बिमाको रकम लिन दुई श्रीमानसहित ४० जनाको हत्या !

Photo - Legends of America
Photo - Legends of America

२८ अप्रिल, सन् १९०८। बिहानकाे लगभग ४ बज्दै थियाे। अमेरिकाकाे इन्डियाना राज्यकाे एमसीक्लङ रोडमा रहेकाे एक फार्म हाउसमा आगो लाग्यो। घरका सबै सदस्य भित्रै थिए। तर कसैले पनि आफू बच्नका लागि भाग्ने प्रयास गरेनन्।

भाेलिपल्ट फार्म हाउसका एक कामदारले भग्नावशेषकाे बेसमेन्टबाट चारवटा शव फेला पारे। सुरुमा ती शवहरू फार्म हाउसकी मालिक बेल गन्नेस र उनका छोराछोरी मर्टल, लुसी, र फिलिप हुन् भन्ने विश्वास गरिएको थियो। तर, पहिलो तल्लामा पनि अर्काे एउटा शव फेला परेपछि उनीहरू सुतिरहेकाे अवस्थामा आगो लागेकाे अनुमानलाई प्रहरीले अस्वीकार गर्यो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गर्न थाल्याे। अनुसन्धानका क्रममा पहिला उनीहरूकाे हत्या गरी शव व्यवस्थापनकाे लागि घरमा आगो लगाइएकाे तथ्य पत्ता लाग्याे। त्यसपछि फार्म हाउसबारे थप अनुसन्धान गर्न थालियाे। उक्त घर बेल गन्नेसकाे नाममा थियाे। जहाँ उनीहरू सात वर्षदेखि बसाेबास गर्दै आइरहेका थिए।

काे हुन् बेल गन्नेस ?

सामान्यतया बाहिरबाट हेर्दा बेल एउटा विधवा महिला जस्ताे देखिन्छिन्। तर उनकाे वास्तविकता अर्कै छ।

बेल गन्नेसलाई अमेरिकी इतिहासकाे सबैभन्दा आचरणहिन महिला सिरियल किलर भन्दा कुनै फरक नपर्ला। कसैकसैले त बेललाई ‘हेल्स बेल’ भनेर सम्बाेधन गर्छन्, यानिकी ‘नरककी मान्छे’।

उनले आफ्ना श्रीमान, बच्चाहरूका साथसाथै कम्तिमा ४० जनाकाे हत्या गरेकाे आशंका गरिएकाे छ। उनको कथामा धेरै ट्विस्ट र मोडहरू छन्। तर अन्तमा, उनकाे मृत्यु नै एक रहस्य बन्याे।

०००

बेल्सकाे जन्म ११ नोभेम्बर सन् १८५९ मा नर्वेको सेल्बुमा भएकाे थियाे। बेलकाे वास्विक नाम ब्राइनहिल्ड पलस्डाटर स्टोर्सेथ हाे। बेलले १४ वर्षकाे उमेरदेखि नै छिमेकीका गाईवस्तु चराएर अमेरिका जाने पैसा बचत गर्न थालिन्। बेल सन् १८८१ मा राेजगारीकाे सिलसिलामा अमेरिकामा बसाइँ सरिन्।

उनले न्यूयोर्क गएपछि आफ्नाे नाम परिवर्तन गरिन् र एउटा घरेलु कामदारकाे रूपमा काम गर्न थालिन्। केही वर्षपछि उनले सन् १९८४ मा सिकागोकाे म्याड्स सोरेनसनसँग विवाह गरिन्।

बेलकाे अपराध यात्रा

गन्नेसले म्याड्स अल्बर्ट सोरेनसनसँग विवाह गरेको केही समय नबित्दै उनीहरूको पसल र घरमा रहस्यमय तरिकाले आगलागी भयाे। आगलागीपछि बेल दम्पतीले बीमा रकम दाबी गरे। उनीहरूले बिमाकाे रकम पनि लिए र नयाँ व्यवसाय सुरू गरे।

त्यसपछि लगत्तै उनीहरूले दुई बच्चाकाे मृत्युकाे जीवन बिमा रकम पनि दाबी गरे। तर उक्त जीवन बीमा नीतिहरू ओभरल्याप भयाे। मानिसहरूले याे पनि आशंका गरेका थिए कि बेलले बिमाको पैसाका लागि दुई बच्चालाई विष खुवाएकी थिइन्। जीवन बीमा नीतिहरू ओभरल्याप भएपछि सोरेनसनकाे हृदयघातका कारण मृत्यु भयो।

