नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई दिएकाे आममाफीबारे सरकारले अदालतलाई हेपेकाे टिप्पणी गरेका छन्।
साेमबार ललितपुरमा आयाेजित एक कार्यक्रमलाई सम्बाेभन गर्दै उनले अदालतले निर्णय गरिसकेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर कानुनले बन्दाेबस्त गरेको बताए।
'कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेकाे फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर केही एउटा कानुनले बन्दाेबस्त गरेकाे छ। त्याे कानुनकाे बन्दाेबस्तभन्दा बाहिर काेही पनि जान पाइँदैन', थापाले भने।
उनले याे राजाको शासन नभएकाे भन्दै गणतन्त्रमा कानुनको शासन मात्रै चल्ने बताए। ‘आज सरकारलाई मन लाग्याे, सरकारले निर्णय गरिदियाे। राष्ट्रपतिले सजाय मिनाहा गर्दिनुभयाे। यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुनले मात्रै चल्छ। कानुनको शासन मात्रै हुन्छ’, महामन्त्री थापाले भने।
प्रचलित कानुनलाई मिचेर दादागिरी देखाएकाे भन्दै उनले थपे, ‘आज हामीलाई सरकार चलाउने कुरामा सजिलाे गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर थिचेर, बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै एउटा निर्णय गछौं। अदालतको पूर्णपाठ आएको छैन, हामी हतारहतार निर्णय गछौं भने यसकाे अर्थ के हाे? हामीले अदालतलाई हेप्यौं। हामीले बलमिच्याँइ गर्याैँ। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ। तर नागरिककाे ठाउँबाट हेर्दा के देखिन्छ?’