कर्मचारीहरूको बनभोज: सिडिओकै रोहबरमा सरकारी गाडीको ‘दुरुपयोग’

बिएल संवाददाता

अर्घाखाँची
Breaknlinks
Breaknlinks

अर्घाको मसुरीचौरमा शनिबार सरकारी गाडीको लावालश्कर थियो, सँगै कर्मचारीहरू चउरभरि खचाखच। सधैंजस्तो गाईवस्तु चर्ने र केटाकेटी उफ्रिने मसुरीचौरमा उनीहरुका लागि मिठा-मिठा परिकारहरु पाकिरहेका थिए। कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बनभोज कार्यक्रमले मसुरीचौरको माहोल नै रोमाञ्चित थियो।

शनिबारको दिन नै भएपनि कर्मचारीहरु सरकारी गाडी लिएर भटाभट यहाँ पुगेका थिए। सरकारी गाडीमा मान्छेसँगै बनभोजका लागि चाहिने दाउरा पनि भरिएका थिए।

कानुनत: सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन। कुनै आपतकालीन अवस्थामा चलाउनै पर्ने भए प्रमुख जिल्ला अधिकारी अर्थात् प्रशासनबाट अनुमति लिनुपर्छ। तर, यहाँ आएका करिब दुई दर्जन बढी गाडीले सार्वजनिक बिदाको दिनको लागि भनेर प्रशासनबाट अनुमति लिएका थिएनन्।

सार्वजनिक बिदामा अनुमतिबेगर सरकारी गाडी चलाएको पाइएमा कारबाही गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीलाई हुन्छ। तर, सरकारी सवारीको यो भीडमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालकै गाडी पनि थियो, उनी पनि थिए।

सम्बन्ध बिस्तार तथा सुदृढीकरणका लागि कर्मचारीहरु आफैँले रकम संकलन गरेर आयोजना गरेको बनभोजमा ३० वटाभन्दा बढी सरकारी सवारी साधन प्रयोग गरिएको थियो।

बनभोजका लागि त्यो चौरमा थुप्रिएका सरकारी सवारीमध्ये सात कार्यालयका सात सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी नुमलाल पन्थीले जानकारी दिए।

उनकाअनुसार पुस २१ गते (शनिबार) सवारी चलाउनका लागि विशेष नापी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सालझण्डी-ढोरपाटन सडक निर्माण कार्यालय, जिल्ला प्रशासन कार्यालय र एग्रो फरेष्ट्री मथुराले एक-एक वटा तथा सन्धिखर्क नगरपालिकाले दुई वटा गरी कूल आठ वटा सरकारी सवारी साधनले सञ्चालनको लागि अनुमति लिएका थिए।

प्रमुख जिल्ला अधिकारी ढकाल आफैँ पनि सरकारी गाडीमा ‘भोज’ खान पुगेका थिए।

बनभोजमा जिल्लाका सम्पूर्ण प्रमुख सरकारी कार्यालयका प्रमुखहरु तथा कर्मचारीहरु सहभागी थिए, उनीहरुले सार्वजनिक बिदाको दिन प्रशासनको अनुमतिबेगर सरकारी सवारी साधान प्रयोग गर्नु दण्डनीय हो भन्ने समेत हेक्का राखेनन्।

अझै कर्मचारीमात्र होइन, बनभोजमा नेपाल पत्रकार महासंघ शाखा अर्घाखाँचीका अध्यक्षसहित पत्रकाहरुको टोली पनि सहमागी थियो तर त्यो टोली पनि रमझम मस्त भयो। सार्वजनिक सम्पत्ति दुरुपयोगबारे सोच्नसमेत भ्याएन।

खबरदारी गर्नेमाथि प्रहरी परिचालन

प्रमुख जिल्ला अधिकारीकै संलग्नतामा त्यो पनि बनभोजका लागि सरकारी सवारी साधन दुरुपयोग भएको सूचनापछि स्थानीय पत्रकार गुरुदेव खनाल रिपोर्टिङ गरेका थिए।

