‘कोकिन’का ‘गडफादर’ डन पाब्लो: जसले आफ्नो बाटो छेक्न खोज्ने ४ हजार मान्छे मारे

Break n Links
Break n Links

पाब्लो कोलम्बियाका एक ड्रग्स माफिया हुन्। उनलाई किङ्ग अफ द कोकिन अर्थात् कोकिनका ‘गडफादर’ भनेर पनि चिनिन्छ।

विश्वबजारमा हरेक दिन १५ सय टन कोकिन पुर्‍याउनसक्ने उनीसँग कुनैबेला अमेरिकासमेत डराउँथ्यो। अहिलेसम्म अपराध दुनियाँका उनी सबैभन्दा ‘धनी अपराधी’ पनि हुन्। विश्वबजारभरि कोकिन पुर्‍याउनका लागि उनले सबमरिन अर्थात् पनडुब्बीको समेत प्रयोग गर्थे। यो भनेको पानीमुनि पनि चल्नसक्ने जहाज हो।

१ डिसेम्बर १९४९ मा कोलम्बियाको रियोनिग्रो सहरमा एक गरिब परिवारमा जन्मेका थिए पाब्लो। उनका बाबु किसान थिए, सामान्य खेतीपाती गर्थे। उनकी आमा भने स्कुलमा शिक्षिका थिइन्। सातजनाको परिवारमा डन पाब्लो तेस्रो सन्तान थिए।

उनको आर्थिक अवस्था निकै कमजोर थियो। खाली खुट्टा स्कुल गएका कारण एकदिन उनलाई स्कुलबाटै निकालिएको थियो। परिवारको गरिबी र साथीहरूको संगतका कारण उनी कलिलै उमेरमा कुलतमा फसे।

स्कुलमा परीक्षा चलिरहेको थियो, उनले चिट चोरे र शिक्षकले देखेपछि त्यो कुरा उनको आमालाई थाहा भयो। आमाले उनलाई पिट्दै भनिन् ‘चिट चोर्नु गल्ती हैन, चिट चोरेर बच्न नसक्नु गल्ती हो…।’ आमाको यो कुरा उनका लागि चेतावनी होइन, बरु एउटा हौसला भयो। जसले उनको कलिलो दिमागमा यो कुरा भरिदियो कि ‘कुनै पनि अपराध वा गल्तीलाई लुकाउन वा छोप्न नसक्नु पो बरु त्योभन्दा ठूलो अपराध हो अनि गल्ती हो।’

कलिलै उमेरमा उनले चोरी, डकैतीहरू सुरु गरिसकेका थिए र त्यसबाट कसरी बच्ने भन्ने उपाय जानिसकेका थिए। अलि उमेर पुगेपछि उनी आफू जन्मेको सहर छोडेर मिडलीमा बस्न थाले।

घर छोड्दै गर्दा उनले मनमनै एउटा बाचा गरेका थिए कि- २२ वर्षको उमेरसम्म करोडपति भएन भने उनले आफूले आफैँलाई मारिदिनेछन् अर्थात् आत्महत्या गर्नेछन्।

मिडली सहरमा पाइला राखेसँगै उनले सहरका एक धनाढ्यलाई अपहरण गरे। अनि उनको परिवारबाट एक मिलियन डलर असुली पनि गरिछोडे। करोडपति यात्राको यो उनको पहिलो सफलता बन्यो।

त्यसपछि उनले त्यहाँको एक ड्रग्स माफिया समूहको कोकिन बोक्ने काम गर्न थाले। अर्थात् उनी लागुऔषध ओसारपसार गर्ने एक भरिया बने।

डन पाब्लो चलाख र चतुर पनि थिए। भरिया उनका लागि ड्रग्सको कारोबारी दुनियाँमा छिर्ने एउटा ‘जरिया’मात्रै थियो। उनलाई थाहा थियो, ‘पाब्लोले यही ड्रग्स बोकेर आफ्नो जिन्दगी खेर फाल्ने छैन। बरु एकदिन ड्रग्स दुनियाँको ‘राजा’ बनेर निस्किनेछ।

डन पाब्लोलाई त्यहाँको ड्रग्स माफिया समूहले पनि विश्वास गर्न थाल्यो र एकदिन १४ करोड रकमको कोकिन बोकेर कुनै ठाउँमा पुर्‍याउँदै गर्दा उनको समूहका बोससँग झगडा भयो। त्यही निहुँमा उनले आफ्नै ‘बोस’लाई मारिदिए। त्यो नै डन पाब्लोको पहिलो ‘हत्या’ थियो।

अपराधको दुनियाँमा उनले अब हदभन्दा माथि पाइला राखिसकेका थिए। योबेलासम्म त उनले कोकिनको विश्व दुनियाँका बारेमा धेरै कुराहरू थाहा पाइसकेका थिए। त्यसबाट कसरी चाँडै धनी हुन सकिन्छ भन्ने जानिसकेका थिए।

मुख्य ड्रग्स डिलरको हत्या गरेर पाब्लोले त्यो सबै बजार आफ्नो बनाए अनि विस्तारै ड्रग्सको धन्दा गर्नेहरू सबैलाई आफ्नो समूहमा सामेल गराए।

विस्तारै विस्तारै लागुऔषधको विश्वबजारमा उनले ‘कोकिन’ बजारमाथि एकछत्र राज गर्न थाले। लागुऔषधहरूमा महँगोमध्येको एक कोकिन पनि हो।

