गाउँभन्दा टाढा एक्लो घर। घर नजिक स्कुल। घरबाटै देखिन्थ्यो, विद्यालयमा केटाकेटीहरुले पढिरहेको, खेलिरहेको दृश्य। तीन वर्ष नपुग्दै विद्यालयको प्राङ्गणमा पुर्याइयो महेशकुमार औजीलाई पनि। उनलाई पढाउने उद्देश्यले त्यहाँ छोड्ने गरेको पक्कै पनि थिएन। आफूलाई काम गर्न सजिलो हुने ठानेर आमाले महेशलाई सानैमा विद्यालयमा छोड्न थाल्नुभयो। जहाँ उनले सबैको माया पाए। अरु केटाकेटीहरुसँग रमाउन थाले। विस्तारै अक्षर चिन्ने मार्गमा लागे।
महेशका बुवा छलिया नृत्य र गायनमा निपुण थिए। बुवाकै प्रभावले गर्दा महेशलाई पनि तान्यो गीत-संगीतले। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिएर उनी पुरस्कार हात पारिरहन्थे। आठ कक्षासम्म बैतडीमा पढेका औजी त्यसपछि अध्ययनका लागि भारतको पिथौरागढ पुगे। जहाँबाट उनले आइएस्सी पास गरे।
आठ कक्षा पढ्दा नै गीत लेख्न सुरु गरेका उनले बुवासँग एल्बम निकाल्ने कुरा गरेछन्। बुवाले अनुमति मात्र दिएनन्, आफूले पनि गाए उक्त एल्बमका तीन वटा गीत। वि.सं. २०५७ सालमा एल्बम प्रकाशनार्थ पिथौरागढबाट कञ्चनपुर पुगेका उनले त्यहाँ गीत मात्र गाएनन्। नेपाली सेनामा भर्ना खुलेको थाहा पाएर जागिरका लागि आवेदन फाराम भरी प्रक्रियापश्चात छनौट पनि भए। सेनाको जागिरले उनको गायन यात्रामा अवरोध पुर्याएन, बरु झन् बढी हौसला मिल्यो।
तर पनि सजिला कहाँ थिए र जीवनका घुम्तीहरु। उनले तालिम सिध्याउन नपाउँदै देशमा लागु भइसकेको थियो, संकटकाल। दिन प्रतिदिन माओवादी द्वन्द्व चर्किँदै गयो। तालिमपछि रोल्पा जिल्लामा खटिएका उनलाई भिडन्तका क्रममा गोली लाग्यो। गोली खुट्टामा लागेका कारण ज्यान त जोगियो।
त्यो परिवेश सम्झिँदै सुनाउँछन् उनी, ‘आफ्नै दाजुभाइसँग लड्नुपर्दा कटक्क मन खान्थ्यो। तर उपाय केही थिएन। एकातिर माथिको आदेश पालना गर्नु पर्थ्याे भने अर्कोतिर आफ्नो ज्यान कसरी जोगाउने भन्ने चिन्ता। उसो त जागिर छोड्न पनि सजिलो थिएन। चारैतिरबाट निगरानीमा हुन्थ्यो जिन्दगी। त्यो समय निकै तनावमा बित्यो।’
अशक्त भएपछि ४ वर्षसम्म कुनै गीत गाउन पाएनन् उनले। त्यसपछिका दिनमा पल्टनबाट पनि साथ, सहयोग र हौसला मिलेको र त्यस्तो कडा ड्युटी पनि गर्नु नपरेको कुरा बताउँछन् उनी। असक्त अवकाशअन्तर्गत सेवानिवृत भएको दुई वर्ष पुगेको छैन। पछिल्ला दिनमा गीत-संगीतमै तल्लीन छन्।
‘पल्टनमा सधैँ गानाबजानामा सरिक भइरहन्थे उनी। पल्टनमा रमाइलो भइरन्छ अहिले पनि। कलाकारका रुपमा चिनिए पल्टनभित्र पनि। उनले कैयौंपल्ट दरबारमा पनि गीत सुनाए। ती दिन सम्झना बनेर बसेका छन् उनको स्मृतिपटलमा। उसो त हरेक मान्छेको विगत केवल सम्झना नै त हो। वर्तमानलाई सम्झनारुपि पछ्यौरी ओढाइरहने विगतले पनि सोच्न बाध्य तुल्याइदिन्छ कहिलेलेकाहीँ, आखिर जिन्दगी के रहेछ त भन्ने कुरा।
‘कतै शारीरिक रुपले त कतै अन्य परिवेशले गर्दा कैयौंपल्ट परेलीका डिलमै छचल्किए आँसुका थोपा। मापन गर्न मिल्ने यन्त्र हुँदो हो त सजिलै भन्न सकिन्थ्यो होला जीवनमा यति आँसु खसालेँ भनेर। खै कति भनुँ, त्यस्ता तमाम मोडहरु आए जसले भित्रैदेखि रुवाएर गए। मनुष्य चोला हो कहिले आँसु, कहिले हाँसो त भैहाल्छ,’ एकछिन अर्कै दुनियाँमा पुगे जस्ता देखिन्छन्।
कतै आफ्ना त कतै अरुका भोगाइ समेटिएका गीत सिर्जना गरिरहेका महेश पछिल्लो समयमा आइरहेका केही डेउडा गीतसँग सन्तुष्ट हुन सकेका छैनन्। उनी बताउँछन्, ‘हामीले समयसापेक्ष गीत-संगीतमा परिवर्तन ल्याउनुपर्छ। तर परिवर्तनका नाममा आफ्नो मौलिकता नै गुमाउनु राम्रो हैन। सुगा, बाज जस्ता दुई/चारवटा शब्द प्रयोग गर्दैमा डेउडा गीत बन्न सक्दैन।’
