
हेमन्त विवश
राजा डुणो जनता काना कर्मचारी भोका
क्या अरु रैजान लाग्यो यै मनको धोका
शिरानीमा राखिएका गीतका पंक्ति थिए राणाकालमा बझाङ्गका शेरबहादुर सिंहले राजाका मान्छे सामु भनेका। त्यो समय जनता अन्धाझैं थिए। असाक्षर समाज थियो। राजा अर्काका भरमा चल्थे। अनि कर्मचारीहरू घुस खान्थे। यही विकृति र अत्याचारलाई सहन नसकी गिताङ्गेले डेउडा गीतका माध्यमबाट पोखे मनको बह। हिजोआज बेलाबखत तिनै पंक्ति सम्झिन्छ बझाङ्गका ड्यौडिया जयराज जोशी।
डेउडा मध्य तथा सुदूरपश्चिमको महाकाव्य थियो। जीवन, जगत, मायाप्रिति, समाजमा देखिएका असमानतादेखि समसामिक कुराहरू बोकिरहेकै हुन्छ डेउडाले। जति बेला नेपाली साहित्यको आफ्नो लेखन इतिहास नै बनिसकेको थिएन त्यतिबेला पौराणिक कथा, लोककथा, बाल गीत, गाउँखाने कथा जस्ता सुनिन्थे गाउँघरतिर कैयौका मुखारबिन्दुबाट। उता मध्य तथा सुदूरपश्चिमतिर पनि मौखिक रुपमा बर्सिरहेकै थिए डेउडा गीतहरू। त्यो समयका गहकिला डेउडा गीतको परिकल्पना गर्छन् बझाङका ड्यौडिया जयराज जोशी।
जोशी विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन्। बिदाको बेलामा समय अनुकुल मिलाएर डेउडा खेल खेल्न टाढाटाढासम्म पनि पुग्छन्। तर विद्यालयको अध्यापनमा असर पर्ने हिसाबले उनी निस्किदैनन्। उनी सानैमा बुढापाकाका खेलमा लाग्थे। उनीहरूका गीत सुन्थे। त्यसैबाट अभ्यास गर्दै गए। आज बझाङ्गका चर्चित ड्यौडियाका रुपमा आउँछ उनको नाम।
हजुरबुवा, हजुरआमाले पढाए उनलाई। सोझा आमाबुवा (पार्वती र महादेव) आफ्नै खेती किसानीमै व्यस्त रहन्थे। तीन भाइ २ बहिनी मध्येका जेठा थिए उनी। १३ वर्षको उमेरमा आफूभन्दा एकवर्ष कान्छीसँग बिबाह बन्धनमा बाँधिएका जोशीलाई खासै याद छैन त्यो पल। सम्झना आउछ बिहेमा कर्मकाण्ड गरेको कुरासम्म। बिहेपछि उनी सदरमुकामतिर पढ्न हिँडे। सदरमुकामको सत्यवती माविमा अध्ययन गर्न थाले। विद्यालय घरबाट टाढा भएकोले सदरमुकाममै बस्थे। चाडपर्वको बेला बिदा हुँदा घर जान्थे। त्यतिबेला श्रीमती माइत गएकी हुन्थिन्। यसरी बिहेपश्चात ७ वर्षसम्म श्रीमतीसँग भेट हुन नसकेको कुरा बताउँछन् उनी।
२०४५ मा एसएलसी उत्तीर्ण गरेका जोशी २०४८ मा अस्थायी शिक्षक बनेर रिलु गाविसस्थित सटिकामा १६ महिना बसे। जहाँ बेलुका सधैँ खेल लाग्थ्यो। केटाकेटीसँगै डेउडा खेल्थे। ती केटाकेटीका आमाबुवा दाजुभाइ सबै जना सुन्न आउथे। त्यहाँ ९ महिनासम्म डेउडा खेल खेलेको कुरा सुनाउँछन् उनी। जोशीका अनुसार उक्त चलन २०५२ सम्मै थियो।
२०५० मा प्रावि तहको शिक्षक पदमा स्थायीमा नाम निकाले उनले। २५ वर्षको उमेरबाट डेउडा खेलमा सवालजवाफ गर्न थालेका उनी बताउँछन्, ‘हालसम्म झण्डै २०० जति प्रतियोगितामा भाग लिएँ। प्रथम, द्वितीय नै भएँ। कहिल्यै तृतीय हुनु परेन। सुरुमा डेउडा खेल खेल्दा जीउभरि पसिना आउँथ्यो। हतासपन बढ्थ्यो। कसले के भन्छ, आफूले के भन्ने होला भन्ने हुन्थ्यो। अहिले त निकै धैर्यतापूर्वक खेलिन्छ। जे भए होला भन्ने हुन्छ। हारजीत पनि के नै रै'छ र भन्ने लागिसक्यो अब त।’
