देश यतिबेला मध्यावधि चुनावको सामु ठिङ्ग उभिएको छ । मध्यावधि भन्ने बित्तिकै सामयिक हैन, असामयिक चुनाव हो । अर्को शव्दमा भन्दा, समय नपुग्दै आइलागेको आपतकालिन चुनाव । यस्तो चुनावका लागि न देश तयार हुन्छ, न जनता । तर, पनि बाध्यताले तयार हुनुपर्छ । नेपाल र नेपाली जनता पनि त्यसका लागि बिस्तारै तयार हुँदैछन् ।
नेपालको राजनीतिक जीवनमा आएको यो पहिलो हैन, दोस्रो मध्यावधि चुनाव हो । यसअघि २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर देशमा पहिलो पटक मध्यावधि चुनाव थोपरेका थिए । तत्कालिन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाको हठले ७४रे र ३६ से समूहमा कांग्रेस ध्रुवीकृत हुँदा थोपरिएको थियो त्यो मध्यावधि चुनाव । सामान्यत: यस्तो चुनावमा चुनाव थोपर्ने सत्तारूढ दल दण्डित हुन्छ, कांग्रेस पनि दण्डित भयो । सत्तारूढ दण्डित हुँदा पुरस्कृत हुने भनेको प्रमुख प्रतिपक्षी दल हो । त्यसबेलाको प्रमुख प्रतिपक्षी दल एमाले पुरस्कृत भएर पहिलोपटक सत्तामा पुग्यो ।
संसदको सबैभन्दा ठूलो दल भएकाले एकल बहुमत नहुँदानहुँदै पनि एमालेले अल्पमतको सरकार बनायो । प्रधानमन्त्री बनाइए, तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी । शालीन अधिकारीको काँधमा बन्दुक राखेर पड्काउने बन्दुक बोके, तत्कालीन गृहमन्त्री केपी ओलीले । सरकार छाड्नुपर्ने परिस्थिति सिर्जना भएपछि मध्यावधि चुनावको बन्दुक पड्काए । तर, सर्वोच्च अदालतले अल्पमतको सरकारले त्यसो गर्न नसक्ने भनेर रोकिदियो । त्यसविरुद्ध एमालेले सडक र सदनमा के के गर्योभन्दा पनि के के गरेन भन्नुपर्ने हुन्छ । अब, त्यो इतिहासको विषय भैसक्यो। सिफारिस गर्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी पनि यो संसारमा रहेनन् ।
त्यसयता एमालेले नै सत्तामा हुँदा दुईपटक संसद् विघटन गरेर देशलाई मध्यावधि चुनावतिर धकेल्यो । तर, दुबैपटक सर्वोच्च अदालतले संसद विघटन र मध्यावधि सिफारिस असंवैधानिक भन्दै बदर गरिदियो । ती दुबै नाकाम सिफारिस गर्ने तत्कालिन प्रधानमन्त्री थिए एमाले अध्यक्ष ओली जो अहिले पनि त्यही भूमिकामा छन् ।
यसपटकको मध्यावधि चुनावको चुरो कारण पनि उनै ओली हुन् । फरक यति हो, पहिले मध्यावधि चाहेर पनि थोपर्ने सकेनन्, यसपटक रोक्न चाहेर पनि सकेनन् । ओलीकै अत्याचार र हठका कारण भएको जेनजी आन्दोलनमा देशका ७६ निर्दोष नागरिकको ज्यान गयो । ओली सत्याच्यूत भएर अन्तरिक सरकार गठन भयो । सरकारले जेनजी आन्दोलनकारीको मागअनुसार संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरिदियो । ओली र उनको सत्तारूढ सहयात्री नेपाली कांग्रेसको तत्कालिन संस्थापन देउबा पक्ष संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका छन् । अहिलेसम्मको स्थिति हेर्दा त्यो मुद्दाको छिनोफानो हुनुअघि नै फागुन २१ मध्यावधि निर्वाचन भएर संसद पुनर्स्थापना नै असान्दर्भिक भैसकेको हुने छ ।
