कोरोनाकालमा ‘ज्यान थापेका’ डाक्टर–नर्सलाई पैसा नदिएरै निकाल्यो सरकारले

मिनु गोले

काठमाडौं

वीर अस्पतालले कामबाट हटाएपछि सडक आन्दोलनमा छिन्, स्वास्थ्यकर्मी दिपिका केसी। कहिले वीर अस्पताल बाहिर उभिएर आन्दोलन गर्छिन्। कहिले सबैले न्याय माग्ने ठाउँ माइतीघरको सकडमा आएर आफ्नो व्यथा सुनाउँछिन्। 

साँढे दुई बर्षअघि, जतिबेला अस्पतालबाट स्वास्थ्यकर्मी जागिर छाड्ने अवस्थामा थिए। मान्छेले मान्छेलाई छुन त के, नजिक हुने अवस्थामा थिएन

किनकी विश्वभर महामारीको रुप लिएको कोभिड–१९ फैलिएको थियो। अस्पतालमा उपचार गर्न स्वास्थ्यकर्मी अभाव थियो। त्यसपछि सरकारले करारमा स्वास्थ्यकर्मी माग्यो। 

सबै कोठाभित्र थुनिरहेको अवस्थामा देशका नागरिकको रक्षार्थ दिपिका भने वीर अस्पतालमा नियुक्त भइन्। कोभिडका बिरामीलाई उपचार गरिन्। 

१२ घण्टा मास्क लगाएर अनुहारभरी डाम हुँदा पनि बिरामीको सेवार्थ खटिरहिन्। 

तर महामारीको संक्रमणकालीन अवस्थामा सेवा गरेका उनै दिपिकालाई अहिले सरकारले अस्पतालबाट निकालेको छ। त्यो पनि तीन महिनादेखि तबल नदिएर। 

आठ घण्टा बढी काम गरेपछि ओभर टाइमको पैसा पाइन्छ। दिपिकाले सधैं ओभरटाइम काम गरिन्, अहिले सरकारले त्यो पनि दिएको छैन।

उनलाई अस्पतालले निकालेकोमा ठुलो गुनासो छैन। तर आफ्नो दुःखको कुनै मुल्यांकन नगरि, तीन महिनाको तलब नदिएकोप्रति भने उनी गुनासो गर्छिन्। 

‘हामी करारमा नियुक्त भएको हो। ठिक छ करार सकिएपछि निस्कन तयार छौँ,’ उनले भनिन्, ‘तर हाम्रो दुःखको तीन महिना तलब खोइ? ओभर टाइम गरेको भत्ता खोइ?’

दसैंको मुखमा तलब, न चाडपर्व खर्च, केही नदिएर अस्पतालबाट रित्तो हात निकालिएपछि आन्दोलन गर्नु परेको उनी बताउँछिन्। ‘तलब पाएका छैनौँ। दशै खर्च पनि पाएनौँ। ओटी पनि त हामीलाई चाहियो नि,’उनले भनिन्।

दिपिकाले कोभिड सकिएको वर्षदिनसम्म करार सम्झौता खारेज नगरेर एक्कासी कुनै सुचनाविना हटाएको गुनासो गर्छिन्। ‘हामीलाई हटाउन पूर्व सूचना पनि दिइएन। आज आएर एक्कासी हटाइयो। त्यो पनि दुःख गरी काम गरेको पैसा नदिएर। त्यसैले आन्दोलन गर्नुपरेको हो,’ उनले भनिन्। 

वीर अस्पतालबाट निकालिनेमा दिपिका एक होइनिन्। कोभिडमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेका २७६ जना नर्स–डाक्टरलाई सरकारले हटाएको छ। 

उनीहरुले तीन महिनादेखि तलब पाएका छैनन्। ‘सरकारले चिकित्सक, नर्स, ल्याब टेक्निसियन लगायत करारमा नियुक्त गरेको थियो। लामो समयसम्म तलबको कुरै नगरेर काम गरियो। आज तलब आउला, भोलि आउला भनेर कुरेको पनि तीन महिना बित्यो। अहिले त्यही पैसा पनि नदिएर हामीलाई हटाइयो,’ एक स्वास्थ्यकर्मीले भनिन्। 

अस्पतालको सेवा प्रभावित
वीरबाट २७६ जना स्वास्थ्यकर्मीलाई हटाइएपछि अहिले वीरमा स्वास्थ्य सेवा प्रभावित भएको छ। देशकै ठुलो सरकारी अस्पताल वीरमा यसै पनि बिरामीको चाप हुने गर्छ। 

२७६ जना स्वास्थ्यकर्मी हटाइएपछि मिर्गौला प्रत्यारोपन, सर्जरी, ल्याब सेवा प्रभावित भएको छ। काम बाँडफाड भएर सेवा गरिरहेकालाई हटाएपछि स्वभाविकैले अस्पतालमा सेवा प्रवाहमा केही समस्या भइरहेको अस्पतलका निर्देशक सन्तोष पौडेलले बिएल नेपाली सेवालाई बताए। 

तलबका विषयमा के भन्छ अस्पताल?
सरकाले पैसा नदिएपछि २७६ जनालाई तलब खुवाउन नसकिएको अवस्पतालले जनाएको छ। 
वीर अवस्पताल स्वयमले करारका सबैलाई तलब खुवाउन नसक्ने र सरकारले पैसा नदिएपछि तलब दिन नसकिएको वीर अस्पतालका पूर्व सूचना अधिकारी डा. सगार मिश्रले बताए।

कारार कर्मचारीको तलब प्राप्तिका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म धाइरहेको भएपनि पैसा उपलब्धन नभएको उनको भनाइ छ। 

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि तलब खुवाउन पैसा नभएकाले उनीहरुलाई सेवाबाट हटाइएको बताए। 

उनले स्वास्थ्यकर्मी हटाए पनि वीरमा सेवा प्रभावित नभएको जिकिर गरे। मिडियामा आएको जस्तो सेवा प्रभावित नभएको र यदि सेवा प्रभावित भए तुरुन्त कर्मचारी थपिने मंगलबार एक कार्यक्रममा उनले बताए। 

एकतर्फ भएका स्वास्थ्यकर्मी हटाउने र अर्कोतर्फ सेवा प्रभावित भए पुनः थपिन सकिने सरकारको भनाइमा नियत देखिन्छ। बस्नेतले वीरमा धेरै भएका स्वास्थ्यकर्मीलाई हटाएको जिकिर पनि गरे। 


 

प्रकाशित मिति: : 2023-10-10 22:13:00

प्रतिकृया दिनुहोस्