सरकारी सवारी साधान दुरुपयोगबारे खनालले भिडियो सार्वजनिक गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी प्रतीतसिंह राठौरले उनलाई समात्न भन्दै राति नै घरमा प्रहरी पठाएका थिए।

शनिबार राति डिएसपी राठौरको निर्देशनमा इलाका प्रहरी कार्यालय ढाकावाङका प्रमुख असई लक्ष्मण उपाध्यायसहितको टोली खनालको घरमा पुगेको थियो।

असई उपाध्यायले डिएसपीको निर्देशनमा आफू गएको बताएका छन्। उनले भने, ‘हो सर, हामी राति ८ बजेतिर उहाँको घरमा गएका थियौँ, हामीलाई गुरुदेव भन्ने मान्छेलाई खोजेर ल्याउनु भनेर डिएसपीसापले खटाउनु भएको थियो।’

घरमा पुग्दा खनाल नभेटिएको र आमासँग खनालबारे सोधपुछ गरेर फर्किएको असई उपाध्यले बताए।

खनालले भने सुराकी पाएपछि आफू घरबाट भागेको बताएका छन्। ‘डिएसपीले त्यसलाई बोरामा हालेर ल्याइजा भनेर मेरो घरमा प्रहरी पठाउँदैछन् भन्ने सूचना मलाई प्राप्त भयो अनि म भागेँ’, उनले भनेका छन्।

डिएसपी राठौरले भने आफ्नो बचाऊ गरेका छन्। बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भने, ‘खै सर, यसबारे मलाई त केही थाहा छैन, उहाँहरुले पक्राउ पूर्जी जारी गरियो भनेर हल्ला फैलाउनु भएको छ यो सबै भ्रम हो। उहाँलाई प्रहरीले कुनै हस्तक्षेप गरेको छैन।’

डिएसपीलाई पनि प्रमुख जिल्ला अधिकारीले खनाललाई पक्राउ गर्न ठाडो आदेश दिइएको बताइएको छ। यसबारे बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि प्रमुख जिल्ला अधिकारी ढकालले कुराकानी गर्न मानेन्।

पत्रकार महासंघ मौन

समाचार सार्वजनिक गरेकै कारण सिंगो प्रशासनले नै हस्तक्षेप गर्दा पनि नेपाल पत्रकार महासंघ शाखा अर्घाखाँची भने मौन बसेको छ। उसले अहिलेसम्म एउटा विज्ञप्तिसमेत जारी गरेको छैन।

भिडियो : 

प्रकाशित मिति: : 2024-01-07 17:05:00

प्रतिकृया दिनुहोस्

    यहाँ ५५अरबमा देश सिंगै बेचेर २०-३० जनाले खाँइरहेका छन् । एनसेल बेचेर खरबौ यिनैले खाँदै छन् । ३३किलो,१००किलो १४किलो सुन चोरेर खाईसके प्रधानमन्त्री बस्ने ठाँको जग्ग बाँफाड गरेर यीनैले खाए । देशको खोजेको ऋण बाँडेर योजना २५-३०% योजनामा लगाएर ७०% खान्छन् । जस भएका निर्माणहरु ५०बर्षे ५बर्षमा १०बर्षे आयुका आयोजना ३-देखि ६महिनामा भत्किन्छन् । यस्तो चौतर्फि ब्रह्म लुट भएको देशमा कार्यालयमा भएको गडि लिएर १०-२०-५० किलो मिटर गुडाएर बनभोज गर्नु ठुलो अपराध होइन । त्यसकोलागि लाग्ने इन्धन भोजको नाममा जाँदैन । छुट्टाएको इन्धन् र मर्बमत खर्च बचाएर कोषमा फिर्ता गर्ने मानिस सायद देशको सीमाना भीत्रै छैन । त्यसैले यसमाथि चिन्ता नपोखौं । सकिन्छ देश सिंगै खानेहरुलाई छोपौं रोकौं सत्ताच्युत गरौं । सच्चा इमानदार शासकको खोजी गरौं ।

    • 3 महिना अगाडि
    • Ram chandra Paudel