दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले भोलि (बिहीबार) काठमाडौँमा आन्दोलन गर्दैछ। प्रसाईंको शब्दमा ‘राज्यसत्ता’ उल्टाउने भनिएको यो आन्दोलनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु क्षेत्र तोकिदिएकाे छ, जहाँ पाँच लाख बढी मानिस सहभागी हुने दाबी गरिएकाे छ।
साेही आन्दोलनको औपचारिक जानकारी दिन प्रसाईंले बुधबार दिउँसो पत्रकारलाई भक्तपुरस्थित आफ्नो निवासमा डाँकेका थिए।
मुख्य सडकबाट करिब २ सय मिटरभित्र रहेको उनको घरमा कार्यकर्ताहरुको घुइँचो थियो। कोही आइरहेका थिए, कोही छुट्टाछुट्टै टोली बनाएर कुराकानी गर्न व्यस्त थिए। सयौँको संख्यामा मान्छेहरु भेला भएकाे प्रसाईंको घर बाहिर दर्जनौँ प्रहरी खटिएका थिए।
प्रसाईंकाे घर कुनै प्रमुख राजनीतिक दलकाे व्यस्त पार्टी कार्यालजस्तै देखिन्थ्याे।
घरकाे दैलोसँगै जोडेर राखिएको ‘पोडियम’ अगाडि उभिएर प्रसाईंले हात हल्लाउँदै बाेल्न सुरु गरे।
‘औपचारिक पत्रकार सम्मेलन’ शीर्षक दिइएको कार्यक्रम औपचारिकजस्तो थिएन, सानो-तिनो राजनीतिक सभाजस्तै थियो। जहाँ उभिएर प्रसाईंले ‘राज्यसत्ता’ उल्टाउनेदेखि विभिन्न दलका नेताहरुमाथि आराेपप्रत्याराेप लगाए।
सुरुमै उनी एमाले नेता महेश बस्नेत र युवा संघका नेताहरुमाथि खनिए। आन्दाेलनकाे लागि काठमाडाैँ आएर पार्टी प्यालेसमा बसेका आफ्ना चेलीबेटीहरुमाथि युवा संघले मध्यरातमा हमला गरेकाेप्रति असन्तुष्टि जनाए। र, भैरवप्रसाद रिमालकाे ‘सिकारी’ पुस्तककाे वाक्यांश सुनाए-, ‘सिकारीले पनि नि सुतेकाे बेलाम कहिलै गाेली चलाउँदैन। यदि सिकार गर्नु नै छ भने तिमी उडाएर/ब्युँजाएर सिकार गर।’
आन्दाेलनकाे दिन र स्थानलाई लिएर प्रसाईं र एमालेकाे युवा संघबीच एक किसिमकाे युद्ध नै चलेकाे छ। दुर्गा प्रसाईंले कार्यक्रम गर्ने भनिएकाे दिन र स्थानमै युवा संघले पनि सरकारविरुद्ध आन्दाेलन गर्ने घाेषणा गरेकाे थियाे।
युवा संघकाे आन्दाेलन आफ्नाे कार्यक्रम बिथाेल्न आयाेजना गरिएकाे बुझाइसहित प्रसाईं महेश बस्नेत र एमालेविरुद्ध आक्राेसित बनिरहेका छन्।
अनि उनले पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतविरुद्ध बाेले। भने, ‘यी चेलीहरु हाम्राे घर लुटियाे भनेर न्याय माग्न आउँदाखेरि मेरा हजुर बुबाका कमाण्डमा रहेका युवा संघ नाम गरेका झुण्डहरुले, अपराधिहरुले चेलीबेटीहरुमाथि जुत्ता बजार्ने काम गरे।’ उनले आफूहरुले लडाइँ नचाहने तर काेही अड्न आए नछाड्नेसम्मकाे चेतावनी दिए।
उनले आफ्नाे आन्दाेलन कुनै पार्टी विशेष वा संगठनविरुद्ध नभएर राज्यसत्ताविरुद्ध भएकाे बताए।
‘हाम्राे याे आन्दाेलन हाेइन, जनविद्राेह हाे। जनताले गर्ने विद्राेहलाई जनविद्राेह भन्छन्। याे जनताहरुले ठाउँमा पुग्नकाे लागि गरेकाे विद्राेह हाे।’
