सुन काण्डको अनुसन्धान मालिकसम्मै पुग्छ– माओवादी नेता सापकोटा

नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले ‘सय किलो सुन प्रकरणमा’को अनुसन्धान मालिकसम्मै पुग्ने दाबी गरेका छन्। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकबाट बाहिरिँदै गर्दा नेता सापकोटाले सुन प्रकरणको अनुसन्धान भारियामा मात्रै सिमित नभएर मालिकसम्मै पूग्ने दाबी गरे।

‘भरियामा मात्र सिमित भएको जालो जरोसम्म पुग्न राजस्व विभागलाई जिम्मा दिएकाले तत्काल छानबिन आयोग भन्दापनि मूल मान्छेमा जान वा मालिकसम्म पुग्न हामी लागेका छौँ’, सापकोटाले भने, ‘प्रकरणलाई धुमिल बनाउन तस्करलाई उचाल्ने काम भइरहेका छ। तर, यसपटक भरियामात्रै होइन, मालिकसम्म पुग्नेगरी हामी लागेका छौँ।’

उनले आफ्नो पार्टीका नेता कृष्णबहादुर महरालाई सुन तस्करसँग जोडेर भ्रम फैलाइएको भन्दै गुनासो पोखे। ‘कुष्ण महरा सरको कुरा औपचारिक रुपमा छैन। पत्रिकामा पक्राउ परेकाहरुको बयान र मुचुल्कासहित आएको छ। सय किलो सुन विषयमा सुन तस्करलाई उचाल्ने काम भइरहेको छ। महारा सरको कुरामा पनि छलफल हुन्छ। अध्यक्ष कमरेड पनि धृणतापूर्वक लाग्नु भएको छ।’

उनले प्रतिपक्षहरुले सुन प्रकरणको अनुसन्धानलाई गिजोल्न खोजेको आरोप लगाए। प्रतिपक्षीहरुले छानबिन समितिको माग गर्नु गलत भएको उनको भनाइ छ। ‘यो अनुसन्धान अहिले प्रहरी र कर्मचारीहरुले गरिरहेका छन्। उनीहरु कुनै दलका होइनन्। अब प्रहरी र कर्मचारीमाथि अविश्वास गर्नु हुँदैन। प्रहरीले सकेनन् भने मात्रै बल्ल विज्ञ नयाँ छानबिन गरौँला।’

उनले प्रतिपक्षले छानबिन समितिको बहाना बनाएर अनुसन्धान सेलाउन खोजेको आरोप लगाए।

प्रकाशित मिति: : 2023-08-02 18:27:00

प्रतिकृया दिनुहोस्