विदेशीले उनलाई खाेजे उनले नेपाल राेजे

हेमन्त विवश

काठमाडौं
Breaknlinks
Photo: theceomagazine.com

यहीँ रहूँगा उम्रभर न जाउँगा
जमीन माँ है इसे छोडकर न जाउँगा

कुनै हिन्दी शायरका यी दुई पंक्तीले भनेझैं मनन् गरे, उनले पनि। बिदेशबाट अफर आयो काम गर्न गएनन्। छ दशकअघि डोटीको सदरमुकाम सिलगढीमा जन्मेका डा.दीपकप्रकाश महराले चाहेनन् देश छोड्न। बिरामीको सेवामा खटिरहँदा थाकेनन् कहिल्यै पनि।

न फेसबुक छ। न ट्वीटर छ। न त फुर्सदको समय कुनै मुभी नै हेर्नु छ। कहिलेकाहीँ गीतसङ्गीत सुन्छन्। त्यो पनि थोरै समयका लागि। केवल मेडिटेसनको रुपमा। एकनासको उस्तै यात्रा। बिरामीसँगको भेटघाट। उही अप्रेसन थियटर। उही कैंची, छुरा। अनि औषधिको नाम र मात्रा लेखेको कागज हातमा थमाउँदै सम्झाउनमै बित्दछ उनको अधिकांश समय।

निकै बलवान हुन्छ बाल्यकालको याद। प्रायले सम्झिन्छन् होला ती दिन। कहाँ भुल्न सक्थे र उनले पनि। शैलेश्वरी मन्दिरको मुनि चिटिक्कको घर। उनका दाइको नाममा घरमै थियो, सानो औषधि पसल। ‘अरूभन्दा राम्रो पेशा हो यो’, बुवा गंगाप्रसादले उनीसँग भन्नुहुन्थ्यो। उनी सम्झिन्छन्,‘त्यतिबेला टेरामाइसिन औषधिलाई तारामिसिन छ भनेर आउँथे।’

पसलको औषधि र बुवाको प्रेरणाले नै सानैदेखि उनको मनमा डाक्टर बन्ने रहर पलाउँदै गयो। डोटी जिल्लाकै पुरानो विद्यालय पद्मपब्लिक मा.वि.मा सात कक्षाको अन्तिम परीक्षा दिने क्रममा गणितको प्रश्नपत्रमा एउटा प्रश्न गलत भएको कुरा पत्ता लगाए, उनले। गणित शिक्षक चण्डुराज जोशीलाई दुईपटक भनेछन्,‘सर यो प्रश्न मिल्दैन। प्लस राख्दा मिल्छ तर प्रश्नमा माइनस चिन्ह दिइएको छ।’ तब गणितको पुस्तक मगाएर शिक्षकले हेरेछन्। टाइप गर्दा प्रश्न पत्रमा प्लसको ठाउँमा माइनस हुनगएको रहेछ। एकराज भट्ट, सीताराम जोशीलगायतका अरू शिक्षकहरू पनि यसले त गल्ती पत्ता लगायो भनेर जिल्ल परेछन्। परीक्षा सकिएपछि ती सबै शिक्षकहरूको डेलिकेसन गयो, उनको घरमा। उनका बुवालाई भनियो,‘यसलाई काठमाडौं पढ्न पठाउनुहोस्।’ तब उनलाई काठमाडौं पठाउन राजी हुनुभयो बुवा गंगाप्रसाद।

डोटीबाट काठमाडौं आएर त्रिभुवन मा.वि फर्पिङमा भर्ना भएका महराले निकै मेहनेत गर्नुपर्‍यो, पढाइमा। गणित र विज्ञानमा राम्रै भए पनि वेश राम्रो थिएन। काठमाडौंका विद्यार्थीको हाइफाइ नै बेग्लै। काठमाडौंका टप स्कुलबाट आएका चार/पाँच जना साथीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भयो।

ती दिन सम्झिँदै सुनाउँछन् उनी,‘डोटीबाट आउँदा बुवाले सेकेण्ड भइस् भने फिर्ता बोलाउँछु भन्नुभएको थियो। हिमालय विद्यामन्दिरबाट आएका फस्ट ब्वाइ श्रवणकुमार श्रेष्ठ होस्टेलमा रुमपाटनर थिए। जो कुनामा क्यान्डिल (मैन बत्ती) बालेर लुकेर पढ्थे। होस्टेलमा साढे नौ बजे अन्धकारमय भैसक्थ्यो। हामी एउटाको क्यान्डिल ननिभ्दासम्म अर्कोले नि ननिभाउने गथ्र्यौं। उनी बिहान छ बजे मलाई पनि ब्यूँझाइदिन्थे। म प्रथम हुन्थे उनी द्वितीय। श्रवण पनि डाक्टर बने। तर, नेपाल बसेनन्, अमेरिका छन्।’

