क्रिकेट मैदानबाट पाइला मोडेका एक जोडी

file photo via can
file photo via can

सन् २०१४ मा पारस खड्काले नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै बंगलादेश पुग्दा उनको सहयाेगीका रुपमा थिए, ज्ञानेन्द्र मल्ल। अर्थात्, पारस नेपाली क्रिकेट टोलीको कप्तान थिए भने ज्ञानेन्द्र उपकप्तान।

सन् २०१४ मा नेपाल पहिलोपटक २० ओभरकाे विश्वकप छनाेट खेल्न उनीहरुको नेतृत्वमा नेपाली क्रिकेट टोली बंगलादेश पुग्यो। छनोट खेलमा हङकङलाई हराउँदै इतिहासमै पहिलो पटक नेपाल २० ओभरकाे विश्वकप क्रिकेटमा सहभागी भएको थियो।

यसले नेपाली क्रिकेटको उचाइ त बढेको थियो नै, क्रिकेटमा नेपाली समर्थक बढ्यो पनि। छनोट खेलमा हंङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो।

जितका लागि कप्तान पारस खड्काले ३९ बलमा सर्वाधिक ४६ रन बनाएका थिए। त्यसपछि पारसको उचाइ जसरी बढ्दै थियो, नेपाली क्रिकेटको उचाइ पनि अग्लिदै गयो। त्यो उचाइ आजपर्यन्त छ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल प्रवेश पाउँदा नेपाली क्रिकेट सिमित समर्थकमा चर्चा हुन्थ्यो। तर, २०१४ पछि नेपाली क्रिकेट नेपाली खेलजगतको सर्वाधिक चर्चा हुन खेलमा पर्‍यो।

यो पारस–ज्ञानेन्द्रको कसिलो नेतृत्वले गर्दा हो। नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमै नेपालका उपकप्तान रहेका ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेर इतिहास रचे। त्यसपछि इतिहास रच्नेक्रम एकपछि अर्को चलिरह्यो।

भलै पारसको कप्तानी र ज्ञानेन्द्रको उप–कप्तानीमा टि– २० खेलमा आयोजक राष्ट्र बंगालदेशसँग नेपालले पराजय भोग्यो। नेपालको त्यो पराजय नेपाली क्रिकेट समर्थकलाइ पराजयको आभास भएन।

त्यस्तै यी दुईकै कप्तानी र उपकप्तानीमा सन् २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्टिय (ओडिआई) म्याच खेल्यो। जसमा पनि नेपालले जित निकाल्न सकेन। नेपाल जित निकाल्न नसकेपनि पारस–ज्ञानेन्द्रको नेतृत्वको प्रशंसा कम भएन।

तर, नेपाली क्रिकेटमा अटल भूमिका निर्वाह गरेका यी दुबै जना नेपाली क्रिकेट टाेलीमा आज छैनन्। पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेटको नेतृत्व गरे। एक दशक नेपाली क्रिकेटको पारसले नेतृत्व गर्दा सह नेतृत्वको रुपमा ज्ञानेन्द्र रहे।

२०१९ मा पारसले सन्यास लिएपछि ज्ञानेन्द्र कप्तान बने। ज्ञानेन्द्रको कप्तानीमा कुनै ठुलो प्रतियोगितामा नेपाली क्रिकेट सहभागी त भएन। तर, दुई वर्ष नेतृत्वमा रहँदा ज्ञानेन्द्रले खेलाडीको सेवा सुविधाका आवाज उठाए।

त्यही आवाज उठाएको बहानमा नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई कारबाही गरी सन्दीप लामिछानेलाई कप्तान बनायो। यद्यपि, कप्तान बनेको वर्ष दिन नपुग्दै सन्दीप बालिका करणी प्रकरणमा मुछिए। कप्तानी खोसियो, रोहित पौडेल कप्तान बने।

क्यानले कप्तानी खोसेको भएपनि ज्ञानेन्द्र आजपर्यन्त नेपाली क्रिकेट टिममा छन्। साउन १९ गतेदेखि भने अन्तर्राष्ट्रिय क्रिकेट नखेल्लने उनले घोषणा गरे।

१० वर्ष लामो उपकप्तानी र दुई वर्ष कप्तानको भूमिका निर्वाह गरेका ज्ञानेन्द्रले थुप्रै खेल खेले। ज्ञानेन्द्रले समूह चरणको सबै खेल यु– १५ यु– १६ र यु– १९ बाट खेल्दै आएका हुन्।

काठमाडौँको भिमसेनथाका ज्ञानेन्द्र क्रिकेट खेल्न आफूले निकै संघर्ष गर्नु परेको बताउँछन्।

यता, पारस पनि समूहगतको सबै खेल यु– १५ यु– १७ र यु– १९ हुँदै राष्ट्रिय टोलीमा आइपुगे। उनले यु– १९ मा उपकप्तानको समेत भूमिका निर्वाह गरे। पारस र ज्ञानेन्द्र सन् २००६ देखि नै एकसाथै राष्ट्रिय टोलिमा खेलेका हुन्।

सन् २००९ मा तत्कालीन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ कप्तानमा भित्रिए। सोही वर्ष ज्ञानेन्द्र उपकप्तान बने। त्यसपछि सुरु भयो पारस र ज्ञानेन्द्रको युग।

जब–जब खेलमा नेपाली क्रिकेटलाई कठिन अवस्था आउँथ्यो, अनि समर्थकको हुटिङ हुन्थ्यो। पारस खड्का हाईहाई ! ज्ञानेन्द्र मल्ल हाईहाई !

मैदानमा मात्र नभई उनीहरुबीच मैदान बाहिर पनि राम्रो सम्बन्ध रहेको क्रिकेट संघका म्यानेजर विनोद दासले बताए। ‘मैदानभित्र उहाँहरुको केमेस्ट्री त सबैलाई थाहा छ, एकदमै राम्रो थियो। त्यो उहाँहरुले खेलेको रिजल्टमा पनि देख्न सकिन्छ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘मैदान बाहिर पनि उहाँहरु एकआपसमा एकदम मिल्नुहुन्थ्यो। उहाँहरुले आफ्नो–आफ्नो विचार अर्कालाई सुनाउनु हुन्थ्यो।’

यी दुबैको कप्तानी र उपकप्तान भए लगत्तै नेपाली टोलीले सन् २०१० मा भएको डिभिजन– ५ को उपाधि हासिल गरेको थियो।

क्रिकेट खेलको एक युग आफ्नो बसमा पारेका पारस–ज्ञानेन्द्र खेल जीवनबाट टाढा हुँदैछन्। शुक्रबार ज्ञानेन्द्रले १८ वर्षीय खेलजीवनलाई टुंग्याए। ‘कप्तान र उपकप्तान दुबैको भूमिकामा रहेर देशको झन्डा काँधमा बोकेर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ,’ ज्ञानेन्द्रले भने, ‘राष्ट्रले दिएको दायित्वलाई निभाउँदै मैदानमा उत्रिँदा शतप्रतिशत दिने प्रयास गरेको थिएँ।’

ज्ञानेन्द्रले नेपाली क्रिकेटलाई दिएको योगदान शब्दमा बयान गर्न नसक्ने पारसले बताए। ‘ज्ञानेन्द्रले नेपाली क्रिकेटको लागि ठुलो भूमिका निभाउनुभएको छ,’ पारसले बिएल नेपाली सेवासँग भने, ‘उहाँले नेपाली क्रिकेटलाई गरेको समर्पण शब्दमा बयान गर्न सकिँदैन।’

एकदशक नेपाली क्रिकेटमा एकछात्र राज गरेका यी दुवै सन् २०१४ मा मलेसियामा भएको डिभिजन– ३ लिगको उपाधि नेपालको लागि उचाले। सोही वर्ष नेपालले पहिलो अन्तर्राष्ट्रिय ओडिआई खेल्यो। नेपाली क्रिकेटले सन् २०१४ लाई क्रिकेटको इतिहासमा कहिले भुल्न सक्दैँन्।

‘२०१४ मा नेपालले खेलेको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितमा पारस र ज्ञानेन्द्र दुवैले महत्वपूर्ण योगदान दिनु भएको थियो। त्यो बेला उहाँहरु दुवैले ब्याटिङ्ग धान्नु भएको थियो,’ विनोद भन्छन्न्, ‘त्यो बेलाकै उहाँहरुको योगदानले थाहा हुन्छ, उहाँहरु दबैजना दुई दशकदेखि नेपाली क्रिकेटको स्तम्भको रुपमा काम गरिरराख्नुभएको छ।’

