काेशीको मुख्यमन्त्रीमा हिक्मत कार्की दाेस्राे पटक नियुक्त

File Photo
File Photo

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की काेशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कार्की नेपालको संविधानको धारा १६८ काे उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

बिहीबार सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको थियाे।

कार्की यसअघि गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका थिए। तर पछि विश्वासको मत नपाउँदा पदमुक्त भएका थिए। त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्चले दुईपटक बदर गरेको छ।

नेता कार्कीले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।

प्रकाशित मिति: : 2023-09-08 18:37:00

प्रतिकृया दिनुहोस्