२०३३ सालमा एसएलसी बोर्डमा तेश्रो स्थान ल्याउन सफल उनले अमृत साइन्स क्याम्पसबाट २०३५ सालमा प्रथम श्रेणीमा आईएस्सी उत्तीर्ण गरे। एमबिबिएस पढ्न भारतको आन्ध्र विश्वविद्यालयमा छात्रवृत्ति पाए। छात्रवृत्ति पाएपछि आर्थिक समस्या भएन। सन १९८५ मा एमबिबिएस सिध्यायर शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्न थाले। सन १९९० मा भारतको चण्डिगढस्थित पोष्ट ग्य्राजुएट इन्सिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चबाट हाडजोर्नी शल्यचिकित्सा बिषयमा मास्टर्स गर्न छात्रवृति पाए। सन १९९३ देखि पुनः शिक्षण अस्पतालमा असिस्टेन्ट लेक्चररका रुपमा सेवा प्रवेश गरेका डा.महरा लेक्चरर, रिडर हुँदै सन २००८ मा प्रोफेसर बने। सिङ्गापुरमा छ महिना, अष्टेलियामा छ महिना र अमेरिकामा तीन महिना फेलोसिप गर्ने अवसरसमेत पाएका उनी सुनाउँछन्,‘सिङ्गापुरमा त काम गर्न विशेष अफर नै गरिएको थियो तर मनले मानेन।’

पछिल्लो समय उनी डोटी नपुगेको कुनै वर्ष छैन्। वर्षमा एकपल्ट मात्रै भए पनि हेल्थ क्याम्प लगेर जान्छन्। कोभिडको दोश्रो चरणका समयमा जिल्ला अस्पताल डोटीका डाक्टरहरूलाई टिचिङका कोभिड टिम र एक्सपर्टहरूसँग सम्पर्क कायम गर्न भूमिका निभाएर सहयोग गरिरहे। जिल्लामै दर्ता गरेको सगरमाथा फाउन्डेसनका अध्यक्ष हुन्, उनी। उक्त फाउन्डेसनका सदस्यहरूले नै अर्थ सङ्कलन गरी जिल्ला अस्पताल डोटीले मागेकोभन्दा दोब्बर औषधि र अन्य सामग्रीहरू उपलब्ध गराए। त्यसको एक चौथाइ औषधि हेल्थपोष्टहरूलाई पठाए। त्यतिखेर केही संघ संस्थाले अक्सिजन सिलिन्डर उपलब्ध गराए। तर, ती सिलिण्डर भर्नलाई धनगढी पठाउनुपर्ने समस्या यथावत नै छ। यही समस्यालाई मनन् गरेर दुई महिनाअघि शैलेश्वरी जात्राको अवसरमा घर पुगेको बेला २१ वटा हेल्थपोष्टलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराए।

उनी अदृश्य शक्ति भएको कुरा स्वीकार्छन्। शैलेश्वरी माताका भक्त नै हुन्, उनी। र त, भन्छन्,‘घरभित्र प्रवेश गर्दा सुरुमै शैलेश्वरी र गणेशको दर्शन गर्ने हेतुले सजाएको छु, तस्विरहरू। म त उठ्दा, सुत्दा शैलेश्वरीमातालाई नै जपिरहेको हुन्छु।’

अप्रेसन थियटरमा पनि प्राय डक्टरले औजार समात्दा भगवान् सम्झिन्छन् भन्ने सुनिन्छ हो, डाक्साब ? मेरो प्रश्न टुङ्गीन नपाउँदै उनले बताए,‘अप्रेसन थियटरमा सबैभन्दा बढी भगवान सम्झिने जापनिजहरू हुन्। सतप्रतिशत जापनिज छुरा ढोग्छन्। भगवानप्रतिको आस्था कुनै अनकम्पिटेन्सिको कारण हैन्। एक प्रतिशत असफलताको चान्स छ भने भगवान त्यो पनि नहोस् भनेर बिरामीका लागि ढोगेको हो।’

