एक महिनाअघि बिरामीकाे मृत्यु, अहिले भीड आएर डाक्टरकाे हड्डी भाँचिदियाे (भिडियाे)

बिहानको १० मात्र बजेको थियो। २०–२५ जनाको समूह मकवानपुरको हटौँडामा रहेको सञ्चो अस्पतालमा आयो।

‘डाक्टर विकास थापा र प्रशान्त विडारी खोइ!’ भन्दै खोजी गर्‍यो। दुबै जना डाक्टर अस्पतालको दोस्रो तलामा बिरामी हेरिरहेका थिए। केही अस्पतालभित्र छिरे। विकास र प्रशान्तलाई बाहिर ल्याए। बाहिर महिला-पुरुषको त्यो हुलले उनीहरुमाथि हातपात गरिहाले।

कसैले हात उठाए। कसैले तात्ती उठाए। जुन दृश्य अस्पतालबाट सार्वजनिक भएको सिसिटिभी फुटेजमा पनि देखिन्छ। त्यही हुलको कुटाइबाट डा. विकासको अनुहारमा गम्भीर चोट लागेको छ। उनको गालाको हड्डी भाँचिएको र अप्रेसन गर्नुपर्ने अवस्था रहेको सञ्चो अस्पताल प्रशासनले बिएल नेपाली सेवालाई बतायो।

अर्का डा. प्रशान्तको पनि अनुहारभरि चोट छ। दुबै जना अहिले अस्पतालमा रेष्टमा छन्। हिजो (२७ गते बुधबार) बिहान एकाएक आएको समूहले डाक्टरमाथि कुटपिट गरेको थियो।

त्यो समूहले किन कुटपिट गर्‍यो? कारण एक महिना अगाडिको छ। साउन २२ गते हेटौँडा उपमहानगरपालिका–१२ का राजेश प्रधान उपचारका लागि सञ्चो अस्पतालमा भर्ना भए। परीक्षणमा प्रधानलाई डेङ्गु र निमोनिया देखियो।

उनको उपचार सञ्चो अस्पतालमा सम्भव नदेखेपछि उपचारमा संलग्न डा. विकास र प्रशान्तले उनको रेफर गरे। २३ गते प्रधानलाई उनका आफन्तले चितवन मेडिकल कलेजमा ल्याए। प्रधानको २५ गते चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो।

त्यसपछि डाक्टरको लापर्वाहीले गर्दा प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले सञ्चो अस्पतालसँग क्षतिपूर्ति माग गरेका थिए। रेफर गर्न ढिलाइ गरेको भन्ने मृतक प्रधानका आफन्तको आरोप छ।

त्यही कारण क्षतिपूर्ति नदिएको र उपचारमा लापर्वाही गरेको भन्दै बिरामीको मृत्यु भएको एक महिनापछि ‘सर्वज्ञानी’ शैलीमा प्रधानका आफन्तले डाक्टरमाथि कुटपिट गरेका छन्।

डाक्टरलाई भएको कुटपिटलाई लिएर आज बुधबार हेटौँडाका सम्पूर्ण अस्पतालले इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारेका छन्। नेपाल चिकित्सक संघले उक्त घटनाप्रति भर्त्सना गर्दै दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्कीले केही क्षतिपूर्तिको लोभमा डाक्टरमाथि विनाकारण कुटपिट हुनु चिकित्सहरुको मनोबल गिराउने खेल भएको बताए।

बिरामीको मृत्युलाई अतिरञ्जित गरेर डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको माग छ।

नेपाल प्रगतिशील चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्नेलाई प्रहरीले कारबाही गर्नुको सट्टा संरक्षण गरेको आरोप लगाएको छ। संघका अध्यक्ष डा. मधुर बस्नेतले विज्ञप्ति जारी गर्दै दोषीलाई मुलुकी फौजदारी कसुरमा कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा बस्नेतले दोषीउपर कारबाही नभए कडा आन्दोलनमा उत्रने बताएका छन्। सञ्चो अस्पताल प्रशासनले डाक्टरमाथि भएको कुटपिटको विषयमा छलफल भइरहेको र प्रहरीमा उजुरी गर्ने तयारी भइरहेको बताएको छ।

प्रकाशित मिति: : 2023-09-14 14:28:00

प्रतिकृया दिनुहोस्