बिएल संवाददाता
आफूलाई पत्रकार भन्दै सञ्चारमाध्यमको नाममा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गतिविधि झापामा बढ्न थालेपछि नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर चासो व्यक्त गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हल्दीबारी गाउँपालिका–१ का स्थायी बासिन्दा नितेश ओली नामका व्यक्तिले विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेको भन्दै उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ।
ओलीले केही अनलाइन तथा सञ्चार संस्थाको नाम प्रयोग गर्दै समाचार प्रकाशन वा प्रसारणको त्रास देखाएर आर्थिक लाभ लिन खोजेको आरोप लागेको महासंघले जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ओलीले आफू विभिन्न मिडियामा कार्यरत रहेको विवरण प्रस्तुत गर्दै केही सञ्चारगृहको नाममा रकम मागेको र त्यसबारे सम्बन्धित सञ्चार संस्थाहरूबाट समेत गुनासो प्राप्त भएको छ। सञ्चारमाध्यमको प्रतिष्ठा र पत्रकारिताको विश्वसनीयतामाथि आँच पुग्ने गरी यस्ता गतिविधि भएको भन्दै महासंघले ती कार्यको कडा शब्दमा निन्दा गरेको छ।
महासंघले पत्रकारिताको आवरणमा कसैलाई धम्की दिने, अनुचित आर्थिक लाभ लिन खोज्ने वा रकम असुल्ने प्रयास गर्ने कार्य गैरकानुनी र आपत्तिजनक भएको स्पष्ट पारेको छ। यस्ता घटनाबाट सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले सम्बन्धित निकायमा उजुरी गरी कानुनी प्रक्रिया अगाडि बढाउन पीडित पक्षलाई आग्रह गरिएको छ।
पत्रकार महासंघ झापाले सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गर्ने व्यक्तिहरूलाई पत्रकारिताको नाममा कुनै पनि गलत गतिविधि नगर्न चेतावनी दिएको छ। साथै, पत्रकारिताको मर्यादा, आचारसंहिता र विश्वसनीयतामाथि प्रहार गर्ने जोसुकै व्यक्तिविरुद्ध अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
महासंघका सचिव राजु पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, पत्रकारिताको नाममा हुने ठगी, धम्की र आर्थिक चलखेलप्रति सचेत रहन उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई समेत अपिल गरिएको छ। महासंघले सञ्चार क्षेत्रको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया