हिमनदी पग्लिए, हिमताल फुटेर सिक्किम डुब्यो, के पश्चिम नेपालको भूकम्पकाे कारण हुनसक्छ?

Photo: IANS
Photo: IANS

भारतको सिक्किममा अचानक आएको बाढीका कारण अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यीमध्ये एकजना भारतीय सैनिक छन्।

करिब २२ जना भारतीय सैनिक पनि अहिलेसम्म बाढीमै बेपत्ता छन्। याेसहित अहिलेसम्म ९८ जना मानिस बेपत्ता छन्।

राज्यका मुख्य सचिव बिबी पाठकका अनुसार बुधबार बिहानपख टिस्टा नदीमा आएको बाढीका कारण अहिले सिक्किम डुबिरहेको छ।

सरकारी अधिकारीहरूका अनुसार राज्यका धेरै मूल सडकहरू भत्किएका छन्। विभिन्न ठाउँका करिब १४ वटा पुलहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

उद्धारकर्मीहरूले मानिस र उनीहरूका घरबार जोगाउन प्रयास गरिरहेका छन्। विस्थापित मानिसका लागि २५ भन्दा धेरै राहत शिविरहरू बनाइएका छन्। यो बाढीले सिक्किममा करिब १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। पूरै सिक्किम अहिले सञ्चारविहीनजस्तै भएको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले संयमित रहन र एकअर्कालाई सघाउन अपिल गर्दै प्राकृतिक विपदको यो अवस्थामा सबै नागरिकलाई धैर्य गर्न अपिल गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीलाई फोन गरेर उद्धार र राहतका लागि केन्द्र सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन्।

राज्यका धेरै विद्यालयहरू पनि बन्द गरिएका छन्। बाढीले सबैभन्दा बढी प्रभावित भएको चुङथाङ उपत्यकामा कम्तीमा १५ दिनसम्म विद्यालय र कलेजहरू बन्द हुनेछन्।

कसरी टिस्टा नदीमा त्यत्ति ठूलो बाढी आयो भन्नेबारे विभिन्न निकाय तथा विशेषज्ञहरूले अनुसन्धान गरिरहेका छन्। तर अहिलेसम्म हिमतालको विस्फाेटबाहेक थप अरू कारण यकिन हुन सकेको छैन।

वर्षाकै बीचमा टिस्टा नदीमा पानीको सतह र बहाव बढ्न थालेपछि बंगालदेशका केही भागसम्म बाढीको चेतावनी दिइएको थियो।

हिमनदी पग्लिए, हिमताल फुटे अनि बाढी आयो

सिक्किम राज्यको सिरानमा धेरै त्यस्ता हिमतालहरू छन्। त्यत्तिकै मात्रामा हिमनदीहरू पनि। खासगरी टिस्टा नदीको मूल भनेर चिनिने सिक्किमको पर्वतीय(हिम) ताल ल्होनक हिमताल हो। यही तालको माथिल्लो तटी क्षेत्रमा मंगलबार रातिदेखि मुसलधारे वर्षा भएको थियो।

त्यसपछि बिहानपख लाचेन उपत्यका भएर बग्ने टिस्टा नदीमा एकएक लेदो बनेर आएको बाक्लो पानी तेज गतिमा बग्न थाल्यो। बग्ने बाटो साँघुरो भयो अनि टिस्टा बस्तीहरूमा छिर्न थाल्यो। पहाड भत्काएर उसले धेरै लेदो पनि सँगै ल्याएको थियो। कतै पहाड भत्काएर आयो, अनि मानव बस्तीको उपत्यका छिरेपछि उसले घरहरू भत्काउन थालल्यो। मान्छे र जनावरहरू बगाउन थाल्यो।

सिक्किमको सिरानमा रहेका तिनै हिमतालहरूमा अचानक देखिएको परिवर्तन नै सिक्किमको बाढीलाई मुख्य कारक मानिएको छ। जसलाई टिस्टा नदीले त्यहाँसम्म ल्यायो।

अहिलेसम्म खोज तथा अनुसन्धानकर्ताहरूले खास कारणहरू त भेटाउन सकेका छैनन् तर सिक्किमको बाढीलाई प्रत्यक्ष देखेका र त्यसका भिडियोहरू हेरेर हिमनदी र हिमतालको परिवर्तनलाई नै त्यो विनाशकारी बाढीको मुख्य कारणका रुपमा अर्थ्याएका छन्।

बाढी आउनुपूर्व भरिएका हिमतालहरूको पानी एकैपटक बाहिर निस्किँदा नदीमा पानीको मात्रा बढ्यो र त्यो बाढी बन्यो। त्यो बाढीको मात्रा बढेपछि हाइड्रोपावरका लागि टिस्टा नदीमा बनाइएको एउटा मुख्य चङथाङ बाँध पनि फुट्यो। यो सिक्किमको सबैभन्दा ठूलो विद्युतगृह हो। टिस्टा थ्री परियोजनाअन्तर्गत बनेको यो जलविद्युत परियोजना करिब १२०० मेगावाट क्षमताको छ। जसमा सिक्किम सरकारको पनि ठूलो लगानी छ।