देशमा जेनजी आन्दोलन र आसन्न चुनावलाई हेर्ने दृष्टिकोणमा एक रूपता छैन । फरक खाले दृष्टिकोणका आधारमा आआफ्नो स्वार्थ र सुविधाअनुसारको भाष्य बनाउन मिडिया ट्रायल जारी छ । आन्दोलनकारीहरू भन्छन्, चुनाव जेनजी शहीदहरूको चिहानमाथि उभिएको फिनिक्स हो । यो नयाँ र पुरानाबीचको जनमत संग्रह हो । तर, ओली त्यो मान्न तयार छैनन् । उनी जेनजी आन्दोलनलाई देशी विदेशीहरूले आफूलाई घेराबन्दीमा पार्न गरेको षडयन्त्र भन्छन् र यो चुनावलाई देश जलाउने र देश बनाउने बीचको लडाइँ ठान्छन् । यस लडाइँमा उनी आफूलाई देश बनाउने कित्ताको नायक दाबी गर्छन् ।
यथार्थमा यी दुबै सत्य हैनन्, चुनावलाई आआफ्नो पक्षमा पार्न गरिएका अतिवादी दृष्टिकोण मात्र हुन् । नयाँमा पुराना मिसिएकाले न यो चुनाव नयाँ र पुरानाबीचको जनमत संग्रह भएको छ, न ओलीले दावी गरेजस्तै जेनजी आन्दोलन देशीविदेशी षडयन्त्रको उपज मात्रै हो । यो एक किसिमको ७६ जना निर्दोष नागरिकको चिहानमाथिको उभिएको जनमत सङ्ग्रह हो । नेपाली जनताले कुन रूपमा लिन्छन्, त्यसको परीक्षण हुन बाँकी छ । त्यसका लागि फागुन २१ को नतिजा पर्खनैपर्ने हुन्छ ।
जेनजी हत्याका मतियार देउवालाई काँग्रेसकै युवाले विशेष महाधिवेशन गरेर वैधानिक रूपले बेइज्जतपूर्ण किसिमले रिङआउट गरे । नेपाली काँग्रेसलाई कलंकको टीका लगाएर बदनाम बनाएका देउवा वास्तवमै यसरी निकालिनुपर्ने पात्र थिए । आफूलाई पाँचपटक प्रधानमन्त्री बनाउनकै लागि उनले कांग्रेस र तमाम कांग्रेजनमाथि जुन अपराध गरे, त्यसका सामु उनलाई दिइएको यो सजाय केही पनि हैन ।
तर, विडम्बना एमालेले ओलीलाई कुनै सजाय दिन सकेन । उल्टै महाधिवेशन नामको एक जम्बोरी आयोजना गरेर जम्मा भएका बहुमत एमाले प्रतिनिधिले ओली नै एमाले हो, एमाले नै ओली हो भनेर आरती उतार्दै तम् शरणम् गरे ।
एमाले पार्टीले पुरस्कृत गरे पनि झापा ५ उनलाई पुरस्कृत गर्ने मुडमा देखिदैन । सजाय दिनकै लागि फागुन २१ को उल्टो दिन गन्ती सुरु गर्दैछ जस्तो देखिएको छ । यस क्षेत्रमा कुन पार्टीको को उम्मेद्वार हो भन्दा पनि ओलीलाई हराउँन सक्ने उम्मद्वारको खोजी भइरहेको छ । सिङ्गो निर्वाचन क्षेत्रमै ओलीलाई केन्द्रमा राखेर कित्ताकाट छ, एकातिर ओलीका बचेखुचेका हाडखोर कार्यकर्ता र मतदाता छन् भने अर्कोतिर उनलाई हराउन चाहने सर्वसाधारण नागरिक ।
ओलीलाई हराउन चाहनेका लागि त्रुपको पत्ती भएर हाजिर छन्, बालेन शाह । देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको शक्तिशाली मेयरबाट राजीनामा दिएर दमक झरेका बालेनले केपी ओलीसँग उनकै क्षेत्रमा पञ्जा लडाउने निर्णय गरेका छन् । झट्ट हेर्दा यो एक दुस्साहस जस्तो देखिए पनि फागुन २१ नजिकिँदै गर्दा यसले एक साहसी निर्णयका रूपमा समर्थन पाउने छाँट देखाउँदै छ ।
यो छाँट बालेनले आकाशका तारा झार्लान् भन्दा पनि ओलीबाट मुक्ति देलान् भनेर हो । हुन पनि झापा ५ देशकै समस्याका रूपमा देखापरेका ओलीलाई हुर्काउने बढाउने कर्मका लागि अभिशप्त छ । अझ, यसपटक त उनले जेनजी हत्याराका रूपमा सिङ्गो क्षेत्रलाई नै कलङ्कित बनाइदिएका छन् । झापा ५ यसपटक त्यो कलंकको टीका पुछ्ने मुडमा देखिन्छ ।
