उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

फाइल तस्विर
फाइल तस्विर

निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्वाचन सम्पन्न भएको जनाएको छ।

शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो।

आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ।

त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्क सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ।

आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्टी हुने क्रम जारी रहेको छ भने मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेका छन्।

त्यस्तै हालसम्मको विवरणअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि वि.सं. २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलामको सोही निर्वाचन क्षेत्रमा ५९ दशमलव ७८ प्रतिशत र बझाङको सोही क्षेत्रमा ५२ दशमलब ९८ प्रतिशत मतदान भएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2024-04-27 22:02:00

प्रतिकृया दिनुहोस्