अभिषेक राज सिंह नेपाली आपराधिक दुनियाँकाे सबैभन्दा चर्चित नाम हाे। अभिषेककाे अपराध यात्रा प्रतिशोधबाट जन्मिएको थियो। जसले आफ्नो बुबाको हत्याकाे बदला लिन दुई मानिसहरूकाे हत्या गरेका थिए।
अभिषेक राजको जन्म वि.स. २०३४ सालमा बाँके जिल्लाकाे मध्यम वर्गीय परिवारमा भएको थियाे। उनका बुबा अजयराज सिंह बाँके जिल्लाकाे खेलकुद परिषद्माका शाखा अधिकृत थिए। अजयसिंह नेपालकाे राजपरिवारप्रति सहानुभूति राख्थे।
त्यसैले वि.स. २०६२ भदौ ८ गते तत्कालीन नेकपा माओवादीका दुई कार्यकर्ताले अजयराजलाई राजावादी भएको आरोप लगाउँदै गोली हानी हत्या गरे। बुबाकाे हत्याले अभिषेक निकै विक्षिप्त बने। उनकाे मानसिक अवस्था खलबलियाे। उक्त घटनाले उनलाई यतिसम्म बनायाे कि ती व्यक्तिहरूप्रति घृणा जाग्न थाल्याे। त्यसपछि उनले प्रतिशोधमा याेजनाबद्ध तरिकाले बाँकेकाे खजुराका १७ र १८ वर्षका दुई युवककाे गोली हानी हत्या गरे।
उनले बुबाकाे हत्याराहरूलाई मारिसकेका थिए तर पनि उनी शान्त हुन सकेनन्। अपराधकाे बाटाेमा लागिसकेका उनले पछाडि फर्किने मनसाय बनाएनन्। उनी लुटपाट, चाेरी, ठगी तथा हत्यामा संलग्न भइरहे।
अभिषेककाे अपराधको शैली निकै फिल्मी तरिकाकाे थियाे। उनले खजुरामा दुई युवककाे गोली हानी हत्या गरे अनि प्रहरीबाट बच्न भारत गएर बस्न थाले। द्वन्द्वकाल सकिएकाे दुई वर्षपछि वि.स. २०६४ सालमा उनी फेरि नेपाल आए। त्यसपछि उनले नाम परिवर्तन गरी देव शर्माको नाममा योगा सिकाउने, झारफुक गर्ने तथा तन्त्रमन्त्र गर्ने धन्दा सुरू गरे।
उनी पैसावाला व्यक्तिलाई साथी बनाउने र व्यापार व्यवसाय गर्ने भन्दै विभिन्न योजना बनाउने गर्थे। त्यहीबीचमा विभिन्न औषधिकाे प्रयोग गरी उक्त व्यक्तिको हत्या गर्ने र उसको सम्पत्ति हात पार्ने काम गर्दथे। उनले ती हत्या यसरी गर्थे सकेसम्म हत्यामा आफ्नो संलग्नता नदेखियाेस् भनेर कुनै प्रमाण छाड्दैन थिए। उनले यस्तै गतिविधि अपनाएर सात जनाको हत्या गरेका थिए।
वि.स. २०६७ सालमा अभिषेककाे भेट मदन विक्रम राणासँग भयाे, उनले मदनले जग्गा बेच्न लागेकाे थाहा पाए। त्यसपछि अभिषेकले मदनलाई इचंगुनारायणका निरप भनिने २७ वर्षीय नरबहादुर गोतामेसँग सम्पर्क गर्न सल्लाह दिए। त्याे जग्गाकाे काराेबारमा गोतामेसँग मिलेर आधा कमिसन खाने योजना उनकाे याेजना थियाे। तर, जग्गामा किचलो भएपछि गोतामेले आफूलाई बाइपास गरी सबै कमिसन आफैं लिने योजना बनाएको अभिषेकले थाहा पाए।
त्यसपछि अभिषेकले दीपेन्द्र भन्ने साथीसँग मिलेर गाेतामेलाई म्युजिक भिडियोमा खेलाइदिन्छु भन्दै पोखरा, नेपालगञ्ज हुँदै सुर्खेत लगे। अनि त्यहीँकाे एउटा लजमा लगेर हत्या गरे।
त्यसैगरी अभिषेकले वि.स. २०६९ साउन ७ गते बुद्ध भनिने जगतसिंह तामाङको पनि हत्या गरेका थिए। उनले जगतलाई व्यापारको प्रलोभनमा पारेर पैसा लिन भन्दै भारतको सिलिगुढी हुँदै लखनउ लगेर हत्या गरे।
अभिषेकले धेरै हत्या गरिसकेका थिए। यसबारे उनकाे घरका भान्छेलाई पनि थाहा थियाे। जब अभिषेकले यो कुरा थाहा पाए, सबै घटना लिक गर्न सक्ने भन्दै भान्छे सार्की तामाङलाई पनि लठ्याउने औषधि दिई इन्जेक्सन लगाएर हत्या गरेका थिए।
त्यसैगरी उनले लुमोस फार्मास्युटिकल्सका स्टोर म्यानेजर निरञ्जन पाण्डेलाई हेटौंडामा नागमणि खोज्न जाने भन्दै हेटौंडाको खोप्लाङमा लगेर हत्या गरे।
यतिमात्र नभई उनले नख्खु कारागारमा रहँदा कारागारमै रहेका अर्का व्यक्तिको नक्कली कागजपत्र बनाएर उनको जग्गा बेच्ने याेजना बनाए। जडिबुटीको मिश्रणबाट विष निकाले र परीक्षणका लागि साेही जेलका भक्तबहादुर सुनुवारकाे खानामा उक्त विष मिसाए। उक्त खाना खाएपछि अत्यधिक पेट दुखेर अस्पताल लगेको भक्तबहादुरकाे उपचारको क्रममा मृत्यु भयाे। अस्पतालले भक्तबहादुरकाे सामान्य बिरामीका कारण मृत्यु भएकाे भनेर घाेषणा गरेपनि मृतकका आफन्तलाई शंका गरेर गृह मन्त्रालयमा छानबिनको माग राखी उजुरी दिए।
साेही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गर्दा अभिषेक र उनका साथी मनोज चौरसिया मिलेर विष परीक्षण गर्दा उनको मृत्यु भएको खुलेको थियो। जेलमा रहेका व्यक्तिकाे हत्याअघि सन् २०७० सालमा उनी ६ हत्या अभियाेगमा नखु जेल चलान भएका थिए। अहिले पनि उनी कारागारमै छन्।