विप्लवजीहरूसँग चाँडै एकता गर्दैछौँ: प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहको माओवादीसँग चाँडै नै एकता हुने बताएका छन्।

थवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विभाजित माओवादीका सबै घटकहरूसँग एकताको थालनी भइसकेको पनि बताए।

‘शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौँ। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौँ’, उनले भनेका छन्।

उनले यसअघि कहिल्यै नभएको सुशासनको अभियान अहिले आफ्नो नेतृत्वको सरकारले सुरु गरेको भन्दै त्यसलाई समाजवादको आधार पनि भने।

‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ’, उनले भने, ‘समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौँ। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ।’

उनले थवाङले ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको भन्दै आफूले कहिल्यै थवाङलाई नबिर्सने पनि बताए।

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो’, उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु।’

प्रकाशित मिति: : 2023-11-10 13:57:00

प्रतिकृया दिनुहोस्