नवरात्र व्रतको छैठौं दिन माता कात्यायनी देवीको पूजन–अर्चन हुन्छ। देउताहरुको कार्य सिद्धिको लागि देवी कात्यायन ऋषिको आश्रममा प्रकट भएकी थिइन् र महर्षिले उनलाई आफ्नी कन्या मानेर उनको सुश्रुषा गरेर पालन गरेका थिए। त्यसैले ‘कात्यायनी’ नामले उनको प्रसिद्धि भएको थियो।
यिनको रूप–रङ्ग, देह यष्टि अत्यन्त मनोहर तथा सौम्य छ। चतुर्भुजा यस देवीको हातमा मानव कल्याणकारी तथा दैत्य विनाशक अस्त्रहरु धारण रहेको तथा अभय वरदानको मुख–मुद्रा छ। कात्यायनी देवीसँग भक्तहरुको सकल मनोरथ पूर्ण गर्न सक्ने सामर्थ्य छ। अतः नवरात्रको छैठौं दिन कात्यायनी देवीको भक्ति, भावना तथा आत्र्त भई पुकारा गर्नाले उनी छिट्टै प्रसत्र भई भत्रःहरुको मनोकांक्षा तत्काल पूर्ण गर्दछिन् भन्ने धार्मिक विश्वास छ।
पूजन विधान अनुसार जुनसुकै देवी–देउताको पनि पञ्चोपचार, यथा–गन्ध, पुष्प, धूप, दीप र नैवेद्य। दशउपचार–यथा–पाद्य, अघ्र्य, आचममन, स्नान, वस्त्र,निवेदन, गन्ध, पुष्प, धूप, दीप र नैवेद्य तथा षोड्स उपचार यथा–पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, आभूषण, गन्ध, पुष्प, धूप, दीप, नैवेद्य, आचमन, ताम्बूल, स्तवपाठ, तर्पण र नमस्कार आदि तीनवटै विधि अनुसार गर्न सक्ने प्रावधान धर्मग्रन्थहरुले निर्दिष्ट गरेका छन् तर नवरात्र, सतचण्डी, सहस्त्रचण्डी आदि विशेष पूजामा दुर्गा माताको कम्तिमा षोड्स उपचार अनुसारको पूजा गर्नुपर्ने आवश्यक हुन्नछ।
यी उपचार विधि अनुसारको पूजा हामीले घरमा निम्त्याएको पाहुनाहरुलाई पनि गर्नुपर्छ। यसकै अवशेषको रूपमा घरमा आएका पाहुनालाई आउने बित्तिकै हात, खुट्टा तथा मुख धुलाउनको लागि अघ्र्य, पाद्य र आचमनको लागि गाग्रोमा पानी र खन्याईदिने चलन व्यवहारमा रहेको देखिन्छ।
यसवर्ष असाेज शुक्लपक्षमा षष्ठी तिथिको क्षय भएको हुनाले देवी कात्यायनी र सातौं दिन हुने कालरात्रीको पूजा एकै दिन हुने निर्दिष्ट गरिएको छ। वस्तुतः यस वर्षको नवरात्र व्रत नौ दिनको नभई आठ दिनको मात्र हुनेछ। दुर्गा सप्तशतीमा दुर्गा देवीको प्रसत्रार्थ केही अन्य स्तोत्रहरु पनि द्रष्टव्य छन्। यसमा उल्लेखनीय रूपमा ‘श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्’ रहेको छ। यसमा दुर्गादेवीको एक माला (१०८) नाम छन्। यसको जाप गर्नाले दुर्गादेवी शिघ्र प्रसत्र भएर भक्तहरुको मनोवाञ्छित कामना पूर्ण गर्दछिन् भने धार्मिक विश्वास गरिन्छ। यस सम्बन्धमा भनिएको छ–गोरोचनालक्तककुङ्कुमेन सिन्दुरकर्पूरमधुत्रयेण। विलिख्य यन्त्रं विधिना विधिज्ञो भवेत सदा धारयेत पुरारिः।। अर्थात् गोरोचन, लाहा, कुङ्कुम, सिन्दूर, कपूर, घीउ वा दूध, चिनी र मह–यी वस्तुहरुलाई एकत्रित गरेर यिनीहरुबाट विधिपूर्वक यन्त्र लेखि जुन विधिज्ञ पुरूषले सधै यस यन्त्रलाई धारण गर्दछ उ शिवतुल्य भइहाल्दछ।
यस अतिरिक्त दुर्गा सप्तशतीमै दुर्गा भगवतीको पूजन गर्नको लागि ‘श्रीदुर्गा मानस–पूजा’का मन्त्रहरु पनि दिइएका छन। यस पूजा कुनै पनि बाहिरी पूजा सामग्रीको आवश्यकता पर्दैन। पूजा भने षोड्स उपचार विधि अनुसार नै हुन्छ तर जम्मैको सम्पादन मनसा–कल्पना अनुसार हुन्छ। अफ्र्य, पाद्य, आचमन, नैवेद्य, स्नान आदि जम्मै पुजन सामग्री मनसा कल्पनाद्वारा नै भगवतीलाई अर्पण गरिन्छ। लेखिएकोछ–एतैः षोड्शभिः पद्यैरूपचारोपकल्पितैः। यः परां देवतां स्तौति स तेषां फमाप्नुयात्। अर्थात् उपचारकल्पित सोरहवटा पद्यहरुबाट जसले परा देउता त्रिपुरसुन्दरीको स्तवन गर्दछ, त्यसले ती उपचारहरुको समर्पणको फल प्राप्त गर्दछ।
नवरात्र पर्वको छैठौं दिन हामीहरु दुर्गादेवीको पूर्ण भक्ति र आस्थापूर्वक प्रार्थना गरौं–या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै..नमस्तस्यै..नमस्तस्यै नमो नमः.., या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता, नमस्तस्यै..नमस्तस्यै..नमस्तस्यै नमो नमः..,!
(स्वर्गीय उमाशङ्कर द्विवेदी ‘दधीचि’ लेखेकाे याे लेख आर्काइभबाट तानिएको हो।)