झण्डै सयजना महिलासँग सवाल जवाफ गरिसकेका जोशी सधैँ तर्कसंगत रुपले प्रस्तुत भए। खेलाडीलाई हौसला नै दिए। तिनको मनोवल गिराउने काम कहिल्यै गरेनन् उनले। त्यसैले उनीसँग खेल्न सबै खुसी हुन्छन्।
सुदूरपश्चिमको बझाङ्ग र बाजुरा डेउडा गीतका लागि निकै उर्वर ठाउँ मानिन्छन्। जहाँ समय समयमा डेउडा गीतका एकसे एक हस्तीहरू देखापरेका छन्। बि.सं. १९४० तिर बारकोट डिलका गुण्टे बुढा जनावरलाई बोलाउँदा समेत डेउडा गीत गाएरै बोलाउँथे रे। केही गीताङ्गेहरूले त अदालतमा बयान दिदासमेत डेउडा गीतबाटै दिएका उदाहरहरू सुनिन्छन्। अहिले विगतका जस्ता ओजपूर्ण डेउडा गीतहरू ओरालो लाग्दा निकै चिन्ता लाग्छ जोशीलाई।
उनी बताउँछन्, ‘उहिले डेउडाप्रतिको लगाव नै अर्कै थियो। पुजारीगाउँका जंगे पुजारा देहरादुनमा कोइलाखानीमा श्रमिक थिए। केही दिनलाई आफ्नो काम साथीलाई जिम्मा लगाई साहुलाई थाहै नदिलाई खप्तड र पाटेदेवल सान्डाँडाको मेलामा खेल्न आइपुगेका थिए रे। आफ्नै दुइटी श्रीमतीसँग रातभर सवालजवाफ भएछन्। तर श्रीमतीले रातभर खेल्दा चिन्न सकिनछन्। उज्यालो हुनेबेला थाहा पाएपछि एउटी श्रीमती केही डर केही लाज लागेर उतैबाट पोइल गएकी थिइन रे।’
उनका अनुसार त्यस्तै लगाव भएका अर्का गिताङ्गे थिए शेरबहादुर सिंह। जसले कैयौंपल्ट जुम्लासम्म पुगेर डेउडा खेलेको कुरा सुन्नमा आउँछ। डेउडामा ठुलो प्रभाव थियो उनको। जसले डेउडा खेलेरै जीवन बिताए।
केही वर्षअघि मात्रै धर्तीबाट बिदा भएका मानवल विष्ट पनि डेउडा गीतका क्षेत्रमा कमता हरडी थिएनन्। बझाङ्गको सदरमुकाम वरपरका सबैले मानवल विष्टलाई डेउडा सम्राट भन्थे। पछि जयपृथ्वी क्याम्पसबाट प्रकाशित हुने पत्रिका बागिनामा पनि मानवललाई डेउडा सम्राट भनेर छापिए पछि उनलाई धेरैले डेउडा सम्राट भन्न थाले।
तिनै मानवललाई बुढेशकालले छुदाताका भेट भयो उनीसँग जोशीको। कैयौंपल्ट उनीसँग खेले जोशीले। उनीलाई हराए पनि। विगत सम्झिदै जोशी सुनाउँछन्, ‘मानवल विष्ट र रिनु रोकायाले नै मलाई जाँगरिलो बनाएका हुन्। मानवललाई गुरु मानेर खेल्नुपर्नेमा प्रतियोगी बनेर खेलिदिएँ। जसले गर्दा मलाई ठूलो घाटा भयो। उनी शास्त्रको ज्ञान भएका, पुराना ड्यौडियाका बारेमा धेरै कुरा थाहा भएका, समाजमा जान्ने मान्छेको रुपमा कहलिएका थिए। त्यतिबेला सबैले मलाई उक्साइदिन्थे। यी बूढा मात्तिएका छन्। यिनलाई तिमीले हराउनु पर्छ भनिदिन्थे। म पनि हराउने किसिमले उत्रिदिन्थे। पछि गएर मलाई बहुत पीडा भयो। उनीबाट धेरै कुरा लिन सक्थे। प्रतियोगी बनेपछि उनले दिन चाहेनन्। ऐलेको जस्तो होस आएन।’
