गृहमन्त्रीलाई कांग्रेस नेताहरूले भने- भ्रष्टाचारविरुद्धको कदमको प्रशंसायाेग्य छ, यसकाे जरोकिलो खोतल्नुस्

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन्।

बुधबार गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताए।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे।

गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उनले चालेको कदमको प्रशंसा गरेका थिए। सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका छन्।

गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोबिन्द पोखरेलसहितका २० भन्दा बढी कांग्रेस नेताहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई र धन्यवाद दिएका थिए। यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइ समेत उनीहरूको छ।

प्रकाशित मिति: : 2023-05-10 15:56:00

प्रतिकृया दिनुहोस्