निर्वाचन आयुक्तलाई मानहानिकाे मुद्दा ठोक्नुपर्छ– प्रदीप यादव

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले निर्वाचन आयुक्तलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरुलाई जरिवाना तिराउने सन्दर्भमा निर्वाचन आयोगले गम्भीर त्रुटि गरेको भन्दै आज (बुधबार)को प्रतिनिधिसभा बैठकमा बोल्दै निर्वाचन आयुक्तलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्।

निर्वाचन खर्च विवरणका सन्दर्भमा आयोगले योजना बनाएर जनप्रतिनिधिहरुको चरित्र हत्या गर्न खोजेको उनको भनाइ छ। ‘जनप्रतिनिधिहरुको चरित्रहत्या गर्नेगरी, प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो जबकि हामीले समयमै आफ्नो खर्चको विवरण बुझाएका छौँ,’ उनले भने, ‘जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ।’

उनले निर्वाचन आयुक्तले कानुनको आफैं व्याख्य गरेर जनप्रतिनिधिको चरित्रहत्या गरेको भन्दै आयुक्तलाई महाअभियोग लगाउनु पर्ने बताए। ‘निर्वाचन आयुक्तलाई म माफी माग्नको लागि अनुरोध गर्दछु’, उनले भने, ‘यदि माफी माग्नु भएन भने त्यस्ता आयुक्तलाई बाध्य भएर कि त मानहानिको मुद्दा ठोक्नुपर्छ अथवा महाअभियोग लगाउनुपर्छ।’

निर्वाचन आयोगले गत मंसिर ७ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपश्चत कानुन बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै करिब २ हजार बढीलाई उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो। तर, उक्त विवरण त्रुटिपूर्ण भएको भन्दै जनप्रतिनिधिहरुले आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-07-26 16:14:00

प्रतिकृया दिनुहोस्