बालुवाटार जग्गा प्रकरणबारे माधव नेपालले भने- म आत्तिएको छैन, छानबिनमा सहयोग रहन्छ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा छानबिनका सहयोग गर्ने बताएका छन्।

स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै लेनदेन नगरेकाले नआत्तिएको बताए।

‘नबिराउनु, नडराउनु मैले बिराएको कुनै अपराध, भष्टाचार र लेनदेन गरेको छैन। म आत्तिएको छैन। देशको निम्ति केही गर्छु भनेको बेला बालुवाटारमा मेरो नाम अग्रपंत्तिमा राख्नु गलत हो। छानबिन होस्, छानबिनमा मेरो सहभागिता, सहयोग रहने छ’, नेपालले भने।

नेपालले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेका दावी गरे। उनले नेपाल सरकारको नामको जग्गा नेपाल सरकारकै नाममा हुनुपर्ने बताए। घटनामा संलग्नलाई कारवाही हुनुपर्ने उनको भनाई छ।

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए। ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको उनको टिप्पणी थियो। उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे भएकाले फेस गर्ने जिकिर गरेका छन्।

प्रकाशित मिति: : 2023-08-14 11:09:00

प्रतिकृया दिनुहोस्