भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

मिनु गोले

काठमाडौँ

आइतबार (चैत ११ गते)। १२ बजे। वीर अस्पतालको एउटा छेउ। १५–२० जना, एउटा पर्खाइमा थिए। कतिखेर १ बज्छ र बिरामी भेट्न पाउने हो। त्यो पनि आइसियुमा उपचाररत बिरामीलाई भेट्नका लागि।

त्यस्तै पर्खामाइ छिन्, रामेछाप मन्थलीकी शोभा श्रेष्ठ। उनकी ७० वर्षीया आमा लक्ष्मी श्रेष्ठको २५ दिनदेखि आइसियुमा उपचार भइरहेको छ। 

लक्ष्मीलाई कलेजोमा समस्या देखिएपछि आइसियुमा राखिएको छ। आइसियु बेडको खर्च ८ सय तिर्नुपर्छ। तर आइसियु र अन्य खर्च गरी दिनमा शोभाले ५ हजारदेखि ७ हजारसम्म खर्च गर्नुपर्छ। 

उनले जसोतसो यो खर्च बेहोरिरहेकी छिन्। तर उनले २५ दिनसम्म आमाको हेरचाह गर्दा वीरमा अनेक दुःख देखेकी छिन्। 

अघिल्लो दिन शनिबार मात्र अस्पतालले बिरामी फर्काएको नमिठो दृष्य देखिन्। उपचार गराउन अस्पतालमा आएका बिरामी फर्काउँदा दुःख लाग्ने नै भयो। त्यसमा पनि अस्पतालले गम्भीर अवस्थाको बिरामीलाई उपचार नगरी फर्कायो।

किनकि अस्पतालमा बिरामी राख्नका लागि आइसियु थिएन। भएका बेडमा बिरामी भरिएका थिए। उनी भन्छिन्, ‘बिरामीको अवस्था निकै गम्भीर थियो। तर बिचरा बेड नभएर फर्किनु पर्यो। कहाँबाट आएका हुन् कुन्नि।’

आइतबार बिएलकर्मी वीर अस्पतालको आइसियु कक्ष पुग्दा कुनै पनि आइसियु बेड खाली थिएन। अर्थात चालु अवस्थामा रहेका आइसियु बेडमा बिरामी भरिएका थिए। 

जहाँ २५ वटा आइसियुमा बिरामी थिए। हुन त वीर अस्पतालसँग २५ वटा मात्र आइसियु बेड कहाँ होर? भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार हुने गरी अस्पतालमा सरकारले आइसियु बेड व्यवस्था गरेको छ।

तर चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

सर्जिक आइसियु १८ बेडमा १० बेड बन्द गरेर ८ वटा मात्र चलाइएको छ। न्यूरो आइसियु ९ वटा छन्। जसमा ५ वटा बन्द छन् भने ४ वटा चालु अवस्थामा छ। 

ग्यास्ट्रो/हेपाटो आइसियु ११ वटा छन्। यी सबै बन्द छन्। ढोकामा ताल्चा लगाइएको छ। सिसियु ९ बेडमा ५ वटा बन्द छन् भने ४ वटा मात्र चालु अवस्थामा छ। कार्डियोलोजी बेड १८ वटा छन्। जसमा ९ वटा बन्द र ९ वटा चालु अवस्थामा छ।

स्वास्थ्यमन्त्रीले नै बन्द गराए आइसियु

वीर अस्पताल देशकै जेठो र ठुलो सरकारी अस्पताल हो। यहाँ सरकारले ताेकेकाे शुल्कमा उपचार गरिन्छ। त्यसैले गर्दा यस अस्पताल निम्न वर्गीय नागरिकको भरोसाको केन्द्र पनि हो। 

तर यही निम्न वर्गीय नागरिकको भरोसाको केन्द्र रहेको वीर अस्पतालाई धरासायी बनाउने गरी तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निर्णय गर्दा हाल आइसियु बन्द भएको छ। 

उनको निर्देशनमा अस्पतालमा करारमा रहेका २७६ जना नर्स निकालिएका थिए। उनीहरू कोभिडको समयमा करारमा नियुक्त भएका थिए। र मन्त्रीमा काँग्रेसका सांसदसमेत रहेको बस्न आएपछि तलब खुवाउन समस्या भएको भन्दै उनीहरूलाई निकालिएको थियो। 

नर्सहरू निकालिदा हाल सबै आइसियु सञ्चालन गर्न नसकिएको वीर अस्पतालका सूचना अधिकारी बाबुराम घिमिरेले बताए। वीरमा आइसियु बन्द हुँदा नागरिक बाहिरी अस्पतालमा महंगोमा पैसा तिरेर उपचार गर्न बाध्य छन्। 


घिमिरेसँगको कुराकानी–

वीरमा ३ सय देखि १५ सयसम्म दैनिक आइसियुमा उपचार हुनेमा बाहिरी अस्पतालमा यसको दोब्बर शुल्क लाग्ने गर्छ। बन्द भएका आइसियु सञ्चालनमा ल्याउने विषयमा अस्पताल बेखर जस्तै छ। 

सरकारले नर्स पठाएमा आइसियु चलाउने सोचमा रहेको वीरले कहिले सरकारले नर्स पठाउने हो कुनै टुंगो छैन। लोकसेवाबाट जनशक्तिको माग गरिएको बताउँदै सूचना अधिकारी घिमिरेले उनीहरू कहिले आउँछन् भन्नेमा जानकार नरहेको बताए। 

‘मन्त्रालयले कारारमा भएका चिकित्सकहरू हटाएपछि केही आइसियु बेडहरू बन्द भएको हो,’ उनी भन्छन्, ‘कहिले चिकित्सकहरू आउने हुन् कुनै थाहा छैन। साउन–भदौसम्म आउँछन् कि!’ 

स्वास्थ्य मन्त्रालय भन्छ– अस्पतालले लापर्वाही गर्यो

स्वास्थ्य मन्त्रालयले जनशक्ति नपाएका कारण आइसियु बन्द भएको वीर अस्पतालका पदाधिकारी भनिरहँदा मन्त्रालय भने अस्पताललाई नै दोष देख्छ। जनशक्ति कमी भएको भन्दै आइसियु नचलाउनु अस्पतालको लापर्वाही रहेको स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन्। 

उनले अस्पतालले कुनै प्रकृयामा नअपनाउने गरेको बताए। वीर अस्पतालका निर्देशकले अस्पतालमा समस्या भयो भनेर एउटा चिठिसमेत मन्त्रालयलाई नपाठाएको बुढाथोकीले बताए। 

‘वीरका मानिसहरू विस्तृतरुपमा सिस्टम (प्रकृया)मा काम गर्दैनन्। त्यहाँ निर्देशक ज्यू डाक्टरहरू हामीलाई यो–यो सेवाहरूको समस्या भयो भनेर एउटा चिठी लेखेर मन्त्रलायमा आउनुपर्याे,’ डा. बुढाथोकीले भने, ‘मन्त्रीलाई भेट्नु पर्याे, सचिवलाई भेट्नु पर्याे। समस्या भन्नुपर्याे।’ 

 

प्रकाशित मिति: : 2024-03-28 18:40:00

प्रतिकृया दिनुहोस्