डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

बिएल संवाददाता

रामपुर (पाल्पा)
फाइल तस्बिर
फाइल तस्बिर

डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ। जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो।

मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ। वन क्षेत्रभित्रको दुई सय ५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ। यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिलबहादुर सुनारले बताए। उनका अनुसार करिब साढे दुई मिटरको पाइप जलेर नष्ट भएको छ। 

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेका पाइपमा क्षति पुगेको छ। निस्दी गाउँपालिका–४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै आएका थिए। पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लागेर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय मञ्जु सारुले बताइन्। 

गाउँमा लिफ्टिङ प्रणालीको योजना रहेता पनि घाम लागेका समय पानी आउने र अन्य समय बन्द हुने हुँदा मुहानबाटै पानी बोकेर पिउनुपरेको स्थानीयले बताएका छन्। वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ। जथाभावीरूपमा  जङ्गलमा आगो लगाउने कार्यले पाल्पामा हरेक वर्षजसो नै विभिन्न क्षति हुने गरेको छ।

प्रकाशित मिति: : 2023-06-02 10:18:00

प्रतिकृया दिनुहोस्