त्यसको छनक पाइसकेका वचाल ओलीको बरबराहट पनि सुरु भैसकेको छ । बरबराउँदाबरबराउँदै उनले बालेनलाई चल्ला नकाढ्ने बतासे अण्डा र ठुटे सिङ भएको गोरु सम्म पनि भन्न भ्याइसकेका छन् । सार्वजनिक रूपमा खासै नबोल्ने बालेन बेला बेलामा सामाजिक सञ्जालमा बम पड्काउँछन् । बतासे अण्डा र सिंङ नभएको गोरू भन्ने ओलीविरूद्ध फेरि पनि बालेन बम नपड्कने भन्ने हुँदैन । कहिले भन्ने मात्र हो । पछिल्लोपटक ओलीसँग डिबेट नगर्ने भन्दै ओलीविरुद्ध पड्केको बालेन-बम त निर्वाचन आयोगमा उजुरीको विषय नै बनेको छ ।
अब एक क्षण यो चुनावका विशेषताको कुरा गरौं । मूलतः यो चुनाव पहिला जस्तै छ । जस्ता जनता, उस्तै नेता । अनि, त्यस्तै नेतामध्येको एक छान्ने चुनाव हो यो । यसअघि पनि देशले धेरै किसिमका राजनीतिक पद्धतिसँगै धेरै किसिमका चुनाव भोगिसक्यो । तर, जुन जुन तन्त्र आए पनि नेपालको चुनाव र यसले अंगाल्ने प्रवृत्तिमा खासै परिवर्तन आउन सकेको छैन ।
विश्वकै सबैभन्दा उम्दा राजनीतिक पद्धति मानिन्छ, बहुदलीय लोकतन्त्र । र, यही बहुदलीय लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो, आवधिक चुनाव । यो पद्धतिमा सामान्यतः दलहरू निश्चित समयका लागि निश्चित चुनावी एजेन्डा लिएर जनतामाझ जान्छन् र जनताले निश्चित समयका लागि कुनै एक दलको चुनावी एजेन्डालाई समर्थन गरेर जनमत दिन्छन् । उम्मेदवारहरू दलप्रति र दल जनताप्रति जबाफदेही हुन्छन् । चुनावी एजेन्डाप्रति प्रतिबद्ध भएर जनताप्रति जबाफदेही हुने दल एकपटक हैन, पटक पटक चुनिन्छन् । तर, जुन दल आफ्नो चुनावी एजेन्डामा खरो उत्रँदैन र जनताप्रति जबाफदेही हुँदैन, अर्को चुनावमा जनताको रोजाइमा पर्दैनन् ।
सामान्यतः लामो अभ्यास भैसकेको र उम्दा स्थितिमा रहेको लोकतन्त्रमा यस्तै किसिमको परिस्कृत चुनावी अभ्यास हुने गर्छ । तर, नेपालको लोकतन्त्र अझै पनि काँचो नै छ, अझ त्यसमा पनि गणतन्त्रपछिको लोकतन्त्र त अझै धेरै काँचो छ । चुनावकै कुरा गर्ने हो भने त यो गणतान्त्रिक लोकतन्त्रमा यसअघि दुईपटक मात्र यस खालको चुनावी अभ्यास भएको छ । अहिले हुन लागेको चुनाव तेस्रो मात्र हो ।
त्यसैले हामीले के स्वीकार गर्नुपर्छ भने अझै पनि हामीले अभ्यास गरेको चुनाव बहुदलीय लोकतन्त्रले अपेक्षा गरे जस्तो छैन । हाम्रा चुनावी एजेन्डा यथार्थको कसीमा जाँचिएका छैनन् । हाम्रा उम्मेदवारहरू नयाँ पद्धतिसँग अभ्यस्त भैसकेका छैनन् । जनता पनि आवधिक चुनावको मर्मसँग बानी परिसकेका छैनन् । साँचो मानेमा जनता मत दान गर्न मतदाता मात्र भएका छन्, जनार्दन हुनसकेका छैनन् ।
हाम्रो चुनाव मुद्दामा हुन सुरु भएकै छैन । अहिले पनि दल र अझ दलभन्दा पनि जाति, धर्म, लिङ्ग, वर्ग, क्षेत्रजस्ता लोकतन्त्रले किस्तामा नबुझ्ने विषयमा चुनाव भैरहेको छ । पद्धति गणतान्त्रिक लोकतन्त्र भइसके पनि अभ्यास भइरहेको चुनाव निर्दलीय पञ्चायती व्यवस्थाको व्यक्तिवादी चुनावभन्दा धेरै भिन्न छैन । त्यतिबेलाका कतिपय पञ्च र उनीहरूका वंशहरू वल्ला घरको नरे पल्ला घर सरे भनेजस्तै गरेर विभिन्न दलमा सरेर बहुदल बिटुल्याई मात्र रहेका छैनन्, उम्मेदवार नै भएर पटक पटक सत्ताको स्वाद पनि चाखिसकेका छन् ।
बहुदलीय व्यवस्था विरोधीका रूपमा निर्दलीय राजनीति गरेका उनीहरू अहिले पनि त्यही किसिमको अभ्यास गरिरहेका छन् । अहिले पनि चुनावमा मुद्दाभन्दा अरू नै विषय प्रमुख हुने र जसरी पनि चुनाव जित्नै पर्ने दलहरूको लिढेढिपीले गर्दा उनीहरूको भाउ घटेको छैन, बरू उल्टै बढेको छ । यस आलोकमा हेर्दा अहिलेको चुनाव पनि पहिलेको जस्तै छ ।
फरक भनेको, पहिला व्यक्ति चुनाव उठ्थ्यो, त्यसैले चुनावको हार जीत पनि सबै उसैको मात्र हुन्थ्यो । त्यसैले चुनाव महँगो थियो । अहिले दल चुनाव लड्ने भए पनि ढर्रा पहिलाकै भएकाले चुनाव थप महँगो भएको छ । एक किसिमले भन्ने हो भने चुनाव लगानी गर्ने सेयरबजार जस्तो र चुनाव जित्नेहरू नाफामा गएका सेयर खरिदकर्ता जस्ता भएका छन् । प्रस्तुत पृष्ठभूमीमा दल पनि पैसावाल उम्मेदवार नै खोजिरहेका छन् ।
सामान्यतः पैसा सिद्धान्तनिष्ठ नेता कार्यकर्तासँग हुँदैन । हुने त जो पञ्चायतकलादेखि नै चुनावी सेयरबजारमा सहभागी हुँदै आएका वा यसबीचमा थरिथरिका दुई नम्बरी गरेर पैसा थुपार्नेसँग नै हो । त्यसैले पनि चुनावमा सिद्धान्तनिष्ठ नेता कार्यकर्ता कम र पैसावाल लगानीकर्ता बढी उम्मेदवार बनाइँदै आएका छन् । परिणामत: यो एक फौबञ्जार भएको छ र भ्रष्ट्राचार संस्थागत हुँदा देश र लोकतन्त्र नै दुङदुङ गन्हाउन थालेको छ । त्यसले संघीय गणतन्त्र नै कुरी कुरीको विषय बनेको छ ।
यही पृष्ठभूमीमा भैरहेको छ, यसपटकको चुनाव पनि । तर, यसपटक लगभग हरेक नेपालीको हातमा स्मार्टफोन भनिने एउटा भ्रमछर्ने कारखाना छ । यसमा उत्पादित सामाजिक सञ्जालको अल्गोरिदममार्फत् मिसइन्फर्मेशन र डिस्इन्फर्मेशनको खेतीपाती भैरहेको छ । त्यसबाट उम्रिएको पपुलारिज्मले यसपटकको चुनाव धेरै प्रभावित हुने सम्भावना बढेको छ । यदि त्यसलाई मात्र आधार मान्ने हो भने नेपालमा यतिबेला नयाँ भनिएका बालेन, रवि, घण्टी, कुलमान र हर्क साम्पाङको पक्षमा चुनावी हावा बगिरहेको छ ।
यो एक किसिमको कर्कश ध्वनि प्रदूषण हो । तर, पनि यो आजको यथार्थ हो । यदि यो ‘ध्वनि प्रदूषण’ मतमा परिणत भयो भने नेपालमा नयाँहरूको डंका नबज्ला भन्न सकिन्न ।
त्यसो हुनका लागि पुराना दल भित्तामै पुग्नुपर्ने हुन्छ । त्यसमा पनि ओली र उनको ओमाले पार्टी त सबैभन्दा दण्डित हुनुपर्छ । त्यसपछि दण्डित हुने दलमा कांग्रेस र पहिलेको माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका घटकहरूको नयाँ भेरियन्ट नेकपा हुनुपर्छ । राजावादी दल राप्रपा र मधेसवादी पुराना दल पनि सोतर नै हुनुपर्छ ।
तर, अहिलेसम्मको चुनावी हावा नाप्दा त्यस्तो हुने छाँट देखिँदैन । जेनजीका नाममा जेलजीको पार्टी रास्वपाले उधुम नै मच्चाएछ भने पनि कांग्रेस, एमाले र रास्वपा १९–२० मात्रै हुने हुन् । नेकपा र मधेसवादी दलहरू केही खुम्चिए पनि लिलिपुट हुदैनन् । रास्वपा बढ्दा त्यसको सेप सबै पुराना दललाई केही न केही मात्रामा लाग्ने मात्र हो ।
