शनिबार, १५ नोभेम्बर २०२५

काँग्रेसमा नयाँ पुस्ता: तत्काल नीति र नेतृत्व परिवर्तन गर्न दबाब

News Image
• • •

नेपाली काँग्रेसको नीति र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग गर्दै नेपाली काँग्रेसका नवपुस्ताले पार्टीलाई सुझावसहितको ज्ञापनपत्र बुझाउने भएको छ।

जेनजी आन्दोलनपछि पार्टी पुन:संरचनाको बहस तीब्र भइरहेका बेला नेपाली काँग्रेस भने महाधिवेशन कहिले गर्ने भन्ने विवादमै अलमलिएको छ। पार्टीभित्रको यो अलमल र अन्योलको निकासका लागि काँग्रेसका युवा समूहले तत्काल महाधिवेशन गर्न र नेतृत्व परिवर्तनसहितको खाका तयार पारेर पार्टीलाई बुझाउन लागेको हो।

शनिबार काठमाडौंमा प्रदीप गिरि इन्स्टिच्यूटको अगुवाईमा भएको नवपुस्ताको एउटा भेलाले ‘द आइडिया अफ काँग्रेस’बारे ब्यापक छलफल र विमर्श गरेका थिए। भेलापछि इन्स्टिच्यूटले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार उक्त भेला विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नवपुस्ताहरूको सहभागिता रहेको थियो। 

‘नवपुस्ताको भावनाअनुसार आगामी दिनमा नेपाली कांग्रेस कस्तो हुनुपर्छ अनि कस्तो बाटो समाउनुपर्छ भन्नेबारेमा अहिले अनेकन कोणहरूबाट बहस भइरहेका छन्। यसै सन्दर्भमा कांग्रेसको पार्टीगत संरचना वा सक्रिय राजनीतिमा नरहेका तर लोकतन्त्रमा विश्वास राख्ने शुभेच्छुक/समर्थकहरू एकीकृत भई कांग्रेसलाई दिशानिर्दिष्ट गर्न विचार भेलामार्फत पहलकदमी लिएका छन्। जहाँ नेपालमै रहेर विभिन्न व्यवसायिक क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका युवा तथा नवयुवाहरू सहभागी रहे’ विज्ञप्तिमा भनिएको छ।

विचार भेलामा खासगरी नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्ने निर्णय प्रक्रिया, पार्टी संरचना, चुनावी टिकट वितरण प्रक्रिया, पार्टीको नेतृत्व मोडल, भ्रातृ संघ-संगठनहरूको व्यवस्थापन तथा परिचालनलगायत नेपाली कांग्रेसका राजनीतिक एजेण्डाहरूका बारेमा व्यापक विमर्श भएको थियो।

विचार भेलामा सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको प्रतिनिधित्व गर्ने करिब एक सयको संख्यामा युवा तथा नवयुवा प्रतिनिधिहरूले उत्साहजनकरूपमा भाग लिएका थिए। सहभागीहरूले मुख्यतया तत्कालै महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व परिवर्तन र नीतिगत सुधारमा जोड दिएका छन्।

‘प्रदीप गिरि इन्स्टिच्यूटको अग्रसरतामा भएको यो विचार भेलाबाट आएका सल्लाह, सुझावहरूलाई समेटेर घोषणा पत्र तयार गरिनेछ। जुन आउँदो सोमबार नेपाली कांग्रेस केन्द्रीय समितिलाई बुझाइने भएको छ’ विज्ञप्तिमा भनिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!