एक समय यस्तो थियो, जहाँ पारस र ज्ञानेन्द्रले नेपालको ब्याटिङ धान्दै आइरहेका थिए। पारसकै कप्तानी र ज्ञानेन्द्रको उपकप्तानीमा नेपालले सन् २०१३ मा भएको बुमुर्डा डिभिजन– ३ को उपाधि नेपाल भित्राए। सन् २०१२ देखि २०१९ सम्म नेपाली क्रिकेट जगत पारस र ज्ञानेन्दमय बन्यो।

यस्तै यी दुबैको नेतृत्वमा सन् २०१५ मा पनि डिभिजन– २ को खेलपछि नेपाल सन् २०१५ देखि १७ सम्म आइसीसी विश्व क्रिकेट च्याम्पियन लिगमा छनोट हुन सफल भयो।

०००

नेपाली क्रिकेटमा एउटा यस्तो समय थियो, जहाँ आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतिबन्ध लगाएको थियो। जहाँ नेपाललाई मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुबाट खेल्न बञ्चित गरेको थियो। त्यसबखत पनि यी दुवै जनाले आफ्नो नेतृत्व सम्हालेर टिमलाई अझै बढी बलियो बनाए।

एउटा टिममेटमा हुनुपर्ने गुण ज्ञानेन्द्रमा भएको पूर्वकप्तान पारसको भनाइ छ। ‘टिममेट मात्र नभई उनलाई मैले व्यक्तिगत रुपमा अझै राम्ररी चिनेको छु,’ उनले भने, ‘एउटा टिमेटमा हुनुपर्ने गुण सबै उहाँमा थियो।’

सन् २०१२ मा उपकप्तानको भूमिका निर्वाह गरेका ज्ञानेन्द्रले एसीसी ट्रफी इलाटी ट्रफीमा नेपालबाट सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने। त्यस्तै सोही खेलमा नेपालका तत्कालीन कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेटमा नेपालबाट अर्धशतक प्रहार गर्न छैटौं खेलाडी बनेका बने। यो खेलमा पनि यी दुबै निकै जमेका थिए।

सन् २०१८ मा उनीहरुकै नेतृत्वमा नेपालले पहिलोपटक एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्‍याे। नेपाली घरेलु मैदानमा पनि पारस र ज्ञानेन्द्रको नाम चौतर्फी गुन्जिरहन्थियो।

सन् २०१९ को एसियाली खेलकुदमा भुटानसँग भएको खेलमा उनीहरुले रेकर्ड तोडे। टि– २० अन्तराष्ट्रियका लागि पहिलो विकेटका लागि दुवैको सर्वाधिक साझादारी रेकर्ड थियो।

तर, सन् २०१९ मा कप्तानको भूमिका निर्वाह गरिरहेका कप्तान पारसले खेल जीवनबाट सन्यास लिए। सन्यास लिँदै गर्दा उनले क्यानको नेतृत्वमा आउने संकेत गरेका थिए।

ठिक त्यही दिन दुई वर्षपछि अर्थात् साउन १९ गते ज्ञानेन्द्रले पनि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए। अन्तराष्ट्रिय खेलबाट सन्यास लिएको बताए पनि उनले आफू घरेलु प्रतियोगितमा पनि देखा नपर्न बताएका छन्।

ज्ञानेन्द्र पछिल्ला केही खेलहरुमा देखा पर्न छाडिसकेका थिए। उनी मैदानमा भन्दा बढी बेन्चमा देखा पर्थे। तर, सन्यास लिँदै उनले आफ्नो यात्रा यही नसकिएको बताएका छन्। उनले भनेका थिए, ‘अब नयाँ अध्याय सुरु भयो।’

प्लेइङ– ११ (११–खेलाडी)मा नपर्दा ज्ञानेन्द्रले सन्यासको घोषणा गरेको हुनसक्ने कतिपयको तर्क छ। तर, पारस भने यस कुरामा सहमत छैनन्। ‘कुनै यस्तो समय थियो जहाँ उहाँले ओपनरको भूमिकादेखि अलराउन्डरको भूमिकासम्म निर्वाह गर्नुभयो,’ पारस भन्छन्, ‘परेको ठाउँमा फिल्डिङ गर्नुभयो, टिमलाई सन्तुलित बनाएर राख्नुभयो।’

प्रकाशित मिति: : 2023-08-07 21:50:00

प्रतिकृया दिनुहोस्