दलित आन्दोलनले सम्झिरहने योद्धा ‘सुभाष दर्नाल’

कृष्ण रणपाल

काठमाडौं

आज साउन ३० गते आजकै दिन विं.सं.२०६८ साल साउन ३० गते (अगष्ट १५ तारिख) का दिन नेपाली दलित आन्दोलनका एक होनहार सक्रिय युवा सुभाष कुमार दर्नाललाई गुमाएको अत्यन्तै दुःखद र कालो दिनका रुपमा स्मरण गरिएको दिन हो। आज उहाँलाई गुमाएको ठीक १२ वर्ष पुगेको छ। साउनको महिना त्यतिबेला आकाश मडारिएर वर्षाले जलमग्न भएको तराई अनि पहाडको बाढी पहिरोले विपद्मा परी प्रकृति आफै राईरहेको अवस्था थियो। यताभने विहान विहान सुभाष दाईको मृत्युको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सुन्नुपर्दा विश्वासै लागेन् अझै भनौं हजारौं माइल टाढा अमेरिका रहनु भएका दाई सुभाषको सडक दुर्घटनामा परी ३१ वर्षको अल्पायुमै मृत्युको खबरले अत्यन्तै दुःखित एवं स्तब्ध बनायो। नेपाली दलित आन्दोलनका एक योद्धालाई हामीले सदाका लागि गुमाउनुको पिडा सहनु बाहेक अन्य विकल्प पनि रहेन। सत्य यथार्थ नै हुन्छ, सत्यलाई कहिल्यै असत्यमा बदल्न सकिदैन भन्ने कुरा उहाँको मृत्युले प्रष्ट बताइदिएको छ।

अमेरिकास्थित स्ट्याण्डफोर्ड यूनिर्भसिटीमा ३ हप्ताको ड्रपर डिस्लुमर फेलोसिपमा अध्ययन गर्न जानु भएका दर्नाल अध्ययन सकेर वासिङटन फर्केपछि सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको थियो। सुवास वास्तवमै नाम मात्रको सुभाष नभई उहाँको कामले सबै क्षेत्रमा फुलको वास्नाका रुपमा स्थापित सुवास छरिएझै मिठो वास्नाका रुपमा प्रख्यात बनेका एउटा संघर्षशील व्यक्ति हुनुहुन्थ्यो। उहाँ जीवनका कठिन र संघर्षशील यात्राका क्रममा एउटा कुशल लेखक,पत्रकार, मानवअधिकारकर्मी र सिंगो दलित सञ्चारकर्मीका अभिभावक र दलित आन्दोलनलाई स्थापित गर्ने अभियान्ताका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

उहाँले दलित आन्दोलनको कमजोर क्षेत्रका रुपमा रहेको पत्रकारिता र आम सञ्चार क्षेत्रलाई संस्थागत गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व विकास गरी मिडिया परिचालनमार्फत सशक्तिकरण,समावेशिकरण,स्थानिय नागरिक संस्थाहरु र दातृ निकायहरुका बीचमा सुमधुर सम्बन्धको विकास गर्नुभएको थियो। खासगरी देशमा सदियौं वर्षदेखि जडको रुपमा रहेको जातीय विभेद र छुवाछुतको विरुद्धमा राज्यबाट बाहिर रहेका समुदायहरुलाई एकिकृत गरी सभ्य समाजको निर्माण गर्ने र सिंगो दलित समुदायका व्यक्तिहरुको न्यायका लागि देशभित्र एउटा बलियो संस्था निर्माण गर्ने दौरानमा लाग्नेक्रममा कम उमेरमै हामीबाट छुट्टिनु भएको छ।

आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्दे विं.सं.२०६२/०६३ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ विपन्न परिवारमा हुर्कीएको व्यक्ति भएकोले पनि होला समाज र राष्ट्रमान जातीय विभेद र छुवाछुतजतिो कुरिती र कुप्रर्थाको घोर विरोध र अन्त्यमा तल्लीन भई विभिन्न आन्दोलन चाहे त्यो नागरिक आन्दोल होस् या दलित आन्दोल वा राजनीतिक आन्दोलनमा सक्रिय भूमिका रहको थियो। मानवतावादी,समन्यायिक र समतामूलक समाज निर्माण गर्न उहाँ एउटा अथक र कर्तव्यनिष्ठ सामाजिक योद्धाका रुपमा परिचित हुनुहुन्थ्यो। सामाजिम कुरीति,कुसंस्कार र अव्यवस्था विरुद्ध चेतना र कलमको वैचारिक युद्ध छोड्दै हिड्नु भएको थियो।देशमा उच–निचको मध्ययुगिन मनुवादी सोचबाट निर्देशित २१ औं सताब्दीको नेपाली समाजलाई परिवर्तन गर्ने सोचमा उहाँमा अथाह योगदान रहेको थियो। यो लडाईमा सबल र समय सापेक्ष बनाउने तत्कालीन राज्य र मुलधारका दलित गैरसरकारी संस्थाले समेत चासो नदिएको आम सञ्चारमा दलितको पहुचलाई मुल मुद्दाको रुपमा उठान गरी दलितहरुको सूचनाको हक स्थापित गर्न र त्यसलाई दलित मुक्तिसँग जोड्न उहाँले आफ्नो नेतृत्वमा जागरण मिडिया सेन्टरको स्थापना गर्नुभयो। एउटा साघुरो कोठाबाट सुरु भउको जागरण मिडिया सेन्टरको यात्रा प्रकारान्तरले देशकै बृहत दलित आन्दोलन हाक्ने नेतृत्वदायी संस्थाको रुपमा स्थापित भैसकेको थियो।

सिमित सफलतामा मात्र उहाँ कहिल्यै सन्तुष्ट नरहने सरल सवभावका कारण अमेरिका र बेलायतमा अध्ययन ,अनुसन्धान गरी अत्यन्त नविनतम र ठोस योजनासहित दलित समुदायको बैज्ञानिक अध्ययन, अनुसन्धानका लागि समता फाउण्डेशन स्थापना गर्नुभयो। जुन संस्थाले आजसम्म दलित समुदाय र बहिस्करणमा परेको समुदायको अध्ययन र अनुसन्धानको रुपमा अग्रणी संस्थाको रुपमा स्थापित भएको छ। भनिन्छ,जस्को आयु कम हुन्छ,उनीहरुले अल्पायुमै एउटा सफलताको विरासत निर्माण गरी जान्छन् र सधै समाज र देशका लागि युगौयुगसम्म जिवित रहिरहन्छन्। यस्तै युवा अवस्थामा भएका उर्जा र सपनालाई पूरा गर्ने उर्जा,आत्मबल,दृष्टिकोण,त्याग र लगनशीलताको उचित संयोजन कमै व्यक्तिमा मात्रै हुन्छ तर सुभाष दाईमा यस्ता सबै गुणले युक्त हुनुहुन्थ्यो भन्ने आधारको ज्वलन्त उदाहरण उहाँले स्थापना गरेको संस्था जागरण मिडिया सेन्टर,शान्तिका लागि साझा अभियान(कोक्याप) र समता फाउण्डेशनको सफलता हो। जागरण र समताको आज जुन क्षितिज छ त्यो क्षितिजमा अथाह रङ भर्ने काम सुभाष दाईले नै गर्नुभएको थियो।त्यस्तै उहाँकै नेतृत्वमा आवाजविहिनहरुका लागि आवाज दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो, रेडियो जागरण ९३.६ मेगाहार्ज बुटवलमा स्थापना ,दलन टेलिशृङ्खला कार्यक्रम टेलिभिजनबाट प्रसारणजस्ता थुप्रैसंस्थाहरु कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो। सुभाष दाईले ३१ वर्षको अल्पायुमै एउटा विपन्न गरिब परिवारमा जन्मिएर पाल्पा,बुटवल हुदै काठमाण्डौंमा रहेर छोटो समयमै गरेको प्रगति र उल्लेखनीय कार्यले अबको भावी पुस्ताले दर्बिलो पाठ सिक्ने अवसर निर्माण गर्नु भएको छ। सुभाष दाईको भौतिक शरीर हामी बीच नरहेपनि उहाँले आफ्नो जीवनका हरेक कालखण्डमा गरेका संस्थाहरुको प्रगति अत्यन्तै उत्कृष्ट र प्रसंशनीय छन् र हाम्रो मानसपटलमा सधै संझनायोग्य रहिरहनु हुनेछ भन्नेमा हामी सबै विस्वस्त छौं।उहाँका बाकी रहेका सपनाहरु र संस्थागत विकासमा आगामी यात्रा सफल र उदाहरणीय बनाउन हाम्रो महत्वपूर्ण सहयोग रहिरहने छ। सुभाष दाईलाई अर्पण गरेका श्रद्धाञ्जली त्यतिबेलासम्म सच्चा ठहर हुनेछ जतिबेला उहाँले देखेको दलित मुक्तिको सपना साकार पार्न हामी आफ्नो ठाउँबाट केही गर्न सक्नुपर्छ। एउटा दियो निभेपनि उहाँको सपनालाई मुर्तरुप दिन उहाँले लिएको मार्गलाई पहिचान गरी अन्य सुभाषहरु जन्माउन सक्नुपर्छ। को हुन सुभाष दर्नाल ?सुभाष कुमार दर्नालको जन्म विं.सं. २०३६ साल जेठ २६ गते पश्चिम पाल्पाको मुझुङ –१ पाल्पा हाल रैनादेवी छहरा गाउँपालिकामा आमा सरिता दर्नाल र बुबा डिल बहादुर दर्नालका कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो। गरिब परिवारमा जन्मिनु भएका दर्नालको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अध्ययन गर्न धौंधौ परेको थियो। उहाँ सानै उमेरदेखि अत्यन्तै मेहनती र पढाईमा अग्रपङ्तीमा हुनुहुन्थ्यो,फलस्वरुप एस.एल.सी.मा गाउँको विद्यालय कालिका मा.वि.बाट प्रथम श्रेणीमा उत्तीर्ण भई उच्च शिक्षाको लागि बुटवल आउनु भएको थियो। पछि बुटवलमा अध्ययन गर्न र जिविका चलाउन नसक्ने भएपछि काठमाण्डौं प्रस्थान गर्नुभयो। काठमाण्डौंमा पुगेपछि आर्थिक अभावका कारण समस्याहरुलाई संघर्षका साथ पार गर्दै पत्रकारितामा स्नातक तहसम्म अध्ययन गर्नुभयो।

सुभाषको दलित आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाउन र दलित आन्दोलनका कार्यक्रमहरु गर्ने जस्ता महत्वपूर्ण निर्णय गर्न उहाँको मामा विनोद पहाडीलाई सोधेर उहाँको प्राप्त आदेश र निर्देशन अनुसार मात्रै गर्नुहुन्थ्यो। त्यसैले त सुभाष दिनदिनै सबैको छत्रछायाँमा चम्किलो ताराका रुपमा उदाउनु भएको थियो। सामाजिक या नागरिक आन्दोलन होस् या अन्य क्षेत्रमा उहाँको मामा पहाडीको विशेष चासो र सर्पोट रहेको थियो। त्यसो त सुभाषलाई वास्तविक सुभाष बनाउनमा उहाँको जेठी दिदी शान्ता दर्नाल रणपालले सानैदेखि विशेष चासोका साथ सुभाषको अध्ययन र आर्थिक जोहो गर्नमा ध्यान केन्द्रीत हुन्थ्यो। यसरी आफ्नो जिवनलाई निरन्तर संघर्षका यात्रामा अगाडि बढाउदै दलित अधिकार र नागरिक आन्दोलनका कार्यक्रममा सरिक हुदैँ अगाडि बढ्नु भयो।

जागरण मिडिया सेन्टरको स्थापना गरी समाजमा व्याप्त जातीय भेदभाव र छुवाछुत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशिल दर्नालले जागरण मिडिया सेन्टरको संस्थापक अध्यक्ष,शान्तिका लागि साझा अभियान (कोक्याप)को अध्यक्ष र समता फाउण्डेशनको कार्यकारी निर्देशकको रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। त्यस्तै निरङकुश राजतन्त्रको विरुद्ध २०६२÷०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा उहाँले दर्जनौं मानवअधिकारवादी संस्थाको संयोजनगरी मानवअधिकार रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्नु भएको थियो। उहाँको नेतृत्वकालमा दलित समुदायको अगुवाईमा सुरु भएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोःरेडियो जागरण ९३.६ मेगाहर्ज बुटवलमा स्थापित गर्ने र ऐतिहासिक टेलिशृङखला ‘दलन’ निर्माणमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो। त्यसैगरी नेपाली दलित आन्दोलन होस् या राजनीतिक आन्दोलनलाई एकिकृत गर्ने कार्यमा उहाँको निरन्तर सक्रियता अपरिहार्य रहेको थियो।

सुभास र नागरिक आन्दोलनतत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलका बीच दिल्लीमा १२ बुँदे सहमतिपछि नेपालमा सडक आन्दोलनको माग बढिरहेको थियो। ठीक त्यही बेला सुभासकै समन्वयमा मानवअधिकारवादी तथा नागरिक अगुवाहरुको भेला भयो। डाक्टर देवेन्द्र पाण्डे, श्याम श्रेष्ठ, पद्मरत्न तुलाधर, हरि रोका, दिपेश प्रसाई, चरण प्रसाई, शम्भु थापा, विनोद पहाडी, पदमलाल विश्वकर्मा, कृष्ण भट्टचन र डाक्टर सुन्दरमणी दिक्षितलगायतको भेला गरी लोकतन्त्रका लागि नागरिक आन्दोलन परिचालनका लागि विशेष पहल भयो। त्यसैगरी उहाँले दलित नागरिक आन्दोलनको संयोजन गर्ने काम गर्नुभयो।दर्नाल अवार्ड स्थापना र विभिन्न व्यक्ति सम्मानसामाजिक न्यायका अभियान्ता स्व.सुभाष दर्नालको स्मरणमा दर्नाल अवार्ड स्थापना गरिएको छ। अन्तर्राष्ट्रियस्तरको उक्त अवार्ड रु ५ लाख राशीको रहेको छ। हालसम्म सिन्धुपाल्चोक मेलम्चीको गरिब बस्तीको एक प्राथमिक विद्यालयलाई र क्रमशः दलित आन्दोलनका जुझारु युवाहरु कपिलवस्तुका रक्षाराम हरिजन, अछामका दुर्गा विश्वकर्मा, वैतडीकी सरस्वती नेपाली दर्नाल अवार्डबाट सम्मानित भैसक्नु भएको छ। उक्त पुरस्कार उहाँको पत्नी सरिता परियारले ‘सरिता परियार ट्रष्ट फण्ड’ मार्फत हरेक २ वर्षको अन्तरालमा अगष्ट १५ का दिन ४० वर्ष मुनीका दलित युवाहरुलाई दर्नाल अवार्ड प्रदान गरिदै आएको छ। यसअघि सुभाष दर्नालको वार्षिक पुण्यतिथिमा प्रदान गर्दै आएको सामाजिक न्यायका लागि दर्नाल पुरस्कार उहाँको जन्मदिन जुन ८ मा भएकाले २०२२ जुन ८ मा भव्य कार्यक्रम गरिएको थियो।वर्ष कर्णाली कला केन्द्र मुगु र इक्वालिटी ल्याब अमेरिकालाई संयुक्तरुपमा दर्नाल अवार्ड २०२२ प्रदान गरेको छ। यी २ संस्थाले सामाजिक न्यायको क्षेत्रमा पुराएको योगदानलाई कदर गर्दै सरिता परियार ट्रष्टले सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दर्नाल अवार्ड प्रदान गरेको हो।
त्यस्तै, ट्रस्टले गतवर्ष सन् २०२२ अगष्ट १५ मा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरुद्वका अभियान्ता करुणा त्रिखतीलाई सम्मानसमेत गरेको छ। दलित अधिकार र विभेदरहित समाज स्थापनाका लागि संघर्ष गरेका सामाजिक अभियान्ता स्वर्गीय सुभाष कुमार दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशी ५ लाख रहेको छ। यो अवार्ड २०७३ सालदेखि प्रदान गर्दै आएको छ।सुभाषले गरेका उपलब्धिहरुःसुभाष दर्नालले सन् २००८/०९ मा अमेरिकास्थित रेगम–फेसिल डेमोक्रेसी फेलोसिप प्राप्त गर्नुभएको थियो। उहाँले समावेशी लोकतन्त्रका लागि सकारात्मक विभेदबारे अध्ययन गर्नु भएको छ। त्यस्तै उहाँको लेखनमाःसंविधान सभामा दलितःसभासद संवाद,उहाँको सम्पादनमा आरक्षण र विशेषाधिकारको राजनीतिक पुस्तक प्रकाशित भएका छन् भने लोकतन्त्र र दलित अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित गर्नु भएको छ।सुभाषको मृत्यु भैसकेपछि उहाँले गरेका सिर्जनशील र रचनात्मक दलित आन्दोलनलाई नयाँ उचाईमा पुराउन उहाँले थालनी गरेका योजना र प्राज्ञिक दृष्टिकोणलाई जीवन्त राखी निरन्तरता दिन नेपालमॉसुभाष दर्नाल स्मृति प्रतिष्ठान’ गठन भएको छ। उहाँको मृत्यु भएको वर्ष दिनको अवसरमा प्रतिष्ठानका तर्फबाट सुभाष दर्नालसँग सम्बन्धित परिवारजन,मानवअधिकारकर्मी, दलित आन्दोलनकर्मी तथा सह–योद्धाहरुको स्मरणहरुको संगालोको रुपमा ‘सुभाष दर्नाल स्मुति ग्रन्थ’नामक महत्वपूर्ण पुस्तक प्रकाशित भएको छ। उक्त ग्रन्थमा उहाँको बाल्यकालदेखि युवाअवस्थामा आईपुदासम्मका निरन्तर संघर्षका नाली बेलीहरु प्रष्टसंग देख्न सकिन्छ।

जन्मथलो मुझुङ पाल्पादेखि कर्मथलो बुटवल, काठमाण्डौ र अन्तराष्ट्रिय देश अमेरिकाको यर्थाथ विषयवस्तुलाई समष्टिगत रुपमा उल्लेख गरिएको छ। यसरी ३१ वर्षको कलिलो उमेरको युवा अवस्थामै उहाँकी धर्मपत्नी सरिता परियार र १ वर्षको अवस्थामै सानी छोरी सामना लगायत हामी सबैले आदरणीय व्यक्ति गुमाउनु परेको छ। तरपनि कठीन परिस्थितीलाई सम्हालेर मनलाई दर्बिलो बनाई आफ्नो जीवन चलाउनु पर्दो रहेछ। यसरी नेपालको दलित आन्दोलनलाई संस्थागत विकास गर्न र आम नागरिकको मानवअधिकारको रक्षाका लागि सुभाष दर्नालको महत्वपूर्ण योगदान रहेको छ। आज हामी बीच उहाँ भौतिक रुपमा जीवित नभएतापनि उहाँले सञ्चालन गरेका संस्थाहरुको प्रगति र उन्नतिले फेरि पनि सुभाष दर्नाल यताकता मानसपटलमा रहिरहनु हुनेछ।  हार्दिक श्रद्धासुमन दाजु सुभाष।(लेखकः राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीका कोषाध्यक्ष हुन्।)

प्रकाशित मिति: : 2023-08-15 19:00:00

प्रतिकृया दिनुहोस्