सोरेनसनकाे मृत्युबारे उनकाे परिवारले छानबिनको माग गरे पनि बेलले सोरेनसनकाे हत्या गरेकाे पुष्टि हुन सकेन। बिमा कम्पनीले उनलाई ८ हजार ५ सय (लगभग २ लाख ४० हजार आजकाे दिनमा) डलर दियाे। त्यसपश्चात उनले इन्डियानाको बाहिरी भागमा एउटा फार्म हाउस किनिन् र त्यहीँ बस्न थालिन्।

त्यसपछि उनले पुन: एकजना धनाड्या व्यक्तिसँग विवाह गरिन्। धर्मपुत्रीकाे रूपमा जेनी, पिटर र एक शिशुसहित तीन जनालाई पाल्न थालिन्।

बेलले बिमाकाे पैसाकाे लाेभमा पुन: दाेस्राे श्रीमानकाे पनि हत्या गरिन्। त्यसपछि उनले खेतमा लगानी गर्न अखबारहरूबाट धनी पुरुषहरू खोज्न थालिन्। उनीहरूलाई आफूतिर आकर्षित गर्न प्रेमी स्तम्भमार्फत विज्ञापनहरू पनि पाेस्ट गर्ने गर्थिन्।

उनी छाेटाे समयमा नै धेरै मान्छेलाई आफ्नाे जालमा पार्ने सफल भइन्। त्यसपछि बेलले कहिले पनि पछाडि फर्केर हेर्नु परेन। उनी नयाँ-नयाँ मानिसलाई आफ्नाे जालमा पार्थिन् र उनीहरूलाई भेट्न बाेलाउँथिन्।

उनीहरूले बेललाई महंगाे उपहार, गहना तथा पैसा लिएर भेट्न जान्थे। तर उनीहरू फर्किएर घर जान भने पाउँदैन थिए। जसमध्ये जोन मू, हेनरी गुरहोल्ड, ओलाफ स्वेनहेरुड, ओले बी बड्सबर्ग, ओलाफ लिन्डब्लूम, एन्ड्रयू हेगेलिन जस्ता व्यक्तिहरू रहेका थिए।

कसरी पत्ता लाग्याे घटना?

एकै ठाउँका धेरै मानिसहरू हराइरहेकाले धेरैले शंका गर्न पनि थाले। तर घटना के हाे र घटनामा कसकाे हात छ भन्नेबारे कुनै जानकारी पत्ता लगाउन सकिरहेकाे थिएन। तर जब एक व्यक्तिको भाइ बेपत्ता भए, तब उनी अनुसन्धान गर्न निस्किए। उनले गन्नेसको फार्म हाउस जलेको थाहा पाए। त्यसपछि प्रहरीलाई खबर गरिदिए।

घटनास्थलमा चारवटा मानव कंकालका अवशेषहरू थिए। त्यहाँ तीन जना बालबालिका थिए भने एक शिर काटिएकी महिला थिइन्।

प्रहरीले बेलकाे जमिनमा गाडिएका अवस्थामा ४० भन्दा बढी पुरुष र बालबालिहरूकाे शव फेला पार्याे।

प्रहरीले उक्त आगजनी घटनाबारे अनुसन्धान गर्दै गयाे। शिर काटिएकाे शव बेलकाे नभएकाे थाहा भयाे, त्यसपछि प्रहरीले बेलकाे घरका कामदार ‘रे लाम्फेरे’ लाई पक्राउ गर्याे।

‘रे लाम्फेरे’ लाई बेलले भाडामा राखेकी थिइन्। उनी आफ्नाे हरेक याेजना लाम्फेरेलाई बताउँथिन् र लाम्फेरे बेलकाे हरेक कार्यमा सहयाेग गर्दै जान्थे।

सुरूमा त लाम्फेरेले उक्त कुरा स्वीकार गरेका थिएनन्। तर पछि भने स्वीकार गरे कि उनीहरूले फेला पारेको शव गन्नेसको होइन र उनले भाग्नको लागि सम्पूर्ण योजना बनाएकी थिइन्।

रहस्यमय बेपत्ता

सन् १९०९ मे २२ मा प्रहरीले ‘रे लाम्फेरे’ लाई हत्या र आगजनीको आरोपमा गिरफ्तार गर्याे। उनी आगजनीमा दोषी पाइए तर हत्याबाट भने सफाइ पाए। उनकाे जेलमा नै मृत्यु भयाे। तर बेलकाे बारेमा केही पत्ता लाग्न सकेन।

फार्म हाउसमा भएकाे आगजनीमा बेलले सम्पूर्ण योजना बनाएकी थिइन्। आफ्नो बैंक खाताबाट अधिकांश पैसा निकालेपछि सहर छोडिन्। उनी कहिल्यै ट्र्याक भइनन् र उनको मृत्युको पनि पुष्टि भएको छैन।

 –एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-04-04 20:00:00

प्रतिकृया दिनुहोस्