भारतको केन्द्रीय जल आयोगका अनुसार टिस्टा नदीको सिरानमा रहेको हिमताल लगभग १६८ हेक्टर जमिनमा फैलिएको थियो। यसलाई निकै जोखिमपूर्ण हिमतालका रुपमा लिइएको थियो। बाढीको केही घण्टाअघि र केही घण्टापछि लिइएका स्याटेलाइट तस्बिरहरूको तुलना गर्दा त्यो तालको क्षेत्रफल घटेको देखिन्छ। अर्थात् त्यहाँको पानी रित्तिएको छ।

आयोगको एउटा विश्लेषणअनुसार अहिले त्यो तालको पानी ६० हेक्टरमा मात्रै सीमित छ। अर्थात् १०० हेक्टर क्षेत्रफलमा जम्मा भएको पानी अब त्यहाँ छैन। यसको मतलब त्यो सब पानी एकैचोटी टिस्टा नदीमा मिसियो।

लगातार भएको मुसलधारे वर्षाले मात्रै टिस्टामा त्यो बाढी आउन अलि सम्भव छैन तर यी निकायहरूले हिमताल फुट्नुलाई मात्रै त्यसको मुख्य कारणका रुपमा यकिन गर्न अझै सकिरहेका छैनन्।

हिन्दकुश हिमालय क्षेत्रको अध्ययन, अनुसन्धान गर्दै आएको इसिमोड(इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट)का जलवायु परिवर्तन विशेषज्ञ अरुणबि श्रेष्ठले एक सञ्चारमाध्यमलाई बताएअनुसार अहिलेसम्म यो बाढी र यसका कारणहरू टुक्रा टुक्रा जानकारीहरू मात्रै आइरहेका छन्।

उनले भने, ‘यस्तो लाग्छ कि बंगालको खाडीमा वर्षाको प्रणालीमा देखिएको कम दबाबक्षेत्रका कारण यो सब घटना भएको पनि हुनसक्छ।’ उनका अनुसार तर कसरी मुलसधारे वर्षा भयो अनि हिमतालको विस्फाेट कसरी भयो भन्नेबारे कारणहरू यकिन भइसकेका छैनन्। इसिमोडका अनुसार त्यस क्षेत्रमा बाढी आउनुपूर्वको २४ घण्टामा १०० मिलिमिटर वर्षा मापन भएको छ। जो कुनै दुर्घटना निम्त्याउने कारण हो।

अर्का विशेषज्ञ मेरियम ज्याक्सनका अनुसार मुसलधारे वर्षाका कारण पनि त्यस्तो भएको हुनसक्छ। ‘त्यो वर्षाका कारण हिमताल फुट्यो अनि त्यसको पानी टिस्टा नदीमा मिसिएपछि त्यसले ठूलो बाँध भत्कायो। त्यो निकै शक्तिशाली भएर आएको थियो।’

नेशनल रिमोट सेन्सिङ सेन्टरका अनुसार सिक्किमको सिरानमा त्यस्ता करिब ७३३ हिमतालहरू छन्। तीमध्ये लगभग २८८ तालहरू ५ हजार मिटरभन्दा धेरै उचाइमा छन्। जसबाट जुनसुकैबेला खतरा उत्पन्न हुनसक्छ।

अहिले विस्फाेट भएको भनिएको ल्होनक हिमताल निकै खतराको संकेत बोकेको ताल मानिएको थियो। यो सिक्किमको उत्तर-पश्चिम सिरानमा छ। सिक्किमको हिमालय क्षेत्रमा निकै फैलिँदै गइरहेको तालमध्ये यो पनि एक हो।

यीमध्ये करिब १४ हिमतालहरू यस्ता छन्, जहाँ पानीको मात्रा बढिरहेको छ र जुनसुकैबेला पनि बाढीको खतरा मडारिइरहेको छ। यी ५ हजार २०० मिटरभन्दा धेरैको उचाइमा छन्।

हिमनदी पग्लिँदा बनेका यी तालहरूमा केही वर्षदेखि असामान्य ढंगले पानीको मात्रा बढिरहेको थियो। सिक्किमका यी हिमनदीहरू केही वर्षदेखि अस्वाभाविक रुपमा पग्लिँदै गइरहेको तथ्याङ्कहरू पनि छन्।

कसरी बन्छन् हिमनदी र हिमताल?

