त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न प्रविधिको प्रयोग तर अवस्था असहज

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार पनि जारी छ।

दुई बस शुक्रबार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

यादवका अनुसार नदीमा पानी बहाब बढेको, पानी धमिलो भएको साथै वर्षा भइरहेकाले खोजी कार्यमा असहज भइरहेको छ।

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबार दिनभर जारी राखिएपछि केही फेला नपरको यादवले जानकारी दिए।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा, एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए।

शनिबार बिहानबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन्।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।

यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्। 

प्रकाशित मिति: : 2024-07-13 13:19:00

प्रतिकृया दिनुहोस्