दुःखका चाङ छिचोलेर पी.एचडी. गर्ने गौरीको सपना

एकान्तमा हेर्दै निलो आकाशको किनारा, ठान्थिन् उनी मजस्तै दुःखका धर्सा बोकेकै त छ यसले पनि। र, त बर्सिन्छ त्यो पनि बेलाबखत मजस्तै। जब शिर झुकाउन खोज्थिन् तब टल्किन्थे गोरेटोका घुम्तीहरू। कहिले जिन्दगीलाई आकाशको किनारासँग दाज्थिन् त कहिले धर्तीका मोडहरूसँग। साहास र धैर्यताको पटुका बाँधेर गौरी नागरीले डोर्‍याइरहिन् आकाशजस्तै मापन गर्न नसकिने मन र जिन्दगीलाई।

शिरमा दुःखको आकाश बोकेकी गौरी लामो सास तान्दै विगत सम्झेर बताउँछिन्, ‘गालीगलौज र कुटपिटले क्षतविक्षत भएको मनमा भक्कानो फुटिरहन्थ्यो। कम्ता कठिन थिएन मनलाई काबुमा राख्न।’ परेलीका डिलसम्म पुगेका आँसु भित्रतिर धकेल्दै हिँडिरहिन् आफ्नो गन्तव्यमा। त्यो गन्तव्य भन्नु नै छोराछोरी र उनी स्वयमको शैक्षिक यात्रा थियो।

लैङ्गिक दृष्टिकोणले दाेस्राे दर्जाको नागरिकझैँ हेरिने र छुवाछूतको दृष्टिकोणले त झनै दलितहरू मान्छे नै हैनन् झैं व्यवहार गरिने सुदूरपश्चिमेली समाजमा गौरीजस्ता कतिपय महिलाहरूको यात्रा भन्नु आफैंमा एक अपवाद बनिरह्यो।

उनका बुवाका चार जना श्रीमती। जसमध्ये जेठीको मृत्यु भयो। माइली उनका बुवा भारतमा गएको बेला घर छोडी अन्यत्र हिँडिन्। साइँली कामको खोजिमा तराई पुगिन् र उतै नहरमा डुबेर मरिन्। जसबाट एकजना उनका दाजु थिए उनकी आमा पार्वती कान्छी थिइन।

दाइजो प्रथाका कारण लामो समयसम्म बिहे नगरी बसेकी पार्वती राजपुतको बिहे त्यहाँ काम गर्ने नेपालीहरूको भनसुनमा उनका बुबा बीरसिं तिरुवासँग हुन गयो। बिहे भएको केही समयपछि पार्वतीले थाहा पाइन, बीरसिंको घरमा आमा गुमाएको टुहुरो छोरो छ भन्ने कुरा। त्यो कुराले पार्वतीको मनमा माया पलायो। मातृत्व सल्बलायो र उक्त बालकको हेरचाह गर्नुपर्ने भन्दै श्रीमानलाई कन्भेन्स गरी नेपाल पुगिन्। बैङ्लोरको राजपुत परिवारमा जन्मेकी उनले आफ्नो बिहे दलितसँग भएको थाहा पाइन। अन्तवगत्वा नारीको आफ्नो जात नै कहाँ छ र। जोसँग बिहे भयो उसैको जात स्विकार्नुको विकल्प नभएको कुरा मनन् गरी चित्त बुझाइन्। सुदूरपश्चिमको चालचलन, भाषा, खानपिन सबै सिक्दै गइन्।

