त्यो पनि समय थ्यो, घरमा कात्रो साँचेर राख्नुपर्ने

हेमन्त विवश

काठमाडौं

पूर्वजका पालामा चार भाइबीचमा अंशवण्डा गरियो। तर, एउटा सुनको थाल बाँकी रह्यो। कसरी बाँड्ने भन्ने बहस निकै दिनसम्म चलिरह्यो। यसरी बहस चलिरहँदा एक भाइले भनेछन्, ‘प्याक्क फुटाए त भैहाल्यो नि!’ प्याक्क शब्द प्रयोग गरेकैले तिनलाई प्याकुडेल भनिएछ। अर्को बोलेछन्, ‘चार दिनसम्म निष्कर्ष ननिस्कनु कस्तो आश्चर्य!’ आश्चर्य शब्द प्रयोग गरेकैले तिनलाई आचार्य भनियो। अर्का भाइ बोलेछन्, ‘लुडुक्क बेरेर टुक्रा पारे भै त हाल्यो।’ लुडुक्क भनेकै आधारमा तिनलाई लुड्काल भनिन थालिएछ। चौंथो भाइले ‘यतिका दिन भैसक्यो, यो भएन निशाफ गर्नुपर्‍यो’ भनेछन्। निशाफ भन्ने शब्द प्रयोग गरेको हुँदा उनी न्यौपाने बन्न पुगेछन्। सुदूरपश्चिममा थर कसरी रहन गए भन्ने विषयमा यस्ता थुप्रै रोचक किस्साहरु सुनिन्छन्। तिनै न्यौपानेका सन्तती हुन्, उपाध्यायहरु। जसले पछि पाध्याय लेखाए।

पाध्याय लेखाउनुको पछाडि पनि कारण छ। उसो त हरेक क्रियाकलाप हुँदा कुनै न कुनै कारण निस्किन्छ नै। जेहोस् तिनीहरु १७२४ सालतिर जुम्लाको दानीगौडा भन्ने ठाउँबाट बसाइँ सरेर आएका थिए। जसमध्ये एक भाइ बाजुरा बसे अर्का बझाङ्गको लामितोला, सुनार गाउँ हुँदै छान्ना पुगे। यो कुरा चौंध पुस्ता अघिको हो। सुरुमा छान्ना मत्वा गाउँका सिंहहरुले जग्गा जमिन दिएर राखेका थिए उपाध्ययहरुका पुर्खालाई। तिनीहरु त्यहाँका देवताका पुजारी पनि बने। पछि तिनै सिंहसँग मनमुटाव हुन गयो।  त्यो बेला मनमुटाव हुँदा उपाध्यायलाई पाध्याय भनिदिएछन्। उनीहरु खिन्न भएर आफूले पाएको जग्गा जमिन र देवताको पुजेली सबै पिठोतोला गाउँ निवासी जुवाइलाई दाइजो दिई डोटीतिर जाने सुरले हिँडेछन्। लोखडापानी भन्ने ठाउँ पुगिसकेका उनीहरुलाई माझी गाउँका चुफुडे रोकायाले बाटोबाटै फर्काइ आफ्नो अँगालोमा बेरेछन्। उपहार स्वरुप आफ्नो जमिन दिएर बस्न लगाए छन्। माया, स्नेह र आत्मीयता देखाएछन्।

