नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गरेका छन्।
प्रतिनिधिसभाको बुधबारकाे बैठकमा बोल्दै लेखकले याे घटनामा पक्राउ परेका दाेषी र संलग्न भएकालाई छानविन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले याे घटना समान्य नभएकाे भन्दै गृहमन्त्री र उपप्रधानमन्त्रीलाई प्रतिनिधिसभाको अर्को बैठकमा घटनाको बारेमा सत्यतथ्यसहितको विवरण प्रस्तुत गर्न आग्रह गरे।
‘म गृहमन्त्रीज्यू र उपप्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– यसपछि बस्ने प्रतिनिधिसभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण विवरणसहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु’, प्रमुख सचेतक लेखकले भने।
उनले खुकुरी प्रहारबाट कांग्रेस नमर्ने र नसकिने बताएका छन्। ‘कुनै मानिसले खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’, लेखकले भने, ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस सकिन्छ र मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ। खुकुरी प्रहारबाट कांग्रेस मर्दैन, सकिँदैन।’