दुई जीउकी पार्वतीलाई घरमा छोडेर बीरसिं भारत फर्किए। घरमा उनले छोरी पाइन्। ती छोरी तिनै गौरी नागरी हुन्। केही समयपछि गाउँमा हैजाको महामारी आयो। जुन छोराको हेरचाह गर्न भनी उनी सुदूरपश्चिम पुगिन् त्यसलाई हैजाले लग्यो। छोरा बित्यो अब यो छोरीको के काम भन्दै हेयका दृष्टिले हेर्नेहरू समाजमा छदै थिए। परिवारका अन्य सदस्यले रोगीले झाडा/बान्ता गरेको ठाउँमा लगेर राखिदिए गौरीलाई। दिन नआई केही हुँदैन भनेझैँ छुन सकेन हैजाले उनलाई। गौरीलाई गोठमा छोडेर उनकी आमा काममा जान्थिन्। एकातिर खानलाउनको साह्रै दुःख थियो। अर्कोतिर परिवारका सदस्यहरूले पार्वतीलाई गाली गर्नेदेखि पिट्नेसम्मका कार्य गर्न थाले। सुत्केरी अवस्थामा समेत पेटभरि खान नपाएकी पार्वतीले धानको ढुटो, सिस्नु, गिठा आदि खाएर गुजरा गरिन्। दमाई परिवारकी सदस्य भए पनि छोरी गौरीलाई न्वारनको दिन एकजोर कपडासमेत पहिराउन सकिनन्। उल्टै अवोध गौरीलाई दाइ टोकुवा भन्न थालियो। एकदिन पार्वतीका ससुराले सपनीमा चोलो र गुन्यू छेककाट गर्न सिकाए छन्। सपनामा सिकेको कुरा सम्झिदै अर्कोदिन अरुका फाटेका कपडा बटुली काटेर सिलाउन थालिन। सबै जना छक्क पर्न थाले। उनी आफ्नो गुजरा चलाउन सक्ने बनिन्।


विदेशीले उनलाई खाेजे उनले नेपाल राेजे


यसैबीचमा खबर आयो, ‘उता तिम्रो लोग्ने छोराको मृत्युको खबरले बौलाहाजस्तै बनेको छ। ऊ बर्बाद भइरहेछ। उसको अगाडि छोरीलाई राख्दा कतै छोरीको मायाले सुध्रिन्थ्यो कि ?’। भाँडाकुँडा बेचेर खर्चको जोहो गरी पार्वती हिँडिन् भारततिर। कैलालीसम्म पुर्‍याइ मागिन् अरुलाई। बिस्तारै त्यहाँका नेपाली र भारतीयले छोरी नि छोराजस्तै हो भनेर सम्झाएपछि गौरीलाई माया गर्न थाले बीरसिं। त्यसपछि अर्की छोरी पनि पाइन् पार्वतीले।

गौरी त्यहाँ वरपरका केटाकेटीहरूसँग खेल्थिन। बिस्तारै ती बालबालिकाहरू विद्यालय जान थाले। छोरी अर्काको घर जाने जात हो पढाएर के गर्नु भन्ने सुदूरपश्चिमेली मान्यता बोकेका बीरसिंले उनलाई विद्यालय नपठाउँदा गौरी लुकिछिपी विद्यालय प्राङ्गणमा पुग्न थालिन्। सुनेको टिपिहाल्ने तेज दिमागकी गौरीको बारेमा थाहा पाएपछि उनका साथीका बुबाले उनलाई विद्यालयमा भर्ना गरिदिए। जुवा खेल्ने, मदिरा सेवन गर्ने लत बसेका बरिसिं कमाएको पैसा बचाउँदैन थिए। पार्वतीले आफू काम गरेर छोरी पढाउन थालिन्। बरिसिं विद्यालय नपठाउन भनिरहन्थे। गौरी कक्षामा उत्कसष्ट नतिजा ल्याइरहन्थिन।

एकदिन बीरसिंहको अफिसको मेनेजरले गौरीको प्रोग्रेसिभ रिपोर्ट फम देखेर भनेछन्,‘एसएलसी पास भएपछि तिम्री छोरीलाई जागिर चाहिए जागिर दिन्छु। नत्र डाक्टर, इन्जिनियर जे पढ्छिन म पढाइ दिन्छु।’ दुर्भाग्य, बीरसिं भने छोरी ८ वर्षकी हुँदा नै बिहे गर्न केटोको खोजी गर्न थालेछन्। नभन्दै १३ वर्षको उमेरमा ८ कक्षा उत्तीर्ण गरेकी गौरीको बिहे गरिदिए आफ्नै समुदायको केटासँग। पुतलीझैँ फुर्रफुर्र विद्यालयमा रमाइरहेकी गौरी बिहेपश्चात पुगिन् सुदूरपश्चिम डोटीको बिकट गाउँमा दुकराला। डोटीमा पनि केही मान्छेले उनका लोग्नेलाई गौरीलाई पढाउन सल्लाह दिए। खर्चसमेत बेहोरिदिने कुरा बताए। त्यही समयमा गौरी बिमारी भइन र पुनः भारत लगियो। भारत पुगेपछि उनका दुर्दिन सुरु भए। अनपढ श्रीमानले पढेकी छ कसैसँग हिँडि पो हाल्छेकी भन्ने शंका गरेर कोठामा थुनेर राख्न थाले। जाँड/रक्सी खाएर आउनेदेखि गाली गर्दै कुटपिट गर्नेसम्मका हकर्त देखाउन थाले।

