‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भनेझैं जनता भगवान हुन्’ आफ्ना स्वर्गीय पति एंव ‘जननेता’ मदन भण्डारीका शब्दहरू सापटी लिँदै एउटा समारोहमा पूर्वराष्ट्रपति विद्या भण्डारीले भनिन् ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा मलाई गर्व छ। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन।’
त्यो बेलासम्म अर्थात् भण्डारी बोल्ने पालो आउँदासम्म प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रमबाट निस्किसकेका थिए। साँझपख स्पेन उड्नका लागि उनी अलि हतारोमा थिए।
शनिबार मदन भण्डारी फाउन्डेशनले ‘जबव’को सान्दर्भिकताबारे एउट बहस आयोजना गरेको थियो। यो मदनको ७४औं जन्म दिनको अवसर पनि थियो। त्यही समारोहमा आफ्ना पति मदन भण्डारीका राजनीतिक योगदानहरूको लामो गुनगान गाउँदै पूर्व राष्ट्रपति भण्डारीले अब सक्रिय राजनीतिक जीवनमा फर्किएको घोषणा गरिन्।
अब उनले फेरि एमालेमा राजनीतिक यात्रा सुरु गर्नेछिन्। यो उनी राष्ट्रपति भएको दश वर्ष र अवकाशको २ वर्षपछि उनले यस्तो घोषणा गरेकी हुन्।
भण्डारी फेरि राजनीतिमा फर्किने भन्ने चर्चाहरू यसअघि पनि भइरहेका थिए। उनी पनि पार्टीका कार्यक्रमहरूमा सहभागी हुँदै आएकी थिइन्। केही समयअघि उनी चीन भ्रमण गएकी थिइन्। त्यहाँ उनलाई चीन सरकारले ‘राष्ट्र प्रमुख’कै हैसियतमा सम्मान दियो। त्यसपछि फर्किएर उनी फेरि एमालेकै कार्यक्रममा झापा पुगेकी थिइन्।
२०७२ साल कात्तिकमा उनी पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। पदीय जिम्मेवारीका हिसाबमा उनी त्यो बेला नेकपा एमालेको उपाध्यक्ष थिइन्। राष्ट्रपति एक संवैधानिक पद हो। राष्ट्र प्रमुखका हैसियतमा निर्वाचित भइसकेपछि उनले पार्टी सदस्यता त्यागेकी थिइन्। त्यसपछि उनी फेरि राष्ट्रपति चुनिइन्। पहिलो कार्यकाल दुई वर्षको थियो। दोस्रो कार्यकाल पूरै पाँच वर्ष बिताइन्।
‘वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरेकी थिएँ। फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले मैले पार्टी सदस्यता नवीकरण गरेकी छु’ शनिबार आयोजित कार्यक्रममा भण्डारीले भनेकी छिन् ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा मलाई गर्व छ। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन।’
उनले यो घोषणा गर्दैगर्दा हलभरि हुटिङ भयो। ताली र सिठ्ठीले एकछिनसम्म हल पूरै गुञ्जिएको थियो। त्यसपछि पनि कार्यकर्ताहरूले विद्या भण्डारीको पक्षमा नारा लगाउन थाले। उनी बोल्नुभन्दा अघि नै ओलीले भने आफ्ना भनाइहरू राखिसकेका थिए।
भण्डारीको यो घोषणा अपेक्षित नै थियो। तर एमालेभित्र भने अहिले राजनीतिक तरंग उत्पन्न भएको कतिपयले भण्डारीलाई पार्टीको भावी अध्यक्षका रुपमा पनि हेरेका छन्। यसअघि नै अध्यक्ष ओलीले पनि अप्रत्यक्षरुपमा विद्या भण्डारीको राजनीतिक ‘महत्वकांक्षा’माथि व्यङ्ग्य र कटाक्ष गर्दै आएका छन्। भण्डारी र ओलीबीच दूरी बढिरहेको भन्ने हल्लाहरूका बीच केही दिनअघि उनीहरू दुबैले भेटघाट गरेका थिए।
शनिबार एउटै कार्यक्रममा रहेका ओलीले पनि विद्यालाई जोडेर एमालेका बारेमा चलाइएका हल्लाहरूको खण्डन गरे।
‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन्’ उनले भने ‘मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ। एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम?’
ओलीले एमालेभित्र बम पड्किन्छ र ध्वस्त हुन्छ भन्ने हल्लाहरू पार्टी विरोधीहरूले फैलाएको पनि बताए। यसअघि उनले विद्या भण्डारीलाई लक्षित गरेर ‘केही स्वार्थी’हरूले पार्टीको अधिवेशन माग गरिरहेको भनेका थिए।
‘कुनै बमबारुद पड्किनेवाला छैन। आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ’ शनिबारको कार्यक्रममा विद्या भण्डारीका अघि उनले भने।
भण्डारीको यो पुनरागमनबारे एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने सहज टिप्पणी गरे। सोही कार्यक्रममा बोल्दै उनले भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको पनि प्रष्ट पारे। बरु पार्टीमा जिम्मेवारी भने छलफल र बहसबाट टुङ्गिने उनको भनाइ थियो।
‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो। राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ। कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ’ पोखरेलले भनेका छन्।