निजी क्षेत्रको सहकार्यविना समृद्धि सम्भव छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यविना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन्। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उनले स्पष्ट परे।

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवद्र्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताए।

‘म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु’, उनले भने, ‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ।’ उनले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताए।

उनले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिए।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताए। उनले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाए।

उनले अब देश विकासको मोडलबारे पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखे। ‘हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा भएको प्रगति उत्साहजनक छैन’, उनले भने।

प्रधानमन्त्री दाहालले साझा सङ्कल्प भए मात्रै विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिने स्पष्ट पारे। उनले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै भारत भ्रमणका क्रममा पनि आफूले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल र पाल्पा जोड्ने गरी निर्माण गरिएको केबलकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2023-06-08 15:55:00

प्रतिकृया दिनुहोस्