सुरुमा देवर र जेठाजुको साथ सहयोग पाइन। सुध्रिन्छ कि ठानिन्। पछि छोराछोरी जन्मेपछि तिनको मुख हेरेर बसिन। छोरीले दु:ख पाएको कुरा थाहा पाएर आमा-बुवाले माइतीमा बस्न नभनेका हैनन्। अरुसँग बिहे गर्न पनि सल्लाह नदिएका हैनन्। भाग्यमा यस्तै थियो भनी सहनशीलता देखाइरहिन्। केही सीप नचलेपछि १४ वर्षकै उमेरमा गर्भवती बनेकी गौरी डोटी फर्किन्। पहाडमा काम गर्न नजान्ने भएपछि परिवारका सदस्यले मन नपराउने भए। ती दिन सम्झिदै बताउँछिन्, ‘केही जान्दिन भनी सासूले गाली गरिरहन्थिन्। दुईजीउकी थिएँ। तीन घण्टा हिँडेर पानी ल्याउनु पर्थ्याे। बच्चा जन्मेपछि पेटभरि खान नपाउँदा कमजोर भएँ। स्तनबाट पर्याप्त मात्रामा दूध नआउँदा उल्टै गाली खानु पर्थ्याे। छोरालाई सुकेनास भयो। रोग लागेकाे भनेर छिछि दूरदूर गर्न थाले। घाँस नकाट्नेको छोरालाई भैंसीको दूध दिनुपर्ने भन्दै सासू ससूरासँग झगडा गरिरहन्थिन। नभन्दै एकदिन भैंसी बेचिदिइन्। अनि कोदाको रोटी चपाएर लेदो बनाई बच्चालाई खुवाएर प्राण जोगाएँ। ८ दिनपछि राम्ररी दूध दिएन भन्दै भैंसी फिर्ता गरियो।’

उक्त कुरा थाहा पाएपछि उनकी आमा नेपाल आई उनलाई चेन्नै लगी आफूसँगै राखिन्। आमा छोराको स्वास्थ्य राम्रो हुँदै गयो। छोरालाई तीन वर्ष नपुग्दै विद्यालय भर्ना गरिन्। त्यसपछि छोरी जन्मी। १३ वर्षकै अमेरमा गौरीकी बहिनीको विवाह भयो गौरीकै देवरसँग। गौरीले पुनः अर्को छोरो पाइन। श्रीमानको शंका, झैझगडा र कुटपिट गर्ने बानी सुध्रिने छाँटकाँट देखिएन। भारतमा बस्दा श्रीमानले दु:ख दिन थालेपछि उनी नेपाल फर्किन। डोटी पुगेपछि गाउँमा पुनः उस्तै हालत हुन गयो। खानाको अभावमा कान्छो छोरालाई पनि सुकेनास भयो। खेतबारीमा काम गर्न नसक्दा ससूले गाली गरिरहिन्।

२१ वर्ष पूरा नहुँदै तीन सन्तान पाएकी गौरीले सन्तानलाई समेत पेटभरि खुवान नसक्दा छोरीलाई घरमै छोडी दुई छोरा बोकेर माइत कान्छा बुवाको घर पुगिन। माइती पक्षका सबैले अलिकति अनाज जम्मा गरी उनलाई दिई पठाए। अनि ओखल भएको ठाउँमा बस्न थालिन्। जहाँ शीत र पानी छेकिने भए पनि चौतर्फी खुल्ला थियो। तीन महिनासम्म सोही ठाउँमा दिन बिताइन। आँट हारिनन्। सानो छोराको खुट्टा खाँबोमा बाँधेर अरुको काममा निस्किन थालिन। राम्रोसँग डोट्याली र नेपाली भाषा बोल्न आउँदैन थियो। अँग्रेजी आउथ्यो त अरुले बुझ्दैन थिए। गाउँघरतिर उनलाई देसेनी भन्थे।

