नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएकाे छ।
बिहीबार बसेकाे मन्त्रिपरिषद्को बैठकले उपरथी पाण्डेको राजीनामा स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नागरिकता विवादपछि उनले व्यक्तिगत कारण देखाउँदै गत कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए।
मन्त्री शर्माकाे अनुसार मन्त्रिपरिषद बैठकले कात्तिक २४ गतेदेखि नै लागु हुने गरी राजीनामा स्वीकृत गरेकाे हाे।
यस्तै सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ।
ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिएका हुन्। बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्।
यसैगरी बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव४६५ मिलियन (करिब रु ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ।