गाजा बन्धक प्रकरण: ८७ मुक्त, एकसय ५९ अझै हमासको कब्जामा

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

मध्यपूर्व गाजामा इजरेल र हमासबीच युद्धविराम जारी छ। दुबै पक्ष चरणवद्ध रूपमा एकअर्काका युद्धवन्दी छोडिरहेका छन्। तर, अझै पनि एकसय ५९ युद्धवन्दी हमासको कब्जामै रहेको तथ्याङ्क बाहिरिएको छ। युद्धविराम लम्ब्याएर यी सबै युद्धवन्दी छोडने वातावरण बनाउन इजरेल र हमास दुबैमाथि चौतर्फि दबाब बढेको छ।

हमासले बन्धक बनाएका करिव दुईसय ४० मध्ये ८७ बन्धक मात्र छोडिएका छन्। त्यसमा पनि शुद्ध अमेरिकीको संख्या त शुन्य नै छ। इजेरेली-अमेरिकी दोहोरो नागरिकता भएकी चार वर्षिय अबिजाल इडान छुटेकी छिन्। आमा-बाबु दुबैजना गुमाएकी इडानलाई अमेरिकी बन्धक छुटेको भनेर अमेरिकी मिडियामा ठूलो प्रचारवाजी गरिएको छ। 

हमाससँग ७ पुरूष र २ महिला गरी ९ अमेरिकी बन्धक रहेको आधिकारिक आँकडा अमेरिकाले बाहिर ल्याएको छ। ती अमेरिकीलाई अहिलेसम्म पनि छुटाउन नसकेकोमा अमेरिकामा बाइडेन प्रशासनको ठूलो आलोचना भैरहेको छ। 

हमास सानोतिनो सौदाबाजीमा अमेरिकी बन्धक छोड्ने पक्षमा देखिँदैन। युद्धमा शक्तिशाली राष्ट्रका नागरिक नै बढी मात्रामा मावनढाल बनाइने गरिन्छ। यसरी उनीहरूलाई ढाल बनाउन ठूलो माग पूरा गराउन सकिने सम्भावना रहन्छ।

अमेरिका मूलत: इजेरेलको संरक्षक नै हो। वर्षेनी अर्बौ डलरको हातहतियार दिएर अमेरिकाले मध्यपूर्वमा इजरेलमा शक्तिशाली बनाउन ठूलो योगदान गरेको छ। इजेरेलीहरू इजरेलमा भन्दा धेरै गुणा बढी अमेरिकामा छन्। अमेरिकी अर्थतन्त्रदेखि राजनीतिसम्ममा इजरेलीहरूको ठूलो प्रभाव छ। यही प्रभावका कारण अमेरिकाले इजरेलीलाई दोहोरो नागरिकता प्रदान गरेको छ। कुनै पनि इजरेली नागरिकले अमेरिकामा अमेरिकी नागरिकता लिनु नै पर्दैन। उसले अमेरिकी नागरिक जतिकै सबै अधिकार र सुविधा उपयोग गर्न पाउँछ।

अमेरिकामा रिपब्लिकन र डेमोक्रेट्स दुबै इजरेल र इजरेलीलाई बिच्काउन चाहदैनन्। इजरेलीको सन्दर्भमा अमेरिकाको मूलधार लगभग एकै ठाउँमा हुन्छ। तर, यसपटक प्यालेस्टाइनको पक्षमा पनि अमेरिकामा ठूलो समर्थन देखियो। धेरै ठाउँमा प्यालेस्टाइनीको पक्षमा जनप्रदर्शन पनि भए।

अमेरिकामा प्यालेस्टाइनको यो बढ्दो समर्थन खासगरी दक्षिणपन्थी अमेरिकीहरूका लागि रूचिकर विषय हुदैन। यो समर्थन दबाउन उनीहरू सबै किसिमका हत्कण्डा चालिरहेका छन्। कतिपय ठूला उद्योगपतिले प्यालेस्टाइनी मुल र उनीहरूका समर्थक विद्यार्थीलाई कालोसूचीमा राख्न विश्वविद्यालयलाई दबाब नै दिएका छन्। 

अमेरिकामा प्यालेस्टाइनी मुलका नागरिकको सुरक्षा चिन्ता पनि त्यतिकै बढेको छ। केही दिनअघि मात्र भर्मन्टको बर्लिङ्टननमा थैंङ्सगिभिङ डेको विदा मनाउन गएका तीन प्यालेस्टाइनी विद्यार्थीमाथि एक ४८ वर्षीय श्वेत पुरूषले गोली प्रहार गरेको छ।

यो आक्रमणलाई घृणा अपराधको मुद्दाका रूपमा सरकारी अभियोजकले अगाडि बढाए पनि आरोपीले अभियोग स्विकार गरेनन्। अहिले पनि उनी प्रहरी हिरासतमै छन्।

अमेरिकामा सन् २०२४ को आमचुनाव आउन अब एक वर्ष पनि बाँकि छैन। चुनावमा यो मुद्दा पनि एक जबर्जस्त चुनावी मुद्दाका रूपमा विकसित हुने सम्भावना बढ्दैछ। यसले नजानिदो किसिमले रूस-युक्रेन युद्ध पनि छायाँमा पारिदिएको छ।

प्रकाशित मिति: : 2023-11-30 05:22:00

प्रतिकृया दिनुहोस्