अहिलेसम्मको चुनावी डाइनामिक्स हेर्ने हो भने कुनै पनि एक दललाई फागुन २१ ले बहुमत दिने गुञ्जायस छैन । नेपालले अंगिकार गरेको वर्तमान निर्वाचन प्रणालीले अहिले जस्तो अत्यन्तै ध्रुवीकृत जनमत भएको बेला त्यस्तो परिणाम दिनै सक्दैन । अझ, यसपटक त दुई ठूला दल मिल्दा पनि बहुमत नजुट्ने छाँट देखिदैछ ।
अहिले नयाँ र पुराना बीच कित्ताकाटको जबर्जस्त भाष्य बनाउन खोजिदैछ । तर, पछिल्लो राजनीतिक अप्टिक्स हेर्दा जनमत त्यसरी ध्रुवीकृत हुने सम्भावना देखिँदैन । नयाँ भनेर दाबी गर्ने रवि र उनको रास्वपा नै तीन वर्षमा पुरानाकै अन्डरवेयर भएर पटकपटक सत्तामा गएर जडौरी भैसकेको छ । पुरानामा टिकट र मौका नपाएका चरम अवसरवादीहरूले भरपुर टिकट पाएपछि रास्वपा नै पुरानाले टालिइसक्यो । २०७९ मा जस्तो न रविको चमक छ न घण्टीको आकर्षण । बालेनको उपस्थितिले अर्को रालो पाएर घण्टी बज्नेसम्म चाहिँ भएकै छ ।
चुनावले व्यवस्थापिका मात्र दिने हैन, सरकार पनि दिने हो । सरकार बनाउन बहुमत चाहिने भएकाले यसपटक पनि सरकार बनाउन सहज हुने छैन । पहिलो दलले सरकार बनाउने, दोस्रो दल प्रमुख प्रतिपक्षमा बस्ने र अन्य दलले पहिलो दललाई सरकार बाहिर बसेर वा भित्रै बसे पनि आल्नो अंकगणितीय हैसियत लिएर सरकारमा सहभागिता जनाउने कुरा आदर्श अभ्यास हुन सक्छ । तर, पद नै सबैथोक भैसकेको नेपालमा त्यस्तो आदर्श अभ्यास न हिजो थियो, न फागुन २१ पछि नै हुने देखिन्छ । त्यसैले सरकार बनाउने बेलामा चुनावपछिको गठबन्धनको नाममा फेरि पनि आलोपालो र भागबन्डा नहोला भन्न सकिन्न ।
यसरी हेर्दा यो चुनावले राजनीतिक वैधता दिएर संविधानलाई पुरानै लिकमा ल्याउन सहयोग गरे पनि देशको राजनीतिक समस्या समाधान गर्ने सम्भावना देखिँदैन । मूल कुरो सुशासन र भ्रष्टाचार निवारण हो । अनुहार फेरिँदैमा नियत र पात्र फेरिँदैमा प्रवृत्ति नफेरिने हाम्रो जस्तो समाजमा यसपटकको चुनावले दिने परिणामले ती दुवै मुद्दा सम्बोधन हुन कठिन मात्र हैन, लगभग असम्भव नै छ । पुराना त पुरानै भइहाले, नयाँ भनिएकाको मसिहा रविमाथि नै ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता संगीन फौजदारी मुद्दा छन् । र, उनको पार्टी रास्वपा पूरै उनै दागी रविलाई जोगाउन ज्यान फालेर लागेको छ ।
कामना गरौँ, यो चुनाव समकालिन नेपाली जनमत प्रदर्शन गर्ने लोकतान्त्रिक उत्सव बनोस् । जनता स्वयं जनार्दन भएर हाम्रालाई हैन, राम्रालाई छानुन् । चुनाव आगामी पाँच वर्षका लागि हो भन्ने हेक्का सबैलाई होस् । त्यस्तो भयो भने भने मात्र मुलुकको राजनीतिले बाटो र गन्तव्य पाउँन सक्छ । आगे, जनता जनार्दन ।
(दृष्टि साप्ताहिकको नियमित स्तम्भ 'बिलोम' मा प्रकाशित यो आलेख स्तम्भकारको अनुमति लिएर नयाँ शीर्षकमा प्रकाशित गरिएको छ : सम्पादक)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया