राप्रपाका मेयरको ‘हैकमवाद’, दमक नगरपालिकाको सेवामा हस्तक्षेप

Break n Links
Break n Links

झापाको दमक नगरपालिकाका मेयर राम थापाले विधि विधान र प्रचलित कानुनलाई चुनौती दिँदै नियम विपरित नगरपालिकामा एकाधिकार जमाएका छन्।

आफूलाई ‘दमक नगरको सर्वोच्च हुँ’ भन्ने स्वःघोषणा गरेका उनले दमक नगरपालिकाद्धारा बर्षौंदेखि सञ्चालनमा रहेको मानवीय संवेदनासँग जोडिएका संवेदनशील सेवा प्रवाह एकद्धार प्रणालीबाट गर्ने गरेका हुन्।

उनले नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवाको उपयोग गर्नुपर्ने बिरामीलाई बोक्नसमेत आफ्नै आदेश हुनुपर्ने स्वःघोषित नियम लगाएका छन्।

नगरपालिका क्षेत्रभित्रबाट दमक अस्पतालमा प्रसुती सेवाका लागि आउँदा निःशुल्क एम्बुलेन्स सेवा दिने व्यवस्था रहेपनि मेयर थापाको निर्देशनबिना एम्बुलेन्स सेवा दिन रोक रहेको सेवाग्राहीले बताएका छन्।

मेयरको हैकमबाट आजित एक सेवाग्राही भन्छन्, ‘नगरबासीलाई जस्तोसुकै समस्या परेपनि एम्बुलेन्स र शव वाहनको सेवा लिन मेयरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ। सम्बन्धित सेवाप्रदायक कर्मचारी वा नगरपालिकाका हाकिम वा अन्य कोही पनि जनप्रतिनिधिले एम्बुलेन्स र शवबाहन पठाउन सक्दैनन्।’ 

दमक नगरबासीहरूले यसलाई ‘राम राज्य’को हद बताउँने गरेका छन्। मेयर थापाले निर्वाचनमा एमाले बाहेक पाँच दलको गठबन्धनबाट उम्मेदवार भएर कांग्रेस, माओवादी केन्द्रलगायत दलका कार्यकर्ताहरूको समेत सक्रियतामा निर्वाचन जितेका थिए।

तर, यतिबेला आफ्नै पार्टीका क्षेत्रीय अध्यक्ष समेत रहेका स्थानीय सरकार सञ्चालन र कार्यसम्पादनमा अनुभवी तथा अब्बल मानिएका वडाध्यक्ष भिम पौडेललाई समेत चुनौती दिने गरेका जानकारहरू बताउँछन्।

राप्रपाका कोशी प्रदेश अध्यक्ष समेत रहेका दमकका मेयर थापाले दमकको नगर प्रहरी टिम परिचालनमा पनि उस्तै हैकम चलाएका छन्। उनले नगर प्रहरीलाई आफ्नो आदेशभन्दा बाहिर उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरू कसैको कुरा नसुन्न र आफ्नो अघिपछि मात्रै हिंड्नुपर्ने आन्तरिक निर्देशन गर्ने गरेका सम्बद्ध स्रोतले जनाएको छ।

बजारमा आफू अनुकूल मात्रै अनुगमन हुनुपर्ने आशय राख्दै आएका मेयर थापाको क्रियाकलापमाथि शंका गर्ने आधार पनि देखिन्छ।

यसअघि बजार अनुगमन समितिले अनुगमन गर्ने क्रममा एक होटलमा अखाद्य वस्तुहरू बेचेको पाइएपछि अनुमगन टोलीसँग गएको नगर प्रहरीलाई मेयर थापाले आफूलाई नसोधी किन अनुगमनमा गएको? यहाँ मेरो आदेश मान्ने कि अरुका पछाडी कुद्ने? भन्दै झाँको झारेका थिए।

त्यसयता नगर प्रहरी उनको एकल नियन्त्रणमा रहनु परेको र कार्यालयका कामकाजमा समेत मेयरलाई नसोधी हिँडन नसकेको गुनासो गर्छन्।

मेयर थापाले नगरका फिल्डमा जाने कर्मचारीहरूलाई समेत आफ्नो आदेशबिना कहिं कतै नजान र आफूले भनेको मात्रै काम गर्न निर्देशन गर्ने गरेको आरोप छ।

दमकमा सञ्चालित दमक नगर अस्पताल सञ्चालन समितिको अध्यक्षका रुपमा पनि मेयर थापा आफैं छन्। उनी दमककै अर्को एक निजी अस्पतालका मालिक पनि हुन्।

उनले दमक नगर अस्पतालमा आफू अध्यक्ष भए यता करारमा दर्जनौंको संख्यामा कर्मचारी नियुक्त गरेका छन्। सो अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूका गतिविधि नियाल्ने अघोषित सुराक अस्पतालमै खटाउने गरेका छन्।

मेयर थापा निकट भएर काम गर्ने ति कर्मचारीहरूमार्फत सो अस्पतालबाट उपचारका लागि अन्यत्र रेफर माग्न जाने कर्मचारीलाई आफू अनुकुलका अस्पताललाई मात्रै दिलाउने गरेका छन्।

उपचारमा सहजीकरणका लागि खटिने कर्मचारीहरू समेत ‘मेयर साबले भन्नु भएको थियो, सोध्नु भएको थियो’ जस्ता कुरा गरेर उपचार सेवामा समेत मेयरको भुमिका देखाएर कन्भिन्सिङमा लागेका देखिन्छ।

प्रकाशित मिति: : 2025-02-25 14:15:00

प्रतिकृया दिनुहोस्