मनको व्यथा बुझिदिने श्रीमान, माया गर्ने सासु–ससूरा र दुई छोरीकी प्यारी आमा। परिवारको भरिपूर्ण प्रेम र साथले खुसी थिइन्, ३५ वर्षीया सुजना पौडेल।
दिउँसो काम गर्न उनी ‘टेलर’ पुग्थिन् र बेलुका घरमै लुगा सिलाउँथिन्। त्यही काम गरेर उनी दिनको एक हजार रुपैयाँ कमाउँथिन्।
‘दिनभरि अरुको टेलरमा काम गर्थेँ, राति घरमै बसेर लुगा सिलाउँथेँ। मकहाँ कपडाका थुप्रै अर्डरहरु आउँथ्यो। दुई समय काम गरेर मैले दिनकै हजार रुपैयाँ कमाउँथेँ’, उनी भन्छिन्। त्यही पैसाले उनी आफ्नो खर्च उठाउँथिन्।
सानैदेखि आत्मनिर्भर बनेकी उनले खर्चका लागि कहिल्यै श्रीमानको अगाडि हात फैलाइनन्। ‘सानु बेलादेखि काममा परिपक्व थिएँ। आफ्नाे खर्च आफैँ उठाउँथेँ। त्यसैले श्रीमानसँग कहिल्यै एक रुपैयाँ पनि मागिनँ। उहाँकाे अगाडि मैले कहिल्यै हात फैलाइनँ र एकजाेर कपडा पनि किन्न लगाइनँ। आफ्नाे लागि आफैँले काम गरेँ। पैसा कमाएँ’, उनले सुनाइन्।
सानाे उमेरदेखि नै काममा पाेख्त उनी १७ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिइन्। २०५९ सालमा ‘एसएलसी’ दिएर बसेकी सुजनाले सर्लाहीका भानुभक्तसँग विवाह गरिन्।
‘त्योबेला गाउँमा कुनै कलेज बनेको थिएन। एसएलसी दिएर बसेकी छोरीहरुले विवाह गर्नुपर्ने मान्यता थियो। सोही कारण मेरो विवाह मभन्दा १० वर्ष ठूलो उमेरकाे केटासँग भयो’, उनले भनिन्, ‘उहाँ पेशाले बस ड्राइभर हुनुहुन्थ्यो।’
विवाह गरेर पराइ घर पुगेकी सुजना ७ वर्षपछि काठमाडौं आइन्। उनी काठमाडौंको डिल्लीबजारमा बस्न थालिन्। तर काठमाडौंको रहनसहनदेखि दिक्दार बनेकी उनी काठमाडाैं बसेकाे दुई वर्षपछि गाउँ फर्किइन्।
गाउँकाे बसाइपछि उनी दुई छोरीलाई पढाउने सपना बाेकेर पुनः काठमाडौं आइन्। त्यसपछि उनले किराना र सब्जी पसल सुरु गरिन्।
‘श्रीमान कामको सिलसिलामा धेरैजसो बाहिर नै बस्नुहुन्थ्यो। त्यसैले मैले पनि केही व्यवसाय सुरु गरेँ’, उनले भनिन्। तर पसल सुरू गरेकाे वर्षदिनमै उनले डिल्लीबजारमा टेलरिङको काम सिकिन्। र टेलरमा लुगा सिलाउन थालिन्।
‘पसलको काममा धेरै प्रेसर भयो, त्यसैले पसल छोडेर टेलरिङको काम सिक्न थालेँ’, उनले बिएल नेपाली सेवालाई सुनाइन्। टेलरकाे काम सिकेपछि उनले हात्तीवनकाे एक टेलरमा लुगा सिलाउन थालिन्।
सुजनाकाे दिनहरू रमाइलाेसँग नै बितिरहेकाे थियाे। तर सोचेको जस्तो सहज कहाँ हुन्छ र जीवन! सुजनाको मन मानव सेवा आश्रमतिर मोडियो। उनी २०७४ सालदेखि आश्रममा आवद्ध भइन्।
मानव सेवामा सुजनाको यात्रा
दिनभरिकाे काम र छाेरीहरूकाे स्याहारमा व्यस्त हुन्थिन्, सुजना। श्रीमान कामकाे लागि सधैंजसाे बाहिरै बसे पनि उनी छाेरीहरूकाे साथमा रमाइरहेकी थिइन्।
छाेरीहरूकाे साथमा साताकाे एकदिन उनी घुम्न जान्थिन्। त्यही घुम्ने क्रममा उनी ललितपुरमा रहेकाे मानव सेवा आश्रम पुगिन्। उनले त्यहाँका मानिसहरूलाई स्याहार गरिन् र स्नेह दिइन्।
सुजनाकाे मानवता देखेर उनलाई आश्रमकै एक व्यक्तिले मानव सेवा गर्न अनुरोध गरे। तर उनले एकैबचनमा अस्वीकार गरिन्। उनलाई लाग्थ्यो, ‘म कसैको सेवा गर्न सक्दिनँ। कसैलाई सम्हाल्न सक्दिनँ।’
तर सुजनाले असहाय व्यक्तिहरूप्रति गरेकाे सहानुभूति देखेर खुसी भएका तिनै आश्रमका मान्छेले उनलाई बारम्बार आश्रममा बस्न आग्रह गरे। नभन्दै उनी पनि ललितपुर शाखाकाे आश्रममा बस्न तयार भइन्।
उनले आश्रममा बस्ने कुरा घरमा सुनाइन्। घरका सदस्यले पनि उनकाे कुरामा सहमत जनाए। र २०७४ सालदेखि उनी दुई छाेरीहरूकाे साथमा आश्रम बस्न थालिन्।
