राजदूतहरूको सक्रियता: सरकार चुपचाप

Break n Links
Break n Links

नेपालमा सरकार बदलिएसँगै प्रधानमन्त्री र मन्त्रीहरूले शपथ लिएकै दिन चिनियाँ राजदूत छन सङ, भोलिपल्ट भारतीय राजदूत नवीनकुमार श्रीवास्तव र पर्सिपल्ट अमेरिकी राजदूत डिन आर. थोम्पसनले प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरूलाई घरघरमै पुगेर भेटवार्ता गरे।

एकपटक अमेरिकी राजदूत पिटर डब्लु बोडेले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई भेट्दा राजनीतिक स्थायित्वका लागि छिटो संविधान लेख्न खुलेरै भनेका थिए, महाराजगञ्जस्थित कोइराला निवासमा।

नेपालको कूटनीतिक आचारसंहिता २०७७ को दफा ४ मा उल्लेख गरिएको छ, 'विदेशी पदाधिकारीसँग शिष्टाचार भेट, बिदाइ भेट, औपचारिक वार्ता वा बैठक गर्दा मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयलाई पूर्व जानकारी गराई त्यहाँका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्छ।'

कूटनीतिक आचारसंहिता उल्लंघन बढेको भन्दै गत २०८० चैत ३० गते परराष्ट्र मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई आचारसंहितामा कडाइका लागि पत्र लेख्दै निर्देशन दिएको थियो।

चिनियाँ, भारतीय, रुसी, अमेरिकी राजदूत र युरोपेली युनियन (इयु)का राजदूहरूको सक्रियता नेपालमा उच्च दरमा रहँदै आएको विषय हो।

सुरक्षासँग सम्बन्धित विभिन्न विषय चीन र भारतको बढ्दो प्रभाव साथै नेपालको तेस्रो मुलुकसँगको सम्बन्धका कतिपय विषयमा समेत राजदूतहरूले दबाब सृजना गर्ने गर्छन्।

सन् २००४ देखि सन् २००७ सम्म अमेरिकी राजदूत रहेका जेम्स एफ मोरियार्टी निकै सक्रिय थिए। त्यो राजनीतिक परिवेशमा नेपालमा द्वन्द्वको अवस्थामा थियो। नेपालका माओवादीका विषयमा भारतले अवलम्बन गरेको भारत नीतिमा अमेरिकाले असहमति गरेका कुरा सन् २००३ देखि २००७ सम्मका सूचनालाई विकिलिक्सले समेत खुलासा गरेको थियो।

मोरियार्टीमाथि माओवादीकाे युवा संगठन वाईसिएलले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा आक्रमण गरेका थिए। त्यसको प्रतिक्रियामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त माओवादी संगठनलाई 'योङ्ग क्रिमिनल लिग' भनेर कडा प्रतिक्रियासमेत दिएका थिए।

राजदूत होउ यान्छीले २०७८ सालमा एकैदिन तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी थिइन्।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली रहँदा ५ जना पूर्वप्रधानमन्त्रीहरूले वैदेशिक हस्तक्षेप निम्तिएको उल्लेख गर्दै विज्ञप्ति नै जारी गरेका थिए।

वि.सं. २०७५ सालमा नेकपा बन्दा अध्यक्षको हैसियतमा प्रचण्डले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको निन्दा गर्दै कडा वक्तव्य निकाले। त्यसको प्रतिवादमा अमेरिकी दूतावासले कडा प्रतिक्रियासमेत जनएको थियो। तत्कालीन राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री ओलीसँग त्यसबारे गम्भीर असहमति राखेका थिए।

नेपाल त वर्षौंदेखि नै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको राष्ट्र पो हो। अनि यहाँ त पञ्चशीलका सिद्धान्तलाई आत्मसाथ गरिने परम्परा पनि छ।

नेपालमा रहेका विभिन्न देशका राजदूतहरूमध्ये भारत, अमेरिका र चीनका राजदूतहरू मन्त्रालयकाे कार्यकक्षभन्दा प्रधानमन्त्री र मन्त्रीहरूका निजी निवासमा भेट्न रुचाउँछन्।

नेपालका लागि प्रथम अमेरिकी राजदूत थिए, डा. हेनरी एफ ग्रेडी। उनले सन् १९४८ मे ३ मा राजा त्रिभुवनसमक्ष राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए। तर ग्रेडीसहितका ६ जनाले नयाँदिल्लीबाट नेपालसम्बन्धी काम गर्दथे।

सन् १९३४ मा बहादुरशमशेर राणा बेलायतको लागि पहिलो नेपाली राजदूत भएर गएका थिए। नेपालबाट पहिलो विदेशी राजदूत जाने उनी नै थिए।

नेपालमा राजदूतहरूको उच्च सक्रियता हुँदा नेपालका अधिकांश राजदूतहरू विदेशमा अलमलमा छन्। थमौतीमा परेका छन्, ‘फर्किउँ कि बसुँ’ अन्यौलमा काम विहीनतामा छन्।

प्रकाशित मिति: : 2024-07-18 19:45:00

प्रतिकृया दिनुहोस्