अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको नवौ दिन समूह डी अन्तर्गत दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा इङ्ल्याण्डले डेनमार्कलाई र दोस्रो खेलमा चीनले हाइटीलाई समान १-० गोलअन्तरले पराजित गरेर अघिल्लो चरणमा प्रवेशको सम्भावना कायमै राखेका छन् ।
पहिलो खेलमा इङ्ल्याण्डकी लरेन जेम्सले खेल सुरू भएको ६ मिनेटमै पहिलो र एक मात्र निर्णायक गोल गरिन् । दोस्रो खेलमा चीनकी वाङ् सुहाङले ७४औं मिनेटमा त्यो पनि पेनल्टी पाएर गोल गरिन् । २९ मिनेटमा रातो कार्ड पाएर झ्याङ रूईले मैदान छोड्नु परेपछि बाँकि समय चीन १० जना खेलाडीमै सिमीत रह्यो ।
समूह डी अन्तर्गत रहेका इङ्ल्याण्ड, चीन, डेनमार्क र हाइटीले समान दुई-दुई खेल्दा इङ्ल्याण्ड ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने चीन र डेनमार्क समान ३ अंकका साथ इङ्ल्याण्डलाई पछ्याइरहेका छन् । समान अंक भए पनि गोलअन्तरका आधारमा डेनमार्क दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । समूह चरणको खेलबाट हरेक समूहबाट दुई टीम नकआउट चरणमा प्रवेश गर्ने भएकाले यस समूहबाट इङ्ल्याण्ड, चीन र डेनमार्कमध्ये दुई टीम अर्को चरणमा प्रवेश गर्ने प्रवल सम्भावना देखिन्छ । पहिला दुबै खेलमा पराजित हाइटीको भने अर्को चरणमा प्रवेश गर्ने सम्भावनाको ढोका लगभग बन्द भैसकेको छ ।
समूह चरण अन्तगर्त समूह डी का अन्तिम दुई खेल मंगलबार हुनेछन् । चीनले इङ्ल्याण्ड र डेनमार्कले हाइटीसँग प्रतिस्पर्धा गर्ने यी खेलमा चीन र डेनमार्क राम्रो गोल अन्तरले बिजयी भए भने यी दुबै टीम नै अन्तिम १६ मा पुग्नेछन् । तर, त्यसो नभएर इङ्ल्याण्ड विजयी भयो भने चीन प्रतियोगिताबाट बाहिरिने छ । अर्को खेलमा हाइटीभन्दा डेनमार्कको सम्भावना बलियो देखिए पनि सुरूदेखि नै प्रतिस्पर्धात्मक खेल खेलिरहेको हाइटीले डेनमार्कलाई स्तव्ध नपार्ला भन्न सकिन्न । हाइटीले राम्रो गोल अन्तरले जित्यो र अर्को खेलमा चीन ठूलो गोलअन्तरले हार्यो भने इङ्ल्याण्ड र हाइटी अर्को चरणमा प्रवेश गर्न सक्छन् ।
यो समूहमा अझै पनि नकआउट चरणमा को को पुग्छन् यसै भन्न सकिने अवस्था छैन । त्यसको लागि भने मंगलबारको परिणाम नै पर्खनुपर्ने हुन्छ ।