त्यतिबेलै साना किसानमा नोकरी खान भनसुन गरेकी के थिइन उक्त कुरा सुनेर भारतबाट उनका श्रीमानले खबर पठाए, ‘नोकरी गर्न थाल्यौ भने तिमीलाई र नोकरी दिने दुबैलाई काटि दिने हुँ।’ त्यसपछि अरुको काम गरेर, अरुसँग मागेर नै गुजरा चलाइन्। केही समयपछि उनका बुबा नोकरी छोडी डोटीस्थित आफ्नै गाउँमा आई बस्न थाले। गौरीका लागि सानो टुक्रा जग्गा पनि खरिद गरिदिए।

२०४७ सालमा मासिकाको २४ दिने तालिम लिने अवसर पाइन। दैनिक भत्ता थियो रु. ४०। तालिमबाट प्राप्त रकमले एक बाख्रो किनिन। बाख्राको पाठो बेचेर अलिकति पाखो जग्गा किनिन्। बाआमालाई पनि दिदी बहिनी मिलेर आफ्नै घरमा राखिन। गौरी बताउँछिन्, ‘अन्तिम अवस्थामा छोरीलाई नपढाएकोमा पछुतो मानी बुबा आफ्नै निधारमा मुड्कि हिर्काएर रुनु हुन्थ्यो। त्यसको केही वर्षपछि बुवाले धर्ती छोड्नुभयो। आमा आफ्नै गाउँ फर्की एकजना बोहराको गोठमा बसी सिलाइकटाइको काम गर्न थाल्नुभयो। मलाई पनि अनाज पठाउने गर्नुहुन्थ्यो।’

२०५० सालमा हरेक स्वास्थ्य चौकीमा आठ कक्षा उत्तीर्ण एकजना मातृशिशु कार्यकर्ता राख्ने सरकारको नीतिअनुसार उनको नाम पनि सिफारिस गरियो। धनगढी गएर तीन महिना तालिम लिनुपर्ने भनियो। गा.वि.स. अध्यक्ष स्व:रामबहादुर बलायरले ढाडस दिँदै भने, ‘श्रीमानलाई म सम्झाउला। ऊ मेरो साथी हो। डराउनु पर्दैन।’ तिनै अध्यक्षले उनका श्रीमान करसिं दमाईलाई घर बोलाए। गौरीकी कान्छी सासू नाता पर्नेले करसिंलाई उक्साउँदै भनिन्, ‘तँ अनपढ छस्, त्यो पढेकी। उतैबाट कसैसँग जान सक्छे है बिचार गर।’ त्यो कुराले तुरुन्तै उनका श्रीमानको सोचाइ बद्लियो र भन्न थाले, ‘तालिममा गइस् भने तँलाई छोडिदिन्छु। म बम्बै गैहाल्ने हुँ। छोराछोरी मरे मर्लान्।’

अति भएपछि जे-जे त होला भन्दै खाना नै नखाई उनी निस्किन घरबाट। तीन महिने तालिम लिए लगत्तै अस्थायी नियुत्ति बुझेर बारपाटा स्वास्थ्य चौकीमा हाजिर भइन। २०५१ सालमा स्थायीमा एक नम्बरमै नाम निकालिन्। एसएलसी उत्तीर्ण महिला स्वयमसेविकालाई सरकारी कोटामा पढाएर अनमी पदमा नियुक्ति गर्ने सरकारी नीति लागु भयो। घरछेउको विद्यालयमा छोराछोरी पढ्दै थिए। घरमा श्रीमानले दिने यातन यथावत नै थियो। २०५८ सालमा उनी माइती घर गएको बेला एसएलसी उत्तीर्ण गर्ने उद्देश्यका साथ प्रभात मा.वि. देहीमाण्डौमा नौ कक्षामा भर्ना भई स्वअध्ययन गर्न थालिन। एसएलसी परीक्षा दिने वर्ष घरमा श्रीमानको करले छोराको बिहे गरिदिनुपर्ने भयो। सबै व्यवस्था आफैंले मिलाउनुपर्ने हुँदा परीक्षा दिन पाइनन्। २०५९ मा सानो घर बनाइन। त्यही वर्ष एसएलसी परीक्षा दिइन। नतिजा आयो गणितमा फेल भइन। केही समयपश्चात उनको पाठेघरमा ट्युमर पलाएका कारण सिकिस्त बिमारी भइन। एक्लै भारतको चेनैमा गई पाठेघरको अप्रेसन गरेर आइन। त्यसपछि बुहारीलाई अनमी पढ्न महेन्द्रनगर पठाइन। छोरीलाई जिल्ला सदरमुकाम सिलगढीस्थित महिला छात्राबासमा भर्ना गरिदिइन।


अमात्यको एक गीतले ‘शिवानी’लाई रातारात हिट बनायो


२०६४ सालमा उनले गणितको ट्युसन पढेर ४० वर्षको उमेरमा एक्जेम्टेडबाट एसएलसी परीक्षा दिइन। सेकेन्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरिन। महिला स्वास्थ्य स्वयमसेविकाका लागि सेवाकालीन तालिमको विज्ञापन खुल्यो। नौ जिल्लाभरिमै उनी पहिलो नम्बरमा छनौट भई पोखरामा १८ महिने अनमी तालिम लिन थालिन। पोखरामा पढ्दै गर्दा २०६५ सालमा राधाकृष्ण मा.वि. गोपघाटले प्लस टु संचालनार्थ स्वीकृति पायो। उनी पनि उक्त विद्यालयमा कक्षा ११ मा भर्ना भइन। पोखरामा पढ्दै गर्दा बीचमा सुटुक्क आई प्लसटुको परीक्षा दिइन। उक्त खबर थाहा पाएर भेटाएपछि मार्छु भन्दै श्रीमान सडकमा गडिरहेका गाडी रोकी चेक गर्न थालेछन्। अनेक जुक्ति लगाएर उनले नियमित रुपमै १२ कक्षा पनि उतीर्ण गरिन। अनमीको परीक्षामा पनि ८९ प्रतिशत अंक ल्याउन सफल भइन।

२०६५ सम्म गा.वि.स.मा महिलाको लागि छुट्याइने १५ प्रतिशत रकम फ्रिज जान्थ्यो। उनले उक्त बजेट माग गरी गाउँका महिलाहरूको समूह गठन गरी सिलाइकटाइ सुरु गराइन। समाजमा खुल्ला रुपमा मदिरा बिक्री वितरणमा रोक लगाउने हेतुले समिति गठन गरी काम गरिन। सामाजिक कार्यमा समेत सक्रियता बढाउन थालेपछि केही मान्छेले गौरीका श्रीमानलाई नेता बनी भन्दै उक्साएर रामधुलाइ गर्न लगाए। समाजमा जनचेतना फैलाउन खोज्दा उनले बेलाबखत श्रीमानबाट मरणासन्न हुने गरी कुटाइ खानु पर्‍यो। नदीमा बगाइदिने हेतुले श्रीमानले कुट्दै कछार्दै लग्दा कसरी कसरी फुत्केर ३ बजे राति एक्लै खोलाको बाटो भागेर जिल्ला सदरमुकाम पुगिन। ३ महिनासम्म श्रीमानको डरले जिल्लामै हाजिर गरेर बसिन। एक महिना काजमा कलेना गइन। २०६९ मा skill birth attendance training मा छनौट भई २ महिने तालिम लिइन।

श्रीमानलाई सधैंजसो धुम्रपान र मदिरापानका लागि पैसा दिई नै रहन्थिन। कतिपयको सल्लाहअनुसार केही सुध्रिन्छन् कि भनेर श्रीमानका लागि बजारमा किराना पसल पनि राखिदिइन। खर्च गर्न पैसा दिन्छु बसीबसी खानोस्। झैझगडा नगरी दिनोस् भनेर हरदम हात जोडी रहिन्। केही सीप नचल्दा दुई पटक त आत्महत्या गर्न समेत हिँडिन। तर, छोराछोरीको मुहार सम्झेर फर्किइन। दिनरात काममा ब्यस्त गौरी रातभर निदाउन पाउँदैनथिइन। स्वास्थ्य चौकीमा  बच्चा पाउने र भर्खर बच्चा पाएका आमाहरू हुन्थे। तिनका लागि बेलाबखत राति ड्युटिमा बस्नु पर्थ्याे। उनका श्रीमान भने कर्मचारीदेखि बिरामीसम्मको आरोप लगाइरहन्थे। फिल्डमा जाँदा डुल्न गई भनेर उनको श्रीमानका कान भर्नेहरू सक्रिए नै हुन्थे। एकातिर श्रीमानको मुर्खता अर्कोतिर आगोमा घिउ थपिदिनेहरू उत्तिकै थिए समाजमा। यस्तो बेला पनि गौरीलाई पढाइको भोक लागिरह्यो। उनी लुकीछिपि बि.एड. अध्ययन गर्न थालिन। बिएडको परीक्षा दिँदा गौरी छोरीज्वाइँको डेरामा बसेको चाल पाएर तिनीहरूलाई समेत धम्क्याउन पछि परेनन् करनसिं। छोराले बेलाबखत सम्झाउन खोज्दा आमाको पक्ष लियो भन्न थाले।

असुरक्षा महसुस गरी गौरीले सिडियो कार्यालय र जिप्रकामा ज्यानको सुरक्षार्थ निवेदन दिइन। जेठो छोरा शंकर काठमाडौंमा अध्ययनरत थिए। प्रहरीले उनका श्रीमानलाई पक्रेर जिल्ला लगी राम्ररी सम्झाए। अब उप्रान्त केही नगर्ने वाचा गरी फर्किए। घरमा आएपछि पुनः उसैगरी गाली गर्दै कुटपिट गरेर दु:ख दिइरहे। गौरी परेलीको डिलसम्म पुगेका आँसु लुकाएर आफ्नो मार्गमा यात्रारत बनिरहिन्। अन्तमा उनले काठमाडौँ सरुवा मिलाई छोरासँगै बस्न थालिन्।

रक्सी खाएरै अन्तिम अवस्थामा पुगेका उनका श्रीमानले आफू दोषी भएको महसुस गरी २०७१ सालमा प्राण त्याग गर्नुअघि भतिजाहरूसँग भनेछन्, ‘मैले श्रीमतीलाई धेरै दु:ख दिएँ। उसले बहुत सही। यसपटक बाध्य भएर पुलिसमा उजुरी गरेकी हो। ऊ गैहाली। म बाँच्ने हैन। उसलाई बोलाइ देऊ। मर्ने बेला उसको मुख हेर्छु।’ गौरी र गौरीका छोराले समयमा खबर पाउन सकेनछन्।


जो लेख्नकै लागि अमेरिकाबाट नेपाल आइरहन्छन्


हाल बारपाटा स्वा. चौ. डोटीमा कार्यरत गौरी स्वास्थ्य कार्यकर्ता मात्र नभएर एक शिक्षित आमा हुन्। सामाजिक कार्यकर्ता हुन्। आत्मनिर्भर महिला हुन। समाजका लागि एक प्रेरणदायी महिला हुन्। उनका छोरा स्नात्तकोत्तर तह उत्तीर्ण गरी काठमाडौंमा क्यासियरको जागिर गरिरहेका छन्। जेठी बुहारी र छोरी शिक्षिका छन्। नातीनातिना काठमाडौंमा अध्ययनरत छन्। कान्छो छोरा भारतमा राम्रै कम्पनीमा कार्यरत छन्।

सातजना नातीनातिनाकी हजुरआमा बनिसकेकी उनी ५१ वर्षको उमेरमा एमएडमा भर्ना भई थेसिस बाहेकका सबै विषय उत्तीर्ण गरिसकेकी छन्। उनले जागिरबाट अवकास पाउन मात्र चार वर्ष बाँकी छ। यतिखेर गौरी बताइरहेकी छन्,‘एमएडको थेसिस सिद्ध्याएर नतिजा आए लगत्तै एम.फिल ज्वाइन गर्छु। अनि पिएचडी गर्ने ठुलो धोको छ।’

प्रकाशित मिति: : 2023-04-06 21:15:00

प्रतिकृया दिनुहोस्