कोशीका गठबन्धन दलका सांसदहरुको दाबी- हामी बहुमत जुटाउँछौँ

कोशी प्रदेशमा पाँच दलीय गठबन्धन दलका नेताहरुले बुहमतको सरकार ल्याउने दाबी गरेका छन्।

आज अर्थात् शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत प्राप्त नगरेसँगै एमाले नेतृत्वको सरकार ढलेको छ। सोही क्रममा गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिँदै बहुमतको सरकार ल्याउने दाबी गरेका हुन्।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले नयाँ सरकारको निम्ति आह्वान गरेपछि गठबन्धनको तर्फबाट बहुमतसहित सरकारको दाबी गर्ने बताएका छन्। गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले गठबन्धन दल छलफलमा रहेको समेत बताए।

उनले भने, ‘एउटा प्रक्रिया भर्खरै पूरा भएको छ। मुख्यमन्त्रीज्यूले विश्वासको मत पाउनुभएन, अब नयाँ सरकारको भर्खरै प्रारम्भ हुँदैछ।’ स्वभाविक रुपमा सबै दलको दाबी रहेको बताउँदै उनले गठबन्धनमा सहमति कायम गरेर सरकारको दाबी प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलबाट जसले नेतृत्व गरेपनि यही दलले बहुमत प्राप्त गर्ने दाबी गरे। उनले मध्यावधिमा जाने दलहरुको चाहना नरहेको बताउँदै गठबन्धन दलले बहुमत प्राप्त गरेर सरकारलाई निरन्तरता दिने बताए।

‘मलाई विश्वास छ, ४७ बनाउने कुरामा संख्या त ९३ जना हुनुहन्छ, अहिले हामीसँग ४६ जना हुनुहुन्छ बाँकी रहेको संख्याबाट हामी प्रयास गराउने कोसिसमा छौँ,’ उनले भने,‘ राप्रपासमेत नयाँ सरकारमा आउने सम्भावना छ।’

सहमतिको सरकार बन्ने पनि कुरा छ नि? भन्ने प्रश्नमा उनले भने,‘ त्यो पनि कुरा भइराखेको छ, त्यो पनि हुन्न भन्ने छैन। प्रदेशको अवस्था हेरेर आर्थिक, सामाजिक, राजनीतिक कुरा र राजनीतिक कुरालाई भन्ने हो भने हामीले सहमतिको सरकार बनाउन सक्ने अवस्था छैन भन्न किन्न।’ यद्यपि गठबन्धन दलभित्रैबाट बहुमत पुर्याएर सरकार चालउने कोशिस गर्ने उनले जिकिर गरे।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको प्रष्ट पारे। केन्द्रमा त्यही खालको समझदारी भए जुनसुकै जिम्मा लिनुपर्ने बताउँदै उनले भने,‘ व्यक्तिगत रुपमा मेरा मुख्यमन्त्रीमा प्रयास वा दाबी छैन।’

अनौपचारिक रुपमा सहमति भए पनि केन्द्रले टुंगो नलगाएको हुँदा केन्द्रले टुंगो लगाएपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट हुने बताए। आफूले दाबी नगरेपछि नयाँ बन्ने सरकारलाई आफ्नो सहमित रहेको उनले बताए।

यता राप्रपाका सांसद अमरबहादुर विष्टले अहिले नै सरकारमा जाने निर्णय नभएको बताए। उनले केन्दबाट जे निर्णय आउँछ, त्यही हुने बताए। ‘अहिले नै सरकारमा जाने कुरा हुँदैन,’ उनले भने, ‘केन्द्रबाट जे आउँछ, त्यहीअनुसार हुन्छ।’

प्रकाशित मिति: : 2023-06-30 17:38:00

प्रतिकृया दिनुहोस्