नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याएको छ।
साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई यती एयरलाइन्सको विमानबाट काठमाडौँ ल्याएको हाे।
पूर्वसमाभुखसमेत रहेका उनलाई काठमाडौं ल्याइएसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा लगिँदैछ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदनमा आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियाे।
उनीमाथि इलेक्ट्रिक चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्नता भएकाे आराेप छ।
आइतबार मात्रै गृहमन्त्री लामिछानेले सुन प्रकरणमा मुछिएका महरासहित सबै जनामाथि तत्काल कारबाहीकाे प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। लगत्तै उनलाई आज बिहान पक्राउ गरिएकाे हाे।