दिनहरू बित्दै गए। तर सुजना आश्रममा रमाउन सकिनन्। त्यसपछि उनले सदाका लागि आश्रम छोड्ने निधो गरिन्। ‘आफैँले कमाएर खाने बानी लागेको थियो तर आश्रममा त्यस्तो हुँदैन थियाे, त्यसैले मलाई आश्रममा बस्ने मनै लागेन’, आश्रम आएको सुरुवाती दिन सम्झिँदै उनले भनिन्, ‘काम गर्ने बानी लागेको मैले आश्रममा पैसा खेलाउनु पाइनँ। त्यसैले आश्रम छाेडेर घर जाने निधाे गरेँ।’
आश्रम छोड्ने तरखरमा थिइन्, उनी। तर एकदिन अचानक उनले माया गरेकी ‘रत्न आमा’ बिरामी परिन्। उनीसँगै अर्की आमा पनि थला परिन्। दुबैजना ‘प्यारालाइसिस’ का बिरामी भए।
आमाहरूलाई लिएर उनी रातारात ‘किस्ट’ अस्पताल पुगिन्। उनी बिरामी दुई आमाहरूको बिचमा सुतिन्। उसैले ती आमाहरुको स्याहार गरिन्।
‘त्योबेला डाइपर किन्ने पैसासमेत हुँदैन थियो तर मैले उहाँहरुको दिसापिसाब हातैले पुछिदिएँ। उहाँ आमाहरुको स्याहार गर्दा मलाई घिन लागेन। त्यसपछि मैले आफ्नो लागि भन्दा अरुको लागि बाँच्ने निर्णय गरेँ’, उनले भनिन्।
अस्पतालबाट डिस्चार्ज गरेर ल्याएकी आमाहरूको स्याहारमा खटिन थालिन्, सुजता। विस्तारै उनलाई आश्रम आफ्नै घर जस्तो लाग्न थाल्याे।
विगतका दिनहरुलाई बिर्सिएर उनी आश्रमका बाआमाहरूसँग रमाउन थालिन्। तर उनको खुसी ६ महिना मात्र टिक्यो। उनलाई माया गर्ने र उनले सबैभन्दा प्रेम गर्ने रत्न आमाले सदाका लागि संसार त्यागिन्। ‘आमाले मेरो काखमा सास छाड्नु हुँदा म धेरै राेएँ। त्यसपछि मैले मेराे जिन्दगी आश्रममा बिताउने निर्णय गरेँ’, उनले भनिन्।
प्यारी आमालाई गुमाएकी उनी आश्रमका बाआमाकाे साथमा रमाइरहेकी थिइन्। तर २०७६ मा उनी थापाथलीकाे अस्पतालमा दुखी भइन्। जब आश्रममा बसेकी १५ वर्षकी किशाेरीले एक सन्तानलाई जन्म दिइन्।
‘ती नानीको उमेर सानो थियो, त्यसैले उनी बच्चा जन्माउने कुरामा असहमत थिइन्। मैले उनलाई बच्चाको स्याहार आफैँले गर्छु भनेँ तर उनी मानिनन्। बरु उल्टै उनले बच्चालाई जन्माएर मारिदिने धम्की दिइन्’, उनले भनिन्, ‘त्यसपछि मैले ती नानीले जन्माएको बच्चालाई एकछिन पनि छाडिनँ, ती नानीले बच्चालाई मारिदिन्छ भन्ने कुराको मलाई डर थियो।’
छोरीलाई जन्म दिएपछि ती किशोरी फरार भइन्। उनले जन्माएको छोरीलाई सुजनाले नै हुर्काउन थालिन्। तर उनले हुर्काएको तीन वर्षपछि सानी नानीलाई मानव सेवा आश्रमको चितवन शाखामा पठाइदिइन्।
‘हुन त ती नानीको भविष्यका लागि चितवन पठाएका हौँ तर म नानीलाई पठाउँदा धेरै रोएँ’, उनी भन्छिन्, ‘छोरीलाई विवाह गरेर पराइ घर पठाएको जस्तो अनुभव भयो। त्यसैले म भक्कानिएर रोएँ। म ती नानीलाई धेरै माया गर्थेँ।’
उनी मानव सेवा आश्रममा बसेको ६ वर्ष भयो। आश्रममा बसेको आफ्नो अनुभवले उनी बताउँछिन्, ‘मलाई लाग्थ्यो बाआमालाई छोराले भन्दा छोरीले माया गर्छन् र पाल्छन्। तर म भ्रममा रहिछु, कुनै पनि सन्तानले बुढेसकालमा नहेर्दो रहिछ।’
आश्रममा आफूले स्याहार गरेका बाआमाको माया लाग्ने बताउने उनी रुँदै भन्छिन्, ‘यहाँका आमाहरुको छोरी भेटाइसकेका छौँ तर छोरीले आमालाई लिन आउनुभएन। मलाई साह्रै नमज्जा लाग्यो।’
अहिलेसम्म उनले आफ्नो हातबाट ६ जनालाई बिदा गरिसकेकी छन्। भन्छिन्, ‘आफूले स्याहार गरेर हुर्काएका मान्छेलाई गुमाउँदा धेरै पीडा हुने रहिछ।’
अहिले सुजनाको खुसी बनेको छ, मानव सेवा आश्रम। अब उनकाे एउटै लक्ष्य छ, त्यो हो २०८२। ‘मानव सेवा आश्रमका हामी सेवकहरुको एउटै लक्ष्य भनेको ०८२ सालमा सडक मानवमुक्त बनाउनु हो। जसका लागि हामी दिनरात खटिरहने छौँ’, उनले भनिन्, ‘मेरो जीवनको लक्ष्य पनि सडक मानवमुक्त गराउनु हो। त्योबाहेक अरु मेरो चाहना केही छैन।’