प्रधानमन्त्रीलाई दु:ख सुनाउन खाेज्दा ‘प्रहरी खाेर’मा थुनिएका भूकम्प–पीडितहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पाउनुपर्ने माग राख्दै नारा लगाउने ६ जना तीन दिनदेखि प्रहरी हिरासतमा रहेका छन्। गत शुक्रबार भूकम्प पीडितहरूको अवस्था बुझ्न बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डलाई आफूहरूले भेट्न पाउनुपर्ने मागसहित नारा लगाउने छ जनालाई शुक्रबार प्रहरीले प्रकाउ गरी हिरासतमा राखेको हो।

जिल्ला प्रशासन कार्यालय बझाङको गेट (प्रवेशद्वार)मा प्रधानमन्त्री प्रचण्डलाई भेट्न पाउनुपर्ने भन्दै नारा लगाइरहेका तीन जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट, एक जनालाई शनिबार सदरमुकाम चैनपुरबाट र दुई जनालाई आइतबार (आज) सदरमुकाम चैनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना कुराहरू सुनाउन नपाएको भन्दै नारा लगाइरहेका जयपृथ्वी नगरपालिका–३ का तिलक खड्का, सोही ठाउँका शैलु खड्का, सोही ठाउँका विकास खड्का, सोही ठाउँका विक्रम खड्का, तलकोट गाउँपालिका–१ का खडकबहादुर ऐडी, मष्टा गाउँपालिका–५ का तिलक कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ।

पक्राउ परेका छ जनालाई अभद्र व्यवहारको मुदा दर्ता गरेर आजै सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताएका छन्।

भूकम्प पीडितकाे गुनासाेः प्रधानमन्त्रीलाई भेट्न पाएनौँ, हाम्राे कुरा सुन्नुभएन

प्रकाशित मिति: : 2023-10-08 19:46:00

प्रतिकृया दिनुहोस्