एमालेले उमेर हद हटाएपछि देउवाले भने– हाम्राेमा त्यस्ताे हुँदैन, म फेरि सभापति बन्दिनँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।

नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन्।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए। उनले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौँ।’

नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, ‘हामीकहाँ त्यस्तो छैन। तर, दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।’ प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठुलो सहयोग पुग्ने उनको भनाइ थियो। 

पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए। उनले भने, ‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन्।’ 

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। उनले भने, ‘यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ।’ आपूm पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए। कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो।

बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, ‘बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो। भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो। लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ।’ अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए। 

प्रकाशित मिति: : 2023-06-09 18:57:00

प्रतिकृया दिनुहोस्