यो यात्रामा डन पाब्लोले आफ्नो धन्दामा बाधा पुर्‍याउने कम्तीमा चार हजार जनाको हत्या गरिसकेका छन्। त्यसमा सरकारी कर्मचारीदेखि वकिल अनि न्यायाधीशहरू पनि छन्। उनले पत्रकारहरूको पनि ज्यान लिएका छन्। कोकिन व्यापारको आफ्नो त्यो बाटो ‘क्लियर’ गर्नका लागि डन पाब्लोले आफ्नो काममा असर गर्ने अधिकारीलाई घुस दिन्थे, घुस खाना नमाने गोली हानेर हत्या गर्थे।

डन पाब्लोले यतिसम्म गर्थे कि कोलम्बियाको प्रहरी अधिकारीले पक्राउ गरेर अदालतमा पेस गर्दा सिधै सबैका अगाडि न्यायाधीशलाई घुसको अफर गर्थे, नमाने केही दिनमै ती न्यायाधीशको हत्या गरिदिन्थे।

डन पाब्लोले कोकिनकै धन्दा गर्न एक आइल्याण्ड अर्थात् ‘सामुद्रिक टापु’ किनेका थिए। त्यही टापुमा उनले कोकिनको प्रशोधन कारखाना खोले अनि विमानस्थलसमेत बनाए। जहाँ उनका निजी विमान र हेलिकप्टरहरू उडान भर्थे र अवतरण गर्थे। त्यही टापुबाट उनले पानीजहाजबाट अमेरिकालगायत कैयौँ देशमा कोकिनको व्यापार गर्थे।

डन पाब्लोले अमेरिकामा सिधै ड्रग्स पठाउन थाले, त्यो कुरा अमेरिकी सरकारलाई पनि थाहा भयो। तर अमेरिकाले समेत केही गर्न सकेन। पाब्लो अमेरिकाका लागि पनि टाउको दुखाइ बने।

कोकिन बेचेर उनले एकैदिनमा ७० मिलियन अमेरिकी डलर अर्थात ११ अर्बभन्दा बढी कमाउँथे।

डन पाब्लोको रकम राख्ने ठाँउ नभएर उनले जमिनमा खाडल खनेर रकम राख्ने गर्थे। उनले राखेको १० प्रतिशत रकम मुसाले काटेर खेर जाने गरेको थियो।

सुरुका दिनमा उनले माछाको पेटदेखि हवाईजहाजको टायरभित्र लुकाएर कोकिन संसारभर फैलाए। पछि आएर कोकिन बोक्नकै लागि उनले सवमरिनको समेत प्रयोग गरे।

डन पाब्लो सफल हुनुमा स्थानीयको धेरै ठुलो हात थियो। उनी मेडली सहरमा घर नहुनेलाई घर बनाइदिन्थे, पैसा नहुनेलाई पैसा दिन्थे। बेरोजगारलाई रोजगार दिन्थे, त्यसैले उनलाई स्थानीयले भगवानजस्तै मान्थे।

जतिसुकै डन बने पनि वा पैसा कमाए पनि उनलाई थाहा थियो, एकदिन कानुनको फन्दामा त पक्कै परिन्छ। त्यसबाट बच्नका लागि उनले सिधै सरकारलाई अफर गरे। आफूमाथिका सबै आपराधिक आरोपहरू खारेज गरेमा आफूले पूरै कोलम्बियाको वैदेशिक ऋण चुक्ता गरिदिने प्रस्ताव राखे। सरकारले त्यो अफर स्वीकार गरेन। अनि उनले राजनीतिमा पाइला राख्ने कोसिस पनि गरे। तर सफल हुन सकेनन्।

अमेरिकाले डन पाब्लोलाई पक्राउ गरेर आफूहरूलाई सुम्पिन कोलम्बिया सरकारलाई चर्को दबाब दिन थाल्यो। उनले फेरि कोलम्बिया सरकारलाई अर्को अफर दिए, ‘आफ्नै पैसामा सुविधा सम्पन्न जेल बनाए आफूले गिरफ्तारी दिने र त्यसमै बस्ने।’ यो प्रस्ताव भने कोलम्बिया सरकारले स्वीकार गर्‍यो। उनकै पैसामा सुविधासम्पन्न जेल बनाइयो अनि पाब्लोले पनि गिरफ्तारी दिएर त्यसैमा बस्न थाले।

जेलबाटै पनि उनले आफ्नो धन्दा छोडेनन्। त्यहीँ बसेर विश्वभरि कोकिनको व्यापार अझ फैलाइरहे। त्यसबाट कोलम्बिया सरकार हैरान हुन थाल्यो र जेलभित्रै उनको हत्या गर्ने योजना बनाउन थाल्यो। उनले त्यो कुरा थाहा पाए। एकदिन उनी आफ्ना साथीहरूलाई लिएर जेलबाट फरार भए। उनी भूमिगत भए।

कोलम्बियाले अमेरिकी गुप्तचरको सहयोगमा डन पाब्लोको खोजी गर्न थाल्यो। उनको ‘सुट आउट’का लागि कोलम्बिया सरकारले एउटा विशेष टोली नै बनाएर खटाएको थियो। त्यसमा अमेरिकाले पनि सहयोग गरेको थियो। त्यसका लागि अमेरिकी गुप्तचर संस्थाहरू सिआइए र एफबिआइहरूले अर्बौं डलर खर्चेका थिए। त्यही टोलीले उनलाई १९९३ डिसेम्बर २ मा ‘इन्काउन्टर’ गर्‍यो। त्योबेला उनी मात्रै ४४ वर्षका थिए।

संसारमा अहिलेसम्म उनका ‘आपराधिक रेकर्ड’हरू तोड्ने ड्रग्स डिलरहरू जन्मिएकै छैनन्। 

प्रकाशित मिति: : 2024-06-21 18:04:00

प्रतिकृया दिनुहोस्