पछिल्लो समयमा डेउडा गीत-संगीतका क्षेत्रमा मौलिकता हराउँदै गइरहेकोमा चिन्तित बन्दै सुनाउँछन्, ‘बाइसे चौबिसे राज्यका बेला लडाइँमा हौसला बढाउन बजाइने बाजा हो छलिया। जुन बाजालाई हामीले अझै चिनाउन सकेका छैनौँ। गीत रेकर्डिङका क्रममा त्यसलाई मिसाउन सकेका छैनौं। हाम्रा यस्ता थुप्रै मौलिक बाजाहरु लोप हुँदै गइरहेका छन्। राज्यले सुदूरपश्चिमलाई न्याय दिन सकेन। त्यहाँका कलाकारलाई बेवास्ता गरिरहेको छ।’
उनले भनेझै सधैँ उपेक्षित बन्यो सुदूरपश्चिम, सायद त्यही भएर होला विगतमा सुदूरपश्चिमवासीले काठमाडौँलाई नैपाल भनेर चिन्ने गरेको पनि। सिंहदरबारले नसुने पनि काठमाडौंमा बस्ने बासिन्दाले बेलाबखत चासो लिइरहे डेउडा गीत-संगीतका बारेमा। यसरी चासो लिने क्रममा २०६४ सालमा काठमाडौंदेखि अपि वेश क्याम्प हिँडेको ३१ जनाको समूहले खोजी गर्यो महेशको। उक्त समूहले अत्तरियादेखि दार्चुला पुगुन्जेलसम्म कतै विश्राम गर्दा होस् वा घुम्दा वा गाडीमा यात्रा गर्ने क्रममा नै किन नहोस् जतातै बजिरहेको सुने एउटा गीत।
क्याइ है मैना तति टाढा घुम्टो ओढी लाज मानेकी आइबस नजिक ला तुइत मेरी मन परेकी
दिने है कि पिरतीमा घुम्टो ओढी लाज मानेकी जोवनकी भीख ला तुइत मेरी मन परेकी
त्यो टोलीमा थिए, लेखक तथा पत्रकार अमृत भादगाउँले पनि। जसले फर्केर आएपछि औजीसँगै उक्त गीत गायनमा उनलाई साथ दिएकी गायिका राधिका हमाललाई समेत लैनचौरस्थित नेपाली चुलोमा बोलाई प्रत्यक्ष रुपमा गीत सुन्ने माहोल बनाए। गीतको कथावस्तु सुन्न खोजे। उक्त गीत सुनेर एकछिन रमाए। महेशका लागि त्यो खुसीको क्षण थियो। अर्कोतर्फ गाउँघरतिर उक्त गीत सुनेर कैयौं युवा-युवतीले प्रेम विवाहको मार्ग तय गरेको हुँदा यस्तो गीत किन गाएको भन्ने केहीका मुखबाट गुनासो पनि सुन्नु पर्यो उनले।
माधव विष्टका शब्द तथा औजी र विष्णु माझीको सुमधुर स्वरमा सजिएको सुदूरपश्चिम स्वर्गसरी बोलको चर्चित गीत सुनेर पनि औजीलाई सबैले सझिरहेका छन्। मार्मिक र घतलाग्दा पीडादायी सवाल-जवाफमा समेटिएको यो गीत सुन्दासुन्दै आँखा रसाउन थाल्छन्।
त्यस्तै पछिल्लो समयमा भानुभक्त जोशीका शब्द रहेको घुम बादल अपिका रोल बोलको गीत निकै चर्चामा छ। गरिबी जिन्दगीको पीडा बोकेको यो गीतले सिङ्गो सुदूरपश्चिमको परिवेश बोकेजस्तो देखिन्छ।
झण्डै पाँचसय गीत गाइसकेका लोकप्रिय गायक औजी अग्रज कलाकारलाई ससम्मान सम्झिन्छन्। अन्तराम विष्ट, भोजराभट्टलगायत अग्रज गायकका गीत सुन्दै यो क्षेत्रमा प्रवेश गरेको र ती गीतले आफूलाई झनै हौसला थपेको कुरा बताउँछन्।
बेलाबखत देश विदेशका स्टेज तताइरहेका औजी जिन्दगीको केही भर नभएकाले को कतिखेर हो थाहा नहुने कुरा मनन् गर्दै बताउँछन्, ‘सबैसँग मायाप्रेम गर्न पाइयोस्। सद्भावपूर्ण जीवन बिताउन सकियोस्। आखिर भोलि त सबैले जानु नै छ।’
उनले भनेझैं यहाँ न बतासको लागि बाटो चाहिन्छ, न त आँसुको नै घर हुन्छ। त्यस्तै न त जिन्दगीकै केही भर छ। मान्छेलाई बाँचुन्जेल भर, भरोशा र साथ दिने अनि बाँच्न सिकाउने भनेकै हाम्रो कला, संस्कृति र साहित्य हो। जसले हाँस्न र रुन मात्रै सिकाउँदैन, जीवनमा नैतिकताको पाठ सिकाइ प्रेरणदायी भूमिकासमेत निर्वाह गर्दछ। यही कुरालाई मनन् गरेर उनी आफ्ना पुराना गीतहरुलाई नयाँ ढंगले मौलिक बाजाहरु थपेर रेकर्ड गर्ने सोचमा छन्। शुभकामना सबैका प्रिय गायक औजीलाई।