नक्कली भुटानीका शरणार्थी प्रकरणकाे अनुसन्धान फाइल पूर्ण नभइ अदालत जाँदैछ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रले लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फाइल पूर्ण नभइ अदालततर्फ जान लागेको दाबी गरेका छन्। बिहीबार आफ्नो पार्टीले वसन्तपुरमा आयोजना गरेको ‘भ्रष्टाचारविरुद्धको सभा’मा बोल्दै लिङ्देनले यस्तो दाबी गरेका हुन्।

उनले नक्कली शरणार्थी प्रकरणमा सबै ठुला दलका नेताहरुको संलग्नता रहेको आरोप लगाउँदै सबै मिलेर नै यो प्रकरणको अनुन्धानलाई पूर्ण नबनाई अदालत पठाउन लागेको बताए।

‘यो घटना पनि प्रहरीको जोड बलमा र विदेशीको चासोमा बल्ल अगाडि बढेको छ। तर, यो पनि अनुसन्धान पूर्ण नभइकन फाइल अदालततर्फ जाने दिशामा छ,’ लिङ्देनले भने। उनले यो राज्यविरुद्धको अपराध भएकोले कसैले पनि छुट्करा पाउन नहुने बताए।

लिङ्देनले यो प्रकरणमा मुछिएका सबैलाई आकर्षित हुने सबै मुद्दा पनि लगाउनुपर्नेमा जोड दिए। ‘त्यसमा आकर्षित हुने सबै मुद्दाहरु चल्नुपर्छ। यो राज्यविरुद्धको अपराध हो, ठगी हो, संगठित अपराध हो र सरकारी दस्तखत किर्नेसम्बन्धीको अपराध हो। यी सबै प्रकारका मुद्दाहरु चलाइनुपर्छ,’ उनले भने।

उनले यो मुद्दामा खुट्टा नकमाइ छानबिन गर्न प्रहरीलाई आग्रह गरे।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-18 15:50:00

प्रतिकृया दिनुहोस्