पार्टीको आन्तरिक विवाद समाधान हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन्।

केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज (बिहीबार)आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताउए।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताए।

नेपालले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गरे। उनले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे।

पार्टीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: : 2023-09-21 20:04:00

प्रतिकृया दिनुहोस्