जीवनका पाँचदशक पार गरिसकेका जोशीले डेउडा खेल्न थालेपछि फेल हुँनुहुँदैन, पढ्नुपर्छ भन्ने मान्यता बोके। दिनेकुरा पनि राम्रै दिनुपर्छ ठानेर शास्त्रको अध्ययन गर्न थाले। समय अनुसार नयाँनयाँ ज्ञानका कुराहरू सिक्न चाहने जोशी बताउँछन्, मलाई डेउडाले नै अध्ययनशील बनायो र बनाइरहेको छ।
डेउडा गीतमा सफल भएझै अध्ययन अध्यापनमा पनि उत्तिकै सफल बने उनी। सत्यवती क्याम्पसबाट मूल विषय नेपाली लिई बीएड उत्तीर्ण जोशी आफूले पढ्नेताका निगालाको कलम, कटुजका पातको मसी र कमेरोको चक निर्माण गरी पढेको कुरा सुनाउँछन्। विद्यालयमा शैक्षिक सामग्रीको कमी हुँदा यस्तैखाले कतिपय शैक्षिक सामग्री निर्माण गरे उनले। विद्यार्थीले नबुझेकाे कुरा डेउडा गीत बनाएर साेहीमार्फत् बुझाउन थाले। मेहनती शिक्षकका रुपमा चिनिने जोशी बताउँछन्, अहिलेका विद्यार्थी निकै कम मेहनत गर्छन्।
समाजमा शिक्षण पेशाले भन्दा बढी डेउडा गीतका कारण चिनिएको कुरा स्वीकार्छन् उनी। बेलाबखत ठाउँठाउँबाट निम्तो आउँछ डेउडा खेल्नलाई। तर, विद्यालयमा बिदाको निवेदन दिएर डेउडा खेल्न भने कहिल्यै नगएको कुरा बताउँछन् उनी। कुनै ठाउँबाट उनको प्रअलाई नै अनुरोध गरिन्छ रे जोशी सरलाई पठाइदिनु हुन भनेर। नत्र बिदाको समयमा मात्रै जान्छन् उनी। कहिलेकाही शुक्रबार, शनिबार खेलमा सरिक हुन्छन्। अनि शनिबार रातकारात हिँडेर विद्यालय पनि पुग्छन्। तल्कोटमा राती नौ बजेसम्म खेलेर राती नै हिँडेका उनी बिहान पाँचबजे विद्यालय पुगेका थिए। त्यस्तै डोटी जिल्लाको छपालीमा डेउडा खेल खेलेर रातका रात ११ घन्टा हिँडेर विद्यालय पुगेको उदाहरण पनि छ। थुप्रै छन् यस्ता घटनाहरू उनको जीवनमा आइपरेका।
शिक्षक र गीताङ्गेको दुइटा पगडी भिरेका जोशी दुबै विधामा अब्बल छन्। थुप्रै विद्यार्थीहरूले डिग्रीको थेसिस लेख्न भनी उनीसँग गीत माग्छन्। उनी आफूले पढाएका विद्यार्थीसँग पनि खेलिरहेका हुन्छन्। जसमध्ये झलक नविन रोकाया, गणेश रोकाया, डम्बर खत्रीलगायतका केही त पछिल्लो समयमा चर्चामा आइरहेका ड्यौडियामा पर्छन्।
लोकसाहित्य र संस्कृतिका क्षेत्रमा निकै लगाव भएका जोशीको भित्रै देखिको इच्छा छ, प्रदेश सरकारले यो क्षेत्रमा केही गरिदिए हुन्थ्यो भन्ने। उसो त उनको धेरै ठूलो माग पनि छैन्। उनी भन्छन्, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई समेटेर डेउडा प्रतियोगिता गरिदिए सबै प्रतिभाको बारेमा थाहा पाइने थियो। बुझ्न पाइने थियो। सबैका अनुहार देख्न पाइने थियो। डेउडा गीत एक स्टेप माथि गएको आभाष हुने थियो। साथै भाबी पिँढीका लागि समेत एकप्रकारको मार्गदर्शन हुने थियो।
लोकसाहित्य, संस्कृति र पर्यटनका क्षेत्रमा प्रदेश सरकारले देखाएको उदाशिनतालाई मनन् गर्दा र पछिल्लो समयमा राजनीतिप्रति जनमानसमा पैदा भएको वितृष्णालाई मनन् गर्दा जोशीकै गीत सम्झिन मन लाग्छ कैयौं युवाहरूलाई।
हामले जिम्मा पायो भने विकास गर्ने मन छ
आगो छ ढुङ्गाका पेट पानी मुनि रन्छ ...
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया