‘मेरो लडाइँ रोक्किने छैन’
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले सत्तामा पुर्याएकाे बताएका छन्।
शुक्रबार बिहान आफ्नै घर पत्रकार सम्मेलन गरेर प्रसाईंले जङ्गल पसेका प्रचण्डलाई सत्तामा पुर्याउन आफू भर्याङ बनेको बताए।
उनले भने, ‘जङ्गल पसेका प्रचण्डजीलाई सत्तामा पुर्याउन म भर्याङ बनेँ। तर हामीसँग गरेको वाचा अझै पूरा भएको छैन। प्रचण्डले हामीसँग गरेको वाचा बिर्सिए।’
प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाजस्तो आफू पेट पाल्नका लागि सडकमा नआएको उनले स्पष्ट पारे।
भगवान गौतम बुद्धको प्रसंग निकाल्दै उनले भने, ‘राजकुमार भगवान बुद्धले सदाका लागि दरबार त्यागेर जङ्गल छिरे। मैले पनि आम जनताहरूका लागि घर छोडिदिएँ। म पनि एक किसिमको जोशी नै हुँ। तर माला लगाएको छुइनँ।’
देश र देशवासी बचाउनका लागि घर छाडेर सडकमा उत्रिएकाे भन्दै उनले नागरिककाे साथ नछोड्ने बताए। ‘मेरो अभियान आम जनताहरूको लागि हो। त्यसैले यसलाई बिचैमा छोड्दिनँ, बरु मर्न तयार छु’, उनले भने।
सरकारविरुद्ध निरन्तर आवाज उठाइरहेका दुर्गाले आफ्नो अभियानमा सहयोग गर्नका लागि सर्वसाधारणहरूसँग आग्रह गरेका छन्। ‘यो लडाइँ मेरो होइन, सबै जनाको हो। त्यसैले मलाई साथ दिनका लागि उपत्यकाबाहिरबाट आएका दुई जनालाई आफ्नो घरमा बास दिनुहोस्’, काठमाडौंवासीसँग आग्रह गर्दै उनले भने, ‘मेरो लागि ठुलो सहयोग हुनेछ।’
आफूले चलाइरहेको अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीयहरूले साथ नदिए दुख पाउने उनको भनाइ छ। ‘यदि मेरो अभियानमा साथ दिनुभएन भने काठमाडौँ, ललितपुर भक्तपुरका स्थानीयहरूको हातमा लौटा हुनेछ र घरजग्गाको लालपूर्जा मारवाडीको हातमा हुनेछ’, उनले भने, ‘अब पूर्व र पश्चिमका बाटाहरू बन्द हुन्छ तर मेरो लडाइँ रोक्किने छैन।’
आफूले गरिरहेको लडाइँ शान्तपूर्ण रहेको सुनाउँदै उनले बिहीबार युवा संघले ढुङ्गामुढा गरेको बताए। ‘हिजो सुरुमा युवा संघले ढुंगा हानेको थियो तर हामीलाई नै दोषी देखायो’, उनले भने, ‘हाम्रो लडाइँ अब झनै उग्र बन्नेछ। भोलि झनै ठुलो प्रदर्शन हुनेछ।’