उनले याे आन्दाेलनपछि राज्यसत्ताकाे अन्त्य हुने दाबी गरे। ‘हिजाे म मेराे ८३ वर्षकाे आमासँग माता दुर्गाकाे मूर्तीमा गएर म कि याे व्यवस्था बदल्छु, म कि मर्छु कि जेल जान्छु भनेर मर्नलाई आएकाे हाे, म जेल जनालाई आएकाे हाे आइजीसापले सुन्दा हुन्छ, सम्माननिय प्रधानमन्त्री सुन्दा पनि हुन्छ,’ उनले भने।
उर्लदाे ‘मास’ प्रसाईंलाई नै भारी पर्न सक्छ
पत्रकार सम्मेलनमा करिब एक घण्टा बाेलेकाे प्रसाईंले भाेलि हुने कार्यक्रमकाे माेडेल कस्ताे हुने भन्नेबारे स्पष्ट पारेरनन्। त्यसबारे प्रश्न गर्दा उनी याे सबै कुरा सचिवालयलाई साेध्नु भनेर तर्किए। तर, मुख्य कुरा आन्दाेलनमा भीड व्यवस्थापनकाे छ।
भ्रष्टाचार, बेथिति, घुसखाेरी, कुशासन, न्याय, अत्याचार अर्थात् समग्र राज्यसत्ताविरुद्ध गर्न लागिएकाे याे आन्दाेलनमा सहभागी हुन खुल्ला आव्हान गरिएकाे छ। साेहीअनुसार प्रसाईंकाे दाबी अनुसार भाेलिका कार्यक्रममा पाँच लाख मानिस आन्दाेलनमा सहभागी हुँदैछन्।
आन्दाेलनकाे घाेषणा गर्दा प्रसाईंलाई पनि लागेकाे थिएन कि यति ठुलाे संख्यामा मानिसहरु आन्दाेलनमा सहभागी हुनेछन्। तर, जब प्रसाईंले याे आन्दाेलन बैंक तथा वित्तिय संस्थाबाट लिएकाे ऋणकाे मिनाहकाे लागि हाे भनेर घाेषणा गरे त्यसपछि उनका समर्थकहरु बढे। प्रसाईंकाे आन्दाेलनमा सहभागी भए बैंक तथा वित्तिय संस्थाहरुकाे ऋण मिनाह हुने आशा बाेकेर धेरै मानिसहरु आन्दाेलनमा सहभागी हुँदैछन्।
अभियानकाे उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहबाट गरेका प्रसाईंले आफ्नाे आन्दाेलन गणतन्त्र फ्याँक्न र राजसंस्था ल्याउनकाे लागि भएकाे घाेषणा गरेका छन्। प्रसाईंकाे यही बाेलीमा बाेली मिलाउँदै अहिले कमल थापादेखि राजेन्द्र लिङ्देनकाे पार्टीसम्मका राजावादीहरु पनि प्रसाईंकाे आन्दाेलनमा जाेडिएका छन्। यसले पनि प्रसाईंकाे आन्दाेलनकाे स्वरुप र आकारलाई परिवर्तन गर्ने देखिन्छ।
प्रसाईंले आफ्नाे आन्दाेलन नेपाललाई हिन्दूराष्ट्र स्थापनकाे लागि भएकाे दाबी गरेका छन्। उनले साेहीअनुसार पशुपतिनाथ मन्दिरबाट सुरु गर्ने गरी साधु-सन्तहरकाे र्याली गर्दैछन्। यसरी हेर्दा प्रसाईंकाे आन्दाेलनकाे स्वरुपमा ठुलाे हुने देखिन्छ तर प्रसाईं र उनकाे समूह ठुलाे संख्याकाे ‘मास’ व्यवस्थापन र समन्वयमा सक्षम वा तयार भएकाे देखिँदैन।
प्रसाईंले आफूनिकट रहेकाे ठुलाे संख्याकाे युवा शक्तिलाई व्यक्तिगत सुरक्षार्थ परिचालन गर्ने याेजनामा छन् न कि आन्दाेलन व्यवस्थापन। त्यसमाथि सिंङ्गाे एमाले नै प्रसाईंकाे कार्यक्रम बिथाेल्न उद्त देखिन्छ। यसकारण उर्लिदाे ‘मास’ प्रसाईं आफैँलाई भारी पर्ने देखिन्छ।
भिडियाे :