हिउँको एउटा ठूलो हिस्सा मिलेर हिमनदी बनेको हुन्छ, जो वर्षौंको हिउचक्रबाट बनेको हुन्छ। यसलाई हिमखण्ड पनि भनिन्छ। अक्सर हामीले देख्ने नदीजस्तै यी हिमनदीहरू आफ्नै एउटा धिमा गतिमा बगिरहेकाे हुन्छ।

वातावरण तथा जलवायु परिवर्तनका मुद्दाहरूबारे लेख्ने थर्डपोलका अनुसार उत्तर र दक्षिण ध्रुवीय क्षेत्रमा र उच्च पर्वतीय क्षेत्रमा पाइने जमेको नदीजस्तै विस्तारै हिउँ बग्ने ‘नदी’ लाई हिमनदी भनिन्छ। जमिनमा परेको हिउँ जमेर बरफको बाक्लो ढिक्का बन्दै सैयौँ वर्ष लगाएर यो बनेको हुन्छ। यही हिउँ वा बरफ बगेर हिमनदी बन्छ।

जलवायु परिवर्तनको कारण विश्वमा तापमान वृद्धि हुँदै जाँदा हाल हिमनदीहरू हिमपातले पूर्ति गर्ने बरफको मात्रा भन्दा तीव्र गतिमा पग्लिरहेका छन्। हिमनदी पग्लँदाको असर हिमनदी आफैँभन्दा धेरै परसम्म देखिन्छ। समुद्र तह बढ्दैछ, जलचक्र र मौसम प्रणालीमा परिवर्तन भइरहेको छ। हिमालयका हिमनदीहरू अहिले त्यही तापमानका कारण तीव्र गतिमा पग्लिरहेका छन्।

हिमनदी पग्लिएर निस्केको पानीलाई बरफ वा हिमनदीले बोकेर ल्याउने चट्टान र गेग्रानले छेकेर बनेको तालबाट अचानक निस्कने भेललाई हिमताल विस्फोटबाट सिर्जित बाढी (जीएलओएफ) भनिन्छ। यस्ता बाढी भूकम्प, हिमपहिरो वा पग्लिएको पानी अत्यधिक मात्रामा संकलित हुँदा खतरा उत्पन्न हुन सक्छन्।

हिमाली जलाधार क्षेत्रमा बढ्दो खतराका रूपमा देखिएका यस्ता बाढी अत्यन्त विनाशकारी हुने गर्छन्। अहिले सिक्किममा भएको पनि यही हुनसक्छ।

भारतको पूर्वोत्तरमा अवस्थित यो हिमाली राज्य यस्ता बाढी र प्राकृतिक विपदको उच्च खोजिखमा छ।

अघिल्लो वर्ष पनि यहाँ ठूलै बाढी आएको थियो। जसले हजारौँ मानिसलाई घरबारविहीन र विस्थापित गरायो। त्यसमा कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए।

लगातार भएको मुसलधारे वर्षा वा भूकम्पका कारण पनि यस्ता हिमनदीहरू फुट्नसक्छन्। पर्वपतीय चुचुरामा रहेका यी तालहरूमा पानीको मात्रा बढ्दा त्यसले निकास खोज्छ र ताल फुट्छ। जसले तल्लो तटीय क्षेत्रमा भारी मात्राको पानी (बाढी) सँगै ठूलै विनास पनि सँगसँगै लिएर आउँछ।

हिमनदीहरू पग्लिएर हिमतालमा बढिरहेको पानीको मात्रा र मंगलबार पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको भूकम्पलाई पनि एकथरि विशेषज्ञहरूले ती हिमताल फुट्नुको कारणका रुपमा अध्ययन गरिरहेका छन्।


जुनसुकै बेला बेस्सरी हल्लिनसक्छ सुदूरपश्चिमको जमिन


मंगलबार बझाङको चैनपुर र तलकोटलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। जसले नेपालको पूर्वीभागदेखि भारतको नयाँ दिल्लीसम्मै हल्लाएको थियो।

मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा बझाङको तलकोट क्षेत्रमा केन्द्रबिन्दु बनाएर अलिअलि हल्लाएको भूकम्प (५.३ म्याग्निच्यूड)को अर्को पराकम्प (६.३ म्याग्निच्यूड) जाँदा त्यसको केन्द्र चैनपुर क्षेत्र थियो। यो जिल्लाको सदरमुकाम क्षेत्र हो।

बझाङमा यो भूकम्पले धेरै घरहरूमा क्षति पुगेको छ। एकजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। पहिरो खसेर सडकहरू अवरुद्ध भएका छन्। कतिपय ठाउँमा जमिनहरू पनि चिरा परेको स्थानीयले जनाएका छन्।

पूर्वी नेपालसँगै जोडिएको सिक्किमका टाकुराहरूमा पनि त्यसको असर परेको हुनसक्ने विशेषज्ञहरूले अनुमान गरेका छन् र त्यसबारे अनुसन्धान गरिरहेका छन्। (भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

प्रकाशित मिति: : 2023-10-06 12:44:00

प्रतिकृया दिनुहोस्