पाध्यायहरुको बस्ती बाक्लो छ। त्यही बाक्लो बस्ती भित्रका पात्लिदै गएका एक मन हुन्, प्रयागराज। जो बिहानै उठ्छन् हातमुख सफा गरी पाठपूजा गर्छन्। तत्पश्चात जडिबुटीको आयुर्वेदिक चिया उमाल्छन्। अनि १० बजेतिर खाना तयार गरिसक्छन्। चुप लागेर बस्न नसक्ने उनी के-के गरिरहन्छन्। दौरा सुरुवाल, कोट, ढाकाटोपी र काँधमा गलबन्दी भिरी चिटिक्क परेर हिँड्न रुचाउने उनी घरछेउको सडक अनि सडकमा धुलो उडाइरहेको गाडी हेरेर सम्झिन्छन् विगतका दिनहरु। २०३३ सालमा भारतमा दिनको ८ रुपैयाँ भारु पाउने गरी सय दिन काम गरेछन्। जङ्गलमा बसेर कोइला बनाउनेदेखि सडकको कामसम्म गर्न भ्याएछन्। त्यस अवधिमा खानामा खर्च हुन गएछ ३६० रुपैयाँ। खल्तीमा परेको ४४० रुपैयाँबाट घरपरिवारलाई सामान किन्दा पनि बाटोखर्च बचेछ। उनी सम्झिन्छ पहिलेका दिनहरु र सुनाउँछन् गीतका पंक्ति:

जवानीमा रामहौसऽ मेलाः पर्व जाँःत 
तँ खोज्दै उइलेका जसो ऐले उसो काँ छ।

हो, पहिलेको जस्तो अहिले छैन्। प्रयागराज पाध्यायले जिन्दगीभरि निकै नै संघर्ष र दुःखका पलहरु व्यतित गरे। छोराछोरी भन्नु पनि एक किसिमको दुःखै निम्त्याउनु न हो। पालन पोषण, शिक्षा/दीक्षा दिन/रात तिनकै निम्ति दुःख गर्‍यो ठुला भएपछि पखेटा लागे भुर्र उड्ने चरीझैं कता पुगे। उनका दिन सधैं उस्तै। तर, पनि सृष्टिको नियम चलि नै रहन्छ। मन पनि त मान्दैन छोराछोरी केही नहुँदा। अनि समाजको हेर्ने दृष्टिकोण नै अर्कै भइदिने। छोराछोरी नहुँदा मात्र हैन, छोरी मात्र हुँदा समेत अपुतो भनेर हेर्ने समाज छ। त्यसैले त उनी सुनाउँछन् गाउँघरतिरको भनाइ– ‘छोराछोरी भए सधै हाँसो (निको भने नि हाँसो लाग्दो फुचेरो भने नि हाँसो लाग्दो)। गोरस भए सधैं काजबार (चाडपर्व)। यसो भन्दैमा पनि कहाँ हुन्छर। हिउँद न्याइली बर्खा बयाली भन्छन्। सर्क र गर्भको कुरा थाहा हुँदैन। कसको भाग्यमा के लेख्याछ।’ ४ जना छोरा–बुहारी २ छोरी ३ नाती २ नातिनीका धनी प्रयागराजले एकान्तमा दिनरात बितिरहेका छन्, छान्नास्थित पारिखेतको गाउँको घरमा।

भाग्यको कुरा गर्दै गर्दा उनको मुहार मलिन बनिदिन्छ। अरु केही सोच्दैनन्। मात्र उही अनुहार सम्झिन्छन् जो चार वर्षअघि मात्रै विलीन हुन गयो। उनको जीवनको हाँसो त्यही मुहार थियो। जोडी ढुक्कुरझै बसेका थिए दुई जना घरमा। श्रीमतीको त्यो मुहार सदाका लागि अलप भएपछि अचेल केही गर्न मन लाग्दैन रे उनलाई। परेलीभित्र आँसुका थोपा नचाउँदै बताएका थिए, ‘कहिलेकाहीँ सपनामा देख्छु। निद्रा भङ्ग भएपछिको पल उइ यादको रन्को त हो। आखिर बुढेशकालमा आफ्नो भन्नु बुढाका लागि बुढी र बुढीका लागि बुढा मात्तै त हुन्। आधि मन मात्रै रह्याे बा अब मसँग।’

प्रयागराजले बसुला र हतौडाका भरमा छोराछोरी पढाए। आज कोही विदेशमा छन त कोही सरकारी सेवामा कार्यरत छन्। उनले भारतमा नोकरीदेखि घर बनाउने र स–सानो पसल थाप्नेसम्मको काम गरे, परिवारकै खुसीका निम्ति। बझाङ्ग छान्नाबाट लगातार ११ दिन हिँडेपछि पुगिन्थ्यो रे टनकपुर। त्यति नै दिन लाग्थ्याे फर्किदा पनि। लुगाफाटो किन्नलाई जवानीका दिनमा ९/१० जनाको समूह बनाएर वर्षैपिच्छे यात्रा गरेछन् टनकपुरसम्मको। सुरुमा मार्किन र रेशमको कपडा किनेर अलग छुट्टयाइन्थ्यो रे त्यो बेला। जुन देवताको पूजा र मृतकको अन्तेष्टिका लागि प्रयोगमा आउँथ्यो। ‘गाउँघर अहिलेका जसा पसल थिएइनन्। के थाहा हुन्थ्यो रे को कतिखेर हो। त्यो पनि समय थ्यो घरका मान्छे कोही मरिहाले के गर्नु भनेर अगाडि नै टालो (कात्रो) साचेर राख्दुपर्ने,’ आकाशतिर हेरेर सुय्य सुस्केरा हाल्दै भावुक भएर सुनाएका थिए उनले।

भान्छा छेउमै राखिएको कोर्कातिर फर्केर फोटो लिन खोज्दा पुनः सुनाउँनथाले विगतको कथा– ‘६५ वर्षको उमेरसम्म पुग्दा ५०/६० घर चिनेँ (गाह्रो लगाए)। यसरी डकर्मीको काम गर्ने क्रममा खप्तडमा मैले हात नलाएका दुई घर मात्रै छन्। अरु सबै घर बनाउँदा यी हातले ती बान्ना (भित्ता) मुसारेकै (स्पर्ष) गरेकै थिए। कतिपय सरकारी विद्यालयका भवन निर्माण गरेँ। यसा डोका, डाला, कोर्का त कति बनाएँ कति। घरमा राखेका भकारी, कोर्का, डोका, डाला सबै आफैँले बनाएको हुँ। अचेल हात दुख्दो छ। अब बुढेशकाल लाग्यो। नसकिने भयो। बुढिएपछि दुःख हुँदा। बुढिनु रहेनछ मान्छेले। बुढो नभएर मर्‍यो भने कठै जवानीमै मर्‍यो भन्दा। बुढेशकालसम्म बाच्दा दुःख हुँदा।’

छान्नाबाट फर्किने दिन आधि बाटोसम्म पुर्‍याउन आए उनी। म बाह्र वर्षको हुँदा नै स्वर्गको बाटो पहिल्याएका मेरा बुवाको याद दिलाइरहे। भावुक पल थियो। हामीसँग उस्तैखाले भावुक मन थिए। छान्नाबाट लामितोलासम्म पैदल यात्रामा एक घण्टा गफ्फिदै गयौं। पछि मलाई तमैल जाने गाडी चढाएर बिदाइको हात हल्लाए ती बाले। गाडीबाट नजरले भ्यायसम्म एकोहोरो हेरिरहेँ म। स्मृतिमा विगत यसरी पौडियो कि सोचिरहेँ– ‘म डोटीमै छु, बासँग बिदा मागेर सहर जाँदै छु।’ क्षणभरमै होसमा आउँदा झल्यास भएँ मैले मेरा बा गुमाएको त तीन दशक नाघिसक्यो। डोटीको घर छोडेकै वर्षौ भैसक्यो। हात हल्लाइउँदै स्नेहील पाराले मलाई बिदाइ गर्ने मेरा बा जस्तै यी को हुन् ? मनमा प्रश्न पैदा हुन गयो। पुनः यही मनले भनिरह्यो, ‘आखिर जीवनको गोरेटोमा कहिले काँही बाले जस्तै माया प्रेम र स्नेह दिने बा पनि त भेटिदारहेछन्। कतै क्षितिजपारि पुगिसकेका बाको याद दिलाउने बा पनि त भेटिदारहेछन्।’


हेमन्त विवशका थप सामाग्रीहरु पढ्नुहाेस् :

प्रकाशित मिति: : 2023-04-27 20:30:00

प्रतिकृया दिनुहोस्