पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथमा गर्ने भनिएको क्षमापूजा स्थगित गरिएको छ।
चान्द्रमासअनुसार पहिलो ‘सोमबारे व्रत’ सुरु भएकै दिन एमाले अध्यक्ष ओली पशुपति जाने भनिएपनि सोमबार बिहानकाे कार्यक्रम एकाएक स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
उनी पत्नी राधिका शाक्यसहित पशुपतिनाथ मन्दिर पुगी ११ हजार शूल्क तिरेर क्षमापूजा गर्दै थिए। तर पूर्वप्रधानमन्त्री ओलीको पूजा गर्ने कार्यक्रम भने यसपटक रोकिएको कोषको भनाइ छ।
‘ओलीजी आउने कार्यक्रम थियो। हामीहरूले हिजो मात्र जानकारी पाएका थियौँ। तर एकाबिहानै नआउने भन्ने सुनियो। उहाँले यसपालि पशुपतिनाथलाई पनि झुक्काउनुभयो। हाहाहा....,’ पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले भने।
ओलीकाे निजी सचिवालयका अनुसार उनी मंगलबारमात्रै पशुपति जाने कार्यक्रम तय भएकाे छ। साउने साेमबारकाे सुरुवाती भएका कारण आज पशुपतिमा भीडभाड पनि उत्तिकै छ।
यसअघि प्रधानमन्त्री भएका बेला पनि उनी पशुपति गएका थिए। त्यो बेला उनकाे आर्थिक सहयाेगमा पशुपतिमा राखिएकाे सुनकाे जलहरि विवादमा तानिएकाे थियाे। अहिले त्याे मुद्दा अख्तियारमा समेत छ।