अब्बल प्रमाणित गरेर गएका छन्।
काँग्रेसमा अब विपी कोइराला, गणेशमान सिंह खोज्नु दुर्लभ प्रयासमात्रै होइन, असम्भवजस्तै हुनसक्छ। बरु भट्टराई पनि नभनौँ सुशील कोइराला जत्तिकैका भए पनि नेतृत्वमा काँग्रेस सललल अघि बढ्न सक्ने थियो। तर स्व. सुशील कोइराला जत्तिको दृढ संकल्प भएका पनि अबका पुस्तामा पाउन मुस्किलै छ।
भविष्यको काँग्रेसलाई अन्य राजनीतिक शक्तिहरूमाझ सुशासन र जन सेवामा समर्पित हुन बदलिँदो चुनौती थपिएका थपियै छन्।
देशको सबैभन्दा पुरानो दल नेपाली काँग्रेस नै हो। समय सुहाउँदो राजनीतिक पार्टी जो लोकतन्त्रका लागि अनवरत जनताका पक्षमा रहन्छ भन्ने प्रमाणित गर्न सक्नुपर्ने अग्नि परीक्षामा पनि छ। कम्युनिष्ट शक्तिहरूले जनतालाई जबर्जस्त रुपमा आफ्ना एजेन्डाहरूको भ्रममा भुलाइरहेको यो बखतमा नेपाली काँग्रेसका लागि त्यस्तो नेतृत्व चाहिएको छ, जसले जनतालाई त्यो भ्रमबाट मुक्त गरेर लोकतन्त्रका आधारशीलाहरूको रक्षा गर्न सकोस् र नेपाली काँग्रेसलाई जुगौँजुगसम्म राष्ट्र अनि नागरिकको भरोसास्तम्भ बनाइराख्न सकोस्।