पूर्वमुख्यमन्त्री कार्कीका दाजुभाइ ४५ वर्षदेखि सत्तामै, विकासका काम अधुरै !

File Photo
File Photo

निर्वाचन क्षेत्रमा आलोचित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिम्मेवारी दुरुपयोग गरेको गृह नगर गाैरादहका मेयर छत्रपति सुवेदीले आराेप लगाएका छन्। सुवेदीले कार्की पूर्वाग्राही भएको आरोप लगाए। पूर्वमुख्यमन्त्री कार्कीले जिम्मेवारीको दुरुपयोग गरेर लागत अनुमानको दोब्बर रकम केही योजनामा हालेका छन्।

गाैरादह-१ काे लालपानी पुल निर्माणका लागि ५० लाख रुपैयाँ लागत अनुमान गरेकोमा १ करोड रुपैयाँ विनियाेजन गरेको सुवेदीले बताए। ‘कार्कीले जिम्मेवारी दुरुपयोग गरी मनलाग्दी गरेका छन्’, सुवेदीले भने, ‘अघिल्लो वर्ष राताे किताबमा समावेश भएका ४ वटा सडक काटेका छन्। कार्कीले आफ्नाे वडा हुँदै जाने सडकलाई २ करोड ७० लाख रुपैयाँ छुट्याउँदा सबैभन्दा धेरै चलेको सितापुरी रंगपुर दामुना सडककाे नाम भने काटेका छन्।’

सुवेदीले अघिल्लो आर्थिक वर्षमा संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेका र ठेक्का लागेका ८ वटामध्ये ४ वटा सडकको नाम नै हटाइएको बताएका छन्। ४ वटा सडकका लागि मात्रै नगन्य रकम विनियोजन गरिएको बताउँदै उनले भने, ‘खरेलडाँडा गौरीगञ्ज सडकलाई २ करोड ७० लाख विनियोजन भएको छ। याे सडक कार्कीकै वडा हुँदै जान्छ।’

नगर प्रमुख सुवेदीका अनुसार गुराँस चौक चप्रामारी झुनावारी सडक, सितापुरी, रंगपुर स्कुलचौन सडकमा पटकपटक धाउँदा समेत नराखेको बताए। ‘सबैभन्दा बढी सार्वजनिक सवारीका साधन गुड्ने सितापुरी रंगपुर स्कुलचौन सडक प्रदेश सरकारले प्राथमिकतामा राखेन’, सुवेदीले भने, ‘चियादोकान सेतुमारी चैतु चौक सडक, गौरादह शनिश्चरे सडक अहिले प्रस्तावित बजेटमा छैन, बहुवर्षे कार्यक्रममा राख्न मुख्यमन्त्रीलाई अनुरोध गरेका थियौँ, सुनुवाइ हुन सकेन।

यसअघि यी सडक संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। तर यसपटक कार्यक्रम पुस्तिकामा सडक नभेटिएको सुवेदीले बताए।

निरन्तर आलाेचित कार्की दाजुभाइ

हिक्मत कार्की राजनीति रुपमा गाैरादह सँगै यस क्षेत्रमा पुराना कार्यकर्ता हैनन्। दाजु दिपककाे राजनीतिक आडमा उनी झापा झरेका हुन्। माधवकुमार नेपाल पार्टी प्रमुख हुँदा जिम्मेवारी नपाएका उनी केपी शर्मा ओली पार्टी प्रमुख हुँदा केन्द्रीय सदस्य र अहिले स्थायी कमिटी सदस्य छन्।

एमालेका केन्द्रीय स्तरका एक नेताका अनुसार कार्कीले बिलाैना गरेर स्थायी कमिटी मागेका थिए, सुरूवातकाे सूचीमा उनको नाम थिएन। ती नेताले भने, ‘झापाको ईञ्चार्ज अग्नी खरेललाई बनाएपछि ब्यालेन्सका लागि कार्कीलाई स्थायी कमिटीमा लगिएको हाे।’

सत्ता प्राप्तिको लागि मात्रै केन्द्रीत यी दाजुभाइ पटकपटक विवादमा छन्। दाजु दिपक गाैरादह पाेखरी पर्यटकीय विकास समितिकाे अध्यक्ष भएर भाइ हिक्मतले मुख्यमन्त्री हुँदा ४ करोड पाेखरीमा छुट्याएका छन्। जबकि अहिलेसम्म पाेखरीमा ३ करोड बढी खर्च गर्दासमेत केही काम देखिएको छैन।

४५ वर्षदेखि सत्तामा

अघिल्लो स्थानीय निर्वाचनमा एमालेका नेता मदन अधिकारीलाई हराएको आराेप अहिलेसम्म खेपिरहेका छन्, दाजुभाइले। दिपक कार्की जनपक्षीय उपप्रधानपञ्च, गाविस अध्यक्ष २ पटक, संविधानसभा सदस्य २ पटक भइसकेका छन्। अहिले एमाले जिल्ला अध्यक्ष छन्।

‘दाजुभाइले पालाेपालाे अहिलेसम्म ४५ वर्ष शासन गरे’, एमाले जिल्ला कमिटीमा पराजित एक नेताले भने, ‘अब भाउजू लिला कट्टेल उम्मेदवार बनाउने कसरतमा छन्। भाइ हिक्मत दाेस्राे कार्यकाल प्रदेशसभा सदस्य छन्।’

प्रकाशित मिति: : 2023-08-14 13:06:00

प्रतिकृया दिनुहोस्

    पैसा कमाउन राजनीतिलाई भर्‍याङ बनाएका कार्की दाजुभाइलाई अब निर्वाचनमा परास्त गर्नुपर्छ नत्र झापाली जनताले सुसासनको कल्पना नगरे हुन्छ।हिक्मत कार्की यो चुनावमा पराजित हुने निश्चिति छ उनले प्रदेश १ को नाम कोशी राखेर यहाँका जनतासँग पौठेजोरि खेल्ने दुस्साहस गरेका छन्।

    • एक बर्ष अगाडि
    • santosh prangden