उनको संस्थाले जिल्लाबाट आएका बिरामी र बिरामीका कुरुवालाई आर्थिक समस्या पर्दा शिक्षण अस्पतालमा खानाको व्यवस्थासमेत गरिरहेको छ।

वि.सं. २०७१ देखि २०७५ सम्म शिक्षण अस्पताल महाराजगञ्जमा निर्देशक बनेका डा. महराको बारेमा सिइओ म्यागाजिनले उल्लेख गरेको पाइन्छ। डा. दीपकप्रकास महरा नेपालबाट सिइओ म्यागाजिनमा पहिलोपटक समावेश गरिएको नाम हो। विभिन्न संघ संस्थामा आवद्घ भई काम गरिरहेका डा. महरा जुनसुकै पेशा अपनाए पनि निश्वार्थ ढंगले काम गर्नुपर्ने कुरामा जोड दिन्छन्। उनी बताउँछन्,‘हरेक पेशाको आ–आफ्नै गरिमा छ। त्यसलाई चिन्न सक्नुपर्छ। मान्छे–मान्छे बन्नुका पछाडि निश्वार्थता र सेवाको भावना चाहिन्छ। जति नै सक्षम भए नि अहम् राख्दा नि गयो। हतोत्साहित भए नि गयो।’

डा.महराका अनुसार व्यक्ति सक्षम हुनु भनेको प्रत्यक्ष/अप्रत्यक्ष रुपमा राष्ट्रलाई सहयोग पुग्नु हो। कसैले आफ्ना छोराछोरी सक्षम तुल्याउन कुनै स्वार्थ राख्छ भने त्यसलाई उनी नराम्रो नै त ठान्दैनन्। तर, उनको एउटै भनाइ छ, 'त्यो स्वार्थ विदेश पलायन हुनमा प्रेरक नबनिदेओस्।'

दुर्भाग्य, पछिल्लो समय कैयौं युवायुवतीको विदेश पलायन हुने क्रम बढिरहेको छ। उनकाअनुसार यो जिम्मा देश चलाउनेले लिनुपर्छ। कुराकानीका क्रममा निकै नै गम्भीर मुद्रामा उनले सुनाए,‘देशमा ल एण्ड अडर भन्ने नै छैन्। गुण्डागर्दी छ। यहाँ काम पाउँदैनन्। काम पाउन पार्टीको कार्यकर्ता बन्नुपर्छ। हाम्रा छोराछोरी बिदेश पलायन भएर उतै काम गरिरहेका छन्। यहाँ फर्किने वातावरण छैन्। यदि त्यो वातावरण हुने हो भने नेपालमा भारतको भन्दा दस गुणा बढी विकास हुन्छ।’

जीवनमा कैयौं तिता/मिठा पलहरूको अनुभव बटुलेका छन्, उनले पनि। र त, भन्छन्,‘कतिपय अवस्थामा हाइरिस्कमा पनि काम गरियो। अप्रेसनको वर्कआउट अघिल्लो दिनमै भैसक्छ। दिमागमा अप्रेसन पहिल्यै भइसक्छ। तोकिएको समयमा त साइत छोप्ने मात्र हो। असफलता भनेको हाम्रा लागि पो एक प्रतिशत, बिरामीका लागि त शतप्रतिशत नै हो। त्यही सोचेर काम गर्छौं।’

एक दक्ष शल्यचिकित्सक (अर्थोपेडिक सर्जन)। एक प्राध्यापक। जो स्वाभिमान, इमानदारिता, मानवीय संवेदना र परोपकारी मन बोकेर जिन्दगीको यात्रामा यात्रारत छन्। चाहँदैनन्, कुनै किसिमको प्रचारबाजी पनि। स्वामी रामकृष्ण परमहंसको एउटा भनाइ छ,– सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्दछन्। सन्तुष्टिको मानक तिमी आफैंले निर्धारण गर्छौ। सन्तुष्ट हुनलाई अरूको मत चाहिँदैन। स्वामी परमहंसको यो वाणी उनको जीवनमा मेल खान्छ जस्तो लाग्छ। हो उनी पनि आफ्नै लयमा जीवनयापन गरिरहेका छन्। सेतीबगेझैं एकोहोरो खटिरहेका छन्, बिरामीको सेवामा।

प्रकाशित मिति: : 2023-03-17 22:20